• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हेडसरका कहानी संस्मरण (२): लाशहरुको चाङ हेर्दै बाँचेका ती दिन




नदीराम केसी
अत्याधुनिक हतियारहरु पट्केकाे आवाज आयो। म निद्राबाट ब्युझिएँ। टर्चद्वारा घडी हेरेँ। रातको १२ बज्दै थियोे । डेराबाट म बाहिर निस्केँ। बाहिर जनमुक्ति सेनाहरु यताउती गर्दै थिए । रुकुमको महत गाउँमा अर्घाखाँची सदरमुकाम आक्रमन गरेर आएका जनमुक्ति सेना बसेका थिए । मुसीकोट सदरमुकामबाट शाही नेपाली सेना आएर रुकुमकोट बसेको थियोे । शाही नेपाली सेना रुकुकोट बाट हिडेर महतको तल खोला दोमइको झोलुङ्गे पुलनेर पुगेपछि जनमुक्तिसेनाले आक्रमण गर्दा भिडन्त भएछ । केही घन्टा जागा बसेपछि म सुत्न डेरा गएँ। गाउँदेखि तल खोला गोली चलिरहेको थियो । दोमइ खोलामा भेरी लाइटले कहिलेकाही उज्यालो बनाइरहन्थ्यो।

वि.स. २०५६ साल असोज ५ गतेको चौकी आक्रमनको केही महिनापछि हामीले जागिर छोडेर तुल्सीपुर गइ फेन्सी पसल सुरु गरिसकेका थियौं । शिक्षक स्टाफ तथा भान्ज तिलकराम पून र शिक्षक स्टाफ तथा ज्वाइँ चुमानसिंह बोहोराले शिक्षक पदबाट आषाढसम्म राजिनामा नदिन सल्लाह दिएकोले हामी राजिनामा दिन रोकिएका थियौं तर प्र.अ. पदबाट भने मैले राजिनामा दिएर (वि.व्य.स.) को बैठक बोलाइ प्र.अ.को लागि तिलकराम पूनलाई निर्णय गराएको थिएँ । वि.स.२०५७ आषाढमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला कर्मचारीको तलब झन्डै दोब्बर बृद्धि भयो। सायद ७५% भन्दा माथी भएको हुनुपर्छ । लोग्ने स्वास्नी दुबै जनाको तलब जोड्दा मासिक एघार हजार हुने भयो। राजिनामा नदिएकाले शिक्षक जागीर खान हामी पून: महत फर्किएका थियौं ।

वि.स.२०५६ सालको चौकी आक्रमन र वि.स.२०५९ सालको यो घटना संयोगले असोज ५ गते नै परेछ्न्। वि.स.२०५९ साल असोज ६ गते विहान म उठ्दा हिजो राती असोज 5 गते १२ बजेदेखि भएको गोली हानाहान अहिले पनि जारी थियो। म मेरो डेरा उतापट्टिको घरमा गएँ जहाँ जनमुक्ति सेनाकी घाइते युवती जीवन र मरणको दोसाँधमा थिइन्। उनको टाउकोमा मोर्टारको टुक्राले छेडेको थियो। उनी बेहोस अवस्थामा छट्पटाइरहेकी थिइन् ।हिजो राती दोमइ भिडन्तमा मारिएका एक जना स्थानीय ब्यक्ति जो शाही नेपाली सेनाका गाइडर थिए उनले बोकेको औषधीको झोला देखाउदै जनमुक्तिसेनाले हिजो राती कब्जा भएको झोला यहि हो भन्थे। झोलाबाहिर मासुको सानो चोक्टाे टाँसिएको पनि मैले देखेँ ।

ती युवतीलाई त्यही झोलाको औषधी र सलाइन प्रयोग गरिदै थियोे । केही समय पछि उनलाई बासको स्टेचरबाट अन्तै लगियो। शिक्षक स्टाफ तथा नाताले ज्वाइँ शशिराम दहाल र म महत गाउँको पश्चिमतिर शाहिसेना र जनमुक्ति सेनाले दोमइ खोला वारि र पारिबाट गोली हानाहान गरिरहेको हेर्न गएर फर्केको एक घन्टापछि करीब विहान ९ बजेतिर हेलिकप्टरद्वारा हामी हेर्न गएको त्यही ठाउमा बमहरु खसालियो। दिउँसो करीब १ बजेतिर हेलिकप्टरले बम खसालेको ठाउ हामी पून: हेर्न गयौं । हेलिकप्टरको बमले जङ्गलका रुखहरु भाँचिएका र गोठका गोरुहरु मरेका देखिन्थे ।

सोही दिन दिउँसोको करीब पौने 3 बजेको थियो। त्यो बेला स्थितिशान्त थियो । शाहीसेना हारेर रुकुमकोट तिर फर्क्यो भनेर जनमुक्ति सेनाबाट भनिदै थियो। हिजो राती १२ बजेदेखि लडाइ भइरहेकाले धेरै जसो गाउँलेहरु सुरक्षाका लागि गोठतिर गइसकेका थिए। मेरो डेरा नजिकै जनमुक्ति सेनाको मेस (भान्सा) थियो। जनमुक्ति सेनाको भान्साघर बाहिर उनीहरुले एल.एम.जी, जि.पि.एम.जी लगाएतका गरुँङ्गा हतियार बसालेका थिए। रातभर लडेका जनमुक्ति सेनाहरु घरमा र घरबाहिर खुल्ला ठाउमा सुतिरहेका थिए।

जनमुक्ति सेनाले गाउँबाहिर राखेका सेन्ट्रीहरु लाई बोलाइसकेका थिए। ऊनीहरु महतबाट हिड्ने तयारीमा थिए। महत स्वास्थ चौकिका अहेव र म जनमुक्ति सेनाको मेष घरबाट शिक्षक र जनमुक्ति सेनाले भलिवल खेलिरहेको विधालयमा गयौं । त्यसको केही मिनेटपछि गाउँमा अन्धाधुन्ध गोली चल्यो । म विधालयबाट महतको तलतिरको जंगलतिर भागेँ। जंगलको काँडा,खोल्सा केही नभनेर खुट्टाले जता लतार्छ लत्रिदै महत गाउँको डाँडाबाट तलतिर झरेँ। शाहीसेना दोमइबाट महतको मूल बाटो नहिडेर दोमइको अर्कोतिरको पाखा भएर माथी महत गाउँमा आइ जनमुक्ति सेनामाथी हमला गरेछ।

गाउँमा दोहोरो गोली हानाहन भइरहेको थियो। मेरी श्रीमती र तीन जना छोराछोरी डेरामा नै थिए। उनीहरु दुबैतर्फको लडाइको बीचमा परे। उनिहरु बाचे भनेर मलाइ आशा नै भएन। मेरो डेराको ठिक तल पुगेपछि माथितिर उक्लन थाले । डेरा पुगेर परिवारलाई तलतिर झार्न सकिन्छ कि भन्ने आशा थियो तर मकै भुटे झै गोलीको आवाजले आफैमाथि पट्किएझै लाग्यो र माथी जान सकिन अनि तलतिर झरेँ। तल लुकुमखोलाको काठको पुल तरेर म सिमा गाउँमा गएँ र चिनेको शिक्षक साथीको डेरामा गएँ तर साथीहरु डेरा छोडेर भागिसकेका रहेछन् ।

म सिमा गाउँ नजिकैको डाँडामा आएर पारी महत गाउँको युद्ध हेर्न थाले । मेरो डेरा नजिकै एउटा घरबाट धुवा र धुलो उडेको देखेँ । घरमा परेको बमले त्यो उडाएको थियोे । बाटोको भुइँमा थरथर काम्दै आँसुको भेलमा म लडिरहेको बेला एक जना बटुवा आए र म उनको पछि लागेँ। उनी स्थानीय माओवादी कार्यकर्ता रहेछन् । उनले मलाई रातको १० बजे क्याङ्सी गाउँमा ल्याए जहाँ जनमुक्ति सेनाको तालिमकेन्द्र रहेछ। अर्घाखाँची सदरमुकाम आक्रमन गरेर आएका जनमुक्ति सेनाको ठुलो संख्या यहाँ केन्द्रित रहेछ। रातको करीब ११ बजेतिर महत लडाइबाट जनमुक्ति सेना पछाडि हटेको खबर आयो। महतबाट सबै फिर्ता भए भन्ने सुनियो। हतियार बोकेका केहि जनमुक्ति सेनाको पछि लागेर म ऊनीहरुसंगै एउटा सानो छाप्रोमा गएँ ।

उनीहरुसंगै त्यही छाप्रोमा करीब १२ बजेतिर म सुतेँ। मेरो वरिपरि सुतेकाहरु ‘ऐया! दुख्यो’ भनेर कराइरहेका थिए। रातको करीब १ बजेतिर एकजना आएर ‘ल उठ उठ हिड्ने भयो’ भन्यो र सबैजना उठेर कता गए थाहा भएन। म भने माओवादीले बनाएको प्लास्टिकको टेन्टतिर गएँ जहाँ रातभर भान्सा चलिरहेको रहेछ। त्यो भान्सामा जाने बित्तिकै मेरो ससुरालीतिरका एकजना भदै नारायण खड्काले मलाई चिनेर ‘फ्वाँजु’ भन्दै बोलाए । उनी चौखावाङ बाट क्याङसी खाना पकाउने सहयोगका लागि गएका रहेछन् । उनले मलाइ खाना राखिदिए तर चिन्ताका कारण एक गास पनि खान सकिन। ती भदैले टेन्टमा लिएर करीब २ बजेतिर सुताए।

वि.स. २०५९ साल असोज ७ गते विहान करीब ६ बजेतिर सबैलाई उठ्न भनियो। भान्साका भाडाहरु बोकेर सबै हिड्न थाले। म पनि उठे र उकालो लागेँ। क्याङसी गाउँको माथि लेकमा पुगेपछि मैले पढाउने एक जना विद्यार्थीको गोठ भेटियो। मैले त्यही खाना खाएँ। खाना खाइसके पछि महततिर हेर्न थाले। एकजना जनमुक्ति सेना मेरो नजिक आएर भने ‘ महतको मेडिकलनेर एक जना महिला को लाश थियो। हाम्रा कमान्डरहरु झुम्लावाङ हुनुहुन्छ। उहाँहरुले लाश चिन्नुभएको छ। गएर सोध्नुहोस ‘ भनेपछि क्याङसीको लेकबाट म झुम्लावाङतिर कुदेँ। झुम्लावाङ जाने बाटो बाटोमा जनमुक्ति सेनाहरु जताततै सुतिरहेका र कोही सेन्ट्रि बसेका देखिन्थे।

म झुम्लावाङ पुगेपछी शुरुमा नै मा.वि सिमाका प्र.अ. डिल्ली मल्ल भेटिए। म कमान्डर सोध्दै थिए। माथिको एउटा घरमा सिकाइदिएपछि म त्यतै गएँ र त्यस घरको भित्र गएँ । त्यहाँ जनार्दन शर्मा (प्रभाकर) संग भेट भयो। उनी झुम्लावाङको एक जना शिक्षक होमजङ्ग राणालाई जनमुक्ति सेनाको लागि बाटो सिकाएर कोल जान भन्दै थिए तर ती शिक्षक साथिले जान मानिरहेका थिएनन् । म त्यहा पुगेपछि प्रभाकरले ‘ल नदिराम उहाँलाई सम्झाइदिनुहोस त। उहाँ किन जान्न भन्नुहुन्छ’ भने। मैले ‘महतमा मारिएकाको लास सोध्न आएको हुँ’ भन्नेबित्तिकै दैलेखतिरका एक जना जनमुक्तिसेनाका कमान्डरले भने, ‘ए हामी हाम्रा साथीको लास खोज्दै तपाइको डेरामा पसेका थियौं ।

राती करीब ९ बजेतिर मेडम डेरामा नै हुनुहुन्थ्यो । उहाँले जेठि छोरी छैन हराइ भन्नुहुन्थ्यो ।’ कमान्डरबाट त्यो सुनिसकेपछि म त्यहाबाट निस्केर ओरालो झर्न लाग्दा कमान्डरले भने, ‘ तपाइले हाम्रा साथीलाई बाटो सिकाएर महत लिनुहोस । त्यहाँ हाम्रा हराएका हतियार खोज्नुछ।’ पछि फेरि जानुहोस भनेपछि म एक्लै तलतिर कुदेँ। लुकुम खोलाको किनारमा रहेको चिनेको भिम बहादुर कामीको घरमा बास बसेँ।

असोज ८ गते विहान उठेर म महतबासीको गोठहरु भएको स्याँला भन्ने ठाउमा जान खाबाङ पुगेर काठको पुल तरेँ। म स्याँला जाँदै थिएँ । बाटोमा खाबाङतिर आउदै गरेका श्रीमती र तीन छोराछोरीसंग भेट भयो। उनी हरुसंगै महत स्वास्थ्य चौकीका ग्रा.स्वा.का बुद्धि प्रसाद सर पनि थिए। हामीमा खुशीको सीमा नै रहेन। हामी खाबाङ गाउँमा गयौं । विहानको खाना त्यही खायौं । दिउसोतिर हामी बसेको घरमा एकजना हतियार बोकेका जनमुक्ति सेना आए र भने, ‘ मेरो घर जुम्ला हो। महतको भिडन्तबाट म हराएँ। माथी लेकबाट यहाँ एक्लै झरेँ। अस्ति देखि भोकै छु।’

हामिले उनलाइ खाना खुवायौँ र सीमा गाउँ जाने बाटो सिकाइदियौँ। उनले आफुले बोकेको हतियारलाई नदेखियोस भनेर थाङ्नाले बेरेर ढोकेका थिए। ‘ती हतियार बोकेका जनमुक्ति सेनाको सपना पूरा भयो कि भएन! आफ्नो ज्यानभन्दा हतियारको माया गर्ने ती अभागी मान्छे बाँचे होलान् कि मरे होलान् ।’ म आजभोलि कल्पना गर्छु। महतको दुबै सेनाको लडाइमा मेरि श्रीमती र छोराछोरी कसरी बाँचे मैले मेरि श्रीमती हरिमायाबाट सुनेँ, ‘ गोली चल्ने बित्तिकै म छोराछोरी खेलिरहेको ठाँउमा गएँ र तिनै जना छोराछोरीलाई समातेँ। अनुहारमा रगत बगिरहेको एकजना माओबादी सेना मेरो डेराबाट तलतिर दौड्यो ।

म पनि डेरा देखि तलतिर झर्न लाग्दा जेठि छोरी मेरो हातबाट आफ्नो हात फुत्काएर अन्तै भागिन्। छोरा कवि प्रभास र छोरी कलिका कुसुम अनि म डेरादेखि तल मकैवारी नजिकैको ठुलो सिस्नोको झ्याङ भित्र लुक्यौँ। राती नौ बजे गोली चल्न छाडेपछि डेरामा आयौं र सुत्यौँ। पछि माओवादी सेना आएर हामीलाई उठाए। उनिहरुसंगै विधालयमा आयौं। उनिहरु विधालयबाट फेरि शाही सेना भएको गाउँतिर हतियार पट्काउन थाले। हामी उनिहरुलाइ छोडेर माथि पुरानो डेराको घरमा आएर कोठा खुल्ला रहेछ त्यही लुक्यौँ। विहान स्याँला गोठतिर आयौं ।

त्यही जेठि छोरीसंग भेट भयो । नौ वर्षकि जेठि छोरी कविता कुसुमको कहानी फरक थियो। उनी आत्तिएर आमाको हातबाट छुट्टिएर डेराको भङतिर लुक्न गइछिन् । गोली घरको भित्तामा लाग्दा ढुंगाको टुक्रा उनको निधारमा लागेछ र निधार सुन्निएछ। त्यसपछि उनी रुदै डेरा घरको सिंढीमा आएर बसिछिन् । शाही नेपाली सेनाले रोइरहेको देखेर ढुङ्गाको कभर भएको ठाँउमा बसालेछ। धारामा पानी लिन आएका अरु सानी दुइटा बालिका लाई पनि मेरि छोरीसंगै बसालेछ। उनिहरु तीन जना सानी बालिका मान्छे भागेको रित्तो घरमा गएर बसेछ्न्। बाहिर दोहोरो गोली हानाहन भइरहेछ। त्यस घरकाले पोलेको एक/एक वटा आलु खाएर त्यही सुतेछ्न्। विहान उठेर डेरामा आइ डेराको ढोका लगाइछिन्। गाउँको एकजना केटासाथीसंग स्याँला गोठतिर आएपछि आमासंग भेट भएछ।

असोज ९ गते विहान ११ बजेतिर शाही नेपाली सेना महत गाउँबाट महतको गुनामतिर गयो। शाहिसेनाले गाउँ छोडेपछि खावाङबाट म महत गाउँतिर हिडेँ। महत गाउँको नजिकबाटो मुनि एउटा लास गाडेको देखेँ । उक्त लाशको माथिको केही भाग देखिएको थियोे । लाशलाई एउटा तौलिया ओढाइएको थियो। लाश ठुलो जिउडालको लामो थियो। जनमुक्ति सेनाले मरेका आफ्ना साथीहरूलाई यसरि ठाउ ठाउमा गाडेको देखिन्थ्यो । म महत गाउँमा पुगेपछि डेरामा गएँ। कोठा भित्र गोलीका खोकाहरु यत्रतत्र छरिएका थिए। हाम्रा कपडाहरु बाहिर फालिएको थियो। मेरो रेडियो बाहिर फुटालिएको थियो। त्यसपछि म गाउँतिर गएँ। गाउँमा लाशहरु जताततै लडिरहेका थिए। जनमुक्ति सेनाका लाशहरु उनीहरुले लिएर गएछन्। तर स्थानीय माओवादी कार्यकर्ता र स्थानीय महतवासीका लाशहरु ठाउ ठाउमा थिए ।

दुईजना नबोल्ने लाटा, केही विद्यार्थी , केही वृद्ध, केही महिला , केही माओवादी कार्यकर्ताका लाशहरु गरेर १९ जनाका लाश थिए गाउँमा। केही लाशका हात लगाएतका अंग जनावरले खाएको देखिन्थे । गाउँमा दुर्घन्ध फैलिएको थियो। लाशमा किरा परेका थिए । ६ गते मारिएका ती लाशहरुको ९ गतेको त्यो कहालिलाग्दो र बीभत्स दृश्य मैले गाउँभरी घुमेर हेरेँ । केही लाश हरु आफन्तले गाडेँ। केही लाशहरु गाड्नमा लुम्बिनी गौतम र गजेन्द्र बहादुर ओलिको नेतृत्वमा माओवादी टोलि खटिएको थियो। गाउँको नजिकैको पाखोमा केहिले खाडल खन्ने काम गरे । तन्नाले बेरेर एउटा काठमा बाँधेर लाशहरु सारियो। मैले लाश बोक्ने काममा सहयोग गरेँ। शाही नेपाली सेना तर्फ एकजना जुनियर मेजर सहितका सेनाका लास हेलिकप्टरले लिएछ।

प्यारो महतको त्यो सुन्दर ओखर र काफल पाखोमा गाडिएका लाशहरुको सपना कहिले पूरा होला! कल्पना मेरो दिमागमा सधैं आइरहन्छ। युद्धकालमा महत आएर लडेर मर्ने दुबै पक्षका सेना/ प्रहरी र भिडन्तमा मर्ने महतका स्थानीय गाउँलेहरुलाई ‘शहीद’ नाम दिएर मात्र उनीहरुको सपना पूरा हुदैन होला। मर्नेका आमा-बुवा , श्रीमान-श्रीमती तथा छोराछोरीहरुले के गर्दै छन् होला। मर्ने मरिगए बाचेका आफन्तलाइ अनिवार्य रोजगारीको व्यवस्था कुन युगमा कहिले हुन्छ होला! नयाँ नेपाल कहाँ छ होला! त्यो कहिले आउँछ होला! सायद यो मेरो कल्पना मात्र हुन सक्छ।

केसीका अन्य रचना पढ्नुस्ः

संस्मरणः हेडसरका कहानी

संस्मरण: विहेको जुत्ता

अनुभूतिः नेता हुने र प्रगतिशील बिहे गर्ने रहर

अतीतको हटारु पाना (संस्मरण)

Facebook Comments