• ३ जेष्ठ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संस्मरणः हेडसरका कहानी




नदीराम केसी
वि. स. २०५६ साल असोज ५ गते राती पौने ९ बजे पछि मैले रेडियोमा बिबिसी समाचार सुनिरहेको थिएँ । म सधै बिबिसीको नेपाली कार्यक्रम सुनेर सकिएपछि मात्र सुत्थेँ। श्रीमति र छोराछोरी मस्तले निदाइरहेको थिए। समाचार सुनिरहेको बेला कोठा बाहिर बार्दलीमा कोहि हिडेको आवाजसंगै ढोकाको ताला लगाउने कब्जा चलाएको आवाज पनि आयो। बाहिर ढोकाको साङ्ला लगाइदिएर ढोका नखुल्ने बनाइएछ। त्यसको केही मिनेटपछि दोहोरो फायरिङको विस्फोट भयो। श्रीमति उठेर बसिन्। मैले रेडियो बन्द गरेँ। इलाका प्रहरी कार्यालयमा भिडन्त भयो भन्ने हामिले थाहा पाइहाल्यौँ। दोहोरो फायरिङ भइरहेको बेला मैले झ्याल खोलेर प्रहरी चौकीतिर हेरेँ।

चौकिमा आगोको मधुरो उज्यालो र धुवाँको मुस्लो देखें । मैले झ्याल बन्द गरिदिएँ। हामी आतियौँ र डरायौँ। कान फुट्नेगरि दोहोरो फायरिङ चलिरह्यो। ग्रिनेट लगायतका बमको आवाज आइरह्यो। यो प्रक्रिया ४५ मिनेट जति मात्र चल्यो र स्थिति शान्त भयो। बीच बीचमा केही पट्किएको आवाज आउथ्यो। करिब रातको १ बजेतिर नारा लगाएको आवाज आयो। प्रहरी चौकी कब्जा भयो भन्ने हामीले अनुमान लगायौँ। छोराछोरी मजाले सुतिरहेका थिए ।

श्री जनजागृती मा.वि. महत रुकुमको शिक्षक स्टाफमा हामी एउटै गाउँठाउँका मोहनराज घर्ती , धर्म बहादुर के. सी. , तिलकराम पुन , शेरवीर दाहाल , नदिराम के.सी. , चुमानसिंह बोहोरा लगायतका कार्यरत थियौं । वि.स. २०५६ बैशाखमा प्रहरी कार्यालय गा.वि.स भवनमा थियोे । वि.स. २०५६ जेठमा स्थानीय निकायको निर्वाचनका लागि प्रहरी त्यहाबाट उठेपछि गा.वि.स भवन माओवादी द्वारा भत्काइयो। वि.स. २०५६ श्रावणमा प्रहरी महतको नवनिर्मित विद्यालयको एकतले १२ कोठे छात्रबासमा पुन: बस्दैछ भन्ने खबर प्राप्त भयो।

विद्यालयको हेडमास्टरको जिम्मेवारीमा भएकोले विधालयको काम विशेषले म जिल्ला सदरमुकाम मुसिकोट गएको थिएँ । हेलिकप्टरद्वारा प्रहरी महत सारिदै थियो। बिद्यालय ब्यवस्थापन समितिका भू.पू अध्यक्ष पूर्ण बहादुर बुढासंग मुसिकोटमा मेरो भेट भयो। उनले मलाई हेलिकप्टरमा महत संगै जाउला भने तर मैले अस्विकार गरेँ । उनी हेलिकप्टरमा महत गए र म पैदल महत पुगेँ। मुसिकोटबाट महत पुग्न पैदल तन्नेरीले कस्सिएर १२ घन्टा हिड्नुपर्थ्यो।

डि.एस.पी. ठुले राइको नेतृत्वमा करिब २७ जनाको प्रहरी टोलि विधालयको छात्रबासमा बस्यो। नयाँ बसाइ हुदा मैले विधालयका दुई वटा पलङ र केहि कुर्सी प्रहरीलाई सहयोग गरेँ। विधालयको छात्रबास र मेरो डेराको घर दुई मीटरको फरकमा यतापट्टि र उतापट्टि थिए। एक महिनासम्म त त्यही घरमा बस्दा राती ठाउ ठाउमा सेन्ट्रि बसेका प्रहरीको ‘उ आयो ठोक् ठोक्’ भन्ने कासन रातभरि सुनिरहनु पर्थ्यो। मैले डेरा सार्ने निर्णय गरेँ। डि.एस.पी. ठुले राइले ‘हेडसर, किन सार्नुभयो? डिस्टब भएको भए भन्नुपर्थ्यो ‘ भने । मैले डेरा सारेको करिब दुई हप्तापछि प्रहरी चौकी कब्जा भयो। डेरा नसारेको भए हामीलाई गोली छ्ल्न भरपर्दो कभर लिनुपर्थ्यो होला।

रातभर नसुतेको म विहान ६ बजेतिर डेराघरदेखि अलि माथि धारामा पानी लिन गएँ र चौकी तिर हेरेँ । चौकी वरपर मान्छेहरु हिडिरहेका देखिन्थे । हामी यति डराएका थियौं कि महत छोड्ने मनस्थितिमा पुगेको बेला विहान तिलकराम पुन र खम्बु रावत मेरो शिक्षक स्टाफ प्रहरी चौकिको बाटाे भएर मेरो डेरा आए र प्रहरी चौकिको सबै खबर सुनाए । तिलकराम पुन सरले मलाई सम्झाएर मनमा साहस भरिदिएपछी म महत नछाड्ने मनस्थितिमा गएँ। विहान करिब ८ बजेतिर म घटनास्थलतिर गएँ। ६ जना प्रहरी र एक जना स्थानीय पूर्ण बहादुर बुढाको लाश देखेँ ।

पूर्ण बहादुर बुढा प्रहरी चौकी नजिकै डेरा लिएर बस्दारहेछ्न्। भिडन्त भएपछि भेट्न आएका २ भाइ छोरासहित उनी प्रहरी चौकी भित्र गएछ्न। प्रहरी चौकिको भित्तामा प्रहरिको रगतका छर्काहरु देखिन्थे । डि.एस.पी. ठुले राइको पलङ ठिक थियो तर झ्यालनेरको सइसापको पलङ जलेको थियो । सइसापको पलङ नजिकै उनको लाश थियो। बाचेका प्रहरी कोहि घाइते थिए । माओवादी सेनाले उपचार गरेर गएका रहेछन् । बाचेका असइसापबाट थाहा भयो डि.एस.पी ठुले राइलाइ जनमुक्ति सेनाले कब्जा गरेर लिएछ्न् ।

विहान १० बजे हामी दुबै जना विधालय गयौं । मेरि श्रीमति हरिमाया के.सी. ले पनि त्यही पढाउथिन्। सबै शिक्षक साथीहरु आए । विद्यार्थी आउने कुरा भएन। हामी विधालयको आगनको चौरमा मौन बसिरहेका थियौं । दिउँसो १२ बजेतिर हेलिकप्टर विधालयको मैदानमा झर्‍यो र हेलिकप्टरमा आएका प्रहरी यत्रतत्र छरिए । एकजना प्रहरी हामी बसेको नजिकै आए र भने, ‘तिमीहरु को हौ ? ‘ मैले ‘हामी शिक्षक हौँ ।’ भने ‘साला माओवादीहरु भाग।’ भनेपछी हामी उठेर भित्र अफिसमा गएर बस्यौं । अफिसमा बसिरहेको बेला प्रहरिको लाश उठाउदा पट्किएको ठुलो आवाज आयो र शिक्षकहरुको भागाभाग भयो । मैले अफिस बन्द गरेँ र डेरामा गएँ। डेरामा बस्न डर लाग्यो र मकैबारी गएर लुकेँ।

भोलिपल्ट अर्को दिन हामी विधालय गयौं । विधालयको छात्रबास भत्किएपछि प्रहरी विधालयमा बसे । म विधालयको अफिसमा थिएँ । बाहिर हेलिकप्टरको आउने जाने क्रम चलिरहेको थियो। जिल्ला प्रहरी कार्यालयका डि.एस.पी. धिरु बस्नेतले मलाई बाहिर खोजिरहेका रहेछन् । खबर पाएर म उनी भएको ठाउमा गएँ। उनले मलाई काधेबाउली जोड्दै भने ‘ डि.एस.पी ठुले राइलाइ लिएछ्न हैन ? माओवादी कती मरे ?’ मैले केही थाहा नभएको बताएँ। डि.एस.पी धिरु बस्नेतसंग यसअघि डि.एस.पी ठुले राइले चिनजान गराएका थिए । ‘कहिलेकाही काम लाग्छ चिनजान गर्नुहोस् ‘ भनेका थिए। त्यो चिनजानले मलाई केही सहज बनायो। अरु कुराकानी गर्न नपाउदै आइ.जि.पी , डि.अाइ.जी चढेको हेलिकप्टर अवतरण भएकालेे डि.एस.पी. धिरु बस्नेत त्यतैतिर गए ।

विधालयको एउटा भवनमा प्रहरी बस्थे बाँकि भवनमा हामी पढाउथ्यौँ । यहि अबस्थाको करिब १५ दिनपछि फेरि विधालयमा भिडन्त भयो। अर्को यो भिडन्तको बेला प्रहरीसंग पहिले जस्तो थ्री नट थ्री मात्र नभएर आधुनिक हतियार थिए । त्यो भिडन्तको रात हामी डेरामा रातभर सुतेनौँ । विधालय र मेरो डेराको दुरि करिब 50 मिटर जति मात्र थियो । अब त महत छोड्नुपर्छ भन्ने निस्कर्ष बमोजिम झोला तयार बनायौँ । विहान छोरीहरु कविता कुसुम के.सी, कलिका कुसुम के.सी. र छोरा कवि प्रभास के.सी लाई उठाएर तयारी बनायौँ । उनीहरु साना थिए । ठुलि भनेको जेठी छोरी ६ बर्सकि थिइन् । जाने बाटो विधालयको त्यही युद्धस्थल भएकाले केही समय रोकिएर खाना खाइ हिड्ने योजना बनायौँ ।

खाना खाएपछि विधालयमा शिक्षक साथीहरु आएको देखेर महत छोड्ने योजना बदलियो र म पनि विधालय गएँ । बिधालय पुगेर मैले अफिस खोल्न थालेपछी प्रहरीले रोके । ‘ आजबाट दशै विदा हुदैछ । दशै बिदाको सुचना टाँसेर अफिस बन्द गर्छु । ‘ भनेर अनुरोध गरेपछि प्रहरीको अनुमति प्राप्त भयो र सोही अनुसार सुचना टाँसेर अफिस बन्द गरेँ। आज रातिको यो अर्को भिडन्तमा कुनै क्षति नभएको देखियो । प्रहरीहरु बङ्करमा घस्रिएका कारण माटाे धुलो र अनिद्राले मलिन थिए । विधालयको भित्ताको ठाउ ठाउमा गोलीका प्वालहरु देखिन्थे ।

दशै विदामा म दुली घर गएँ । दशै विदापछी महत फर्किदा बाटोमा महतमा प्रहरीले २ महिला सहित ६ जना मान्छे मारे भन्ने सुनेँ । एक जना भागेर बचेछ्न् । मन बहादुर रोका, टिकासिंह बुढा , नरजित कामी , दिलमाया बुढा लगायतका लाई विधालय को कोठामा यातना दिएपछी माथी जंगल लिएर मारिएछ। विधालयको एउटा कोठामा मारिएका तिनै केही ब्यक्तिका टोपी देखिन्थे । प्रहरी विधालय बाट गाउँको माथिको डाँडाको चौरमा अर्को नयाँ भवन बनाइ सरेपछी विधालय खाली भयो र दशै पछि पुन: पढाइ शुरु भयो ।

एकदिन तिलकराम पुन सर मेरो कोठामा आएर भन्नुभयो ‘इनेस्पेक्टरले तपाईं र मलाई माथी चौकीमा बोलाएको छ । हेडसर र तपाईं भोलि चौकिमा आउनुहोला भनेको छ ।’ तिलक सर र म निराश भयौं । यहाँ दुबै पक्षबाट निर्दोष मान्छे मरेका छ्न्। महतमा पनि ६ जना सर्वसाधारण किसान भर्खरै मारिएका थिए । प्रहरीले मार्ने पो हो कि ! हामी दुबैलाइ डर लाग्यो र भोलि चौकीमा जाने सल्लाहपछि छुट्टियौँ । तिलक सर गइसकेपछी मेरो मनमा धेरै कुराहरु खेले । रुकुम र रोल्पाको केही गा.वि.स लाई समेटेर माओवादीले छुट्टै विशेष जिल्ला बनाएका थिए ।

म त्यस जिल्लाको जनसाँस्कृतिक संघ र शिक्षक संगठनको जिल्ला समितिमा थिएँ र थवाङ पुगेर साहित्यिक कार्यक्रमको आयोजना गर्थें । यदि ती संगठनमा भएको थाहा भए मलाइ मात्र बोलाउनु पर्ने तिलक सरलाई किन बोलायो किन कि तिलक सर कुनै संगठन र कार्यक्रममा सहभागी हुनुहुदैनथ्यो । मैले कल्पना गरेँ र तिलक सरलाई बोलाएकोले मेरो मन अलि ठुलो भयो। किनकी तिलक सरलाई बोलाएकै कारण मेरो बारेमा प्रहरीलाई थाहा छैन भन्ने अनुमान गरेँ ।

सल्लाह बमोजिम हामी दुबैजना भोलिपल्ट विहान डराउदै माथी डाँडाको प्रहरी चौकितिर गयौं । डाँडामा ठुलो चौर लाई काडे तारले घेरेर ठुलो एरिया भित्रको नवनिर्मित एकतले भवनमा प्रहरी बस्थ्यो । हामी प्रवेशद्वारमा पुगेर ड्युटी बसेका प्रहरीलाई जानकारी गरायौं । हामी आएको खबर भित्र पुग्यो लगभग १५/२० मिनेटपछि इनेस्पेक्टर साप आए र हामीले नमस्कार गर्यौँ । इनेस्पेक्टर को नाक र मुख चिसो पानीका कारण चिरा चिरा भएर फाँटेको थियो । उनले हामीसंग हात मिलाउदा म खुशी भएँ र मनमा कुरा खेल्यो, यदि मार्ने भए किन हात मिलाउथे होला र !’ उनले भने, ‘तपाइहरु महत प्रहरी चौकी आक्रमनमा संलग्न हुनुहुन्छ भन्ने रिपोर्ट भएकाले बोलाइएको हो । मन बहादुर रोकाले तपाईं दुई जनाको नाम दिएका हुन् ।’

मन बहादुर रोका प्रहरीद्वारा मारिएका ब्यक्ति थिए । इनेस्पेक्टरले त्यो भन्ने बित्तिकै म हासिदिएँ र जवाफमा केहि कुरा बताएँ। कुराकानी पछि इनेस्पेक्टरले चिया मगाए । चिया मगाएपछी मेरो मन खुशीले झन प्रफुल्ल भयो। ‘ यदि मार्ने भए किन चिया खुवाउथे र ! मनमा कुरा खेल्यो । चिया खाएपछि हामीलाई जानुस् भनियो र फेरि चौकीमा बोलाइएन । त्यस चौकिमा पुनः नबोलाए पनि इलाका प्रहरी कार्यालय वाँफिकोट र सैनिक क्याम्प मुसिकोट चाँपाले बोलाउदा र तारेख बोकाउदा म अभ्यस्त भइसकेको थिएँ ।

सायद लामो समयपछि हुनुपर्छ एकदिन प्रहरी हरु महत गाउँमा जताभावी डुलेको र हतियार बोकेका केही प्रहरीहरु रक्सीले मातेका देखिए । मलाई त्यो दृश्य अनौठो लाग्यो र केहि रहस्य हुनुपर्छ भन्ने अडकल काटेँ । पछि थाहा भयो काक्री इलाका र महत इलाका प्रहरी कार्यालयका दुई इनेस्पेक्टर भागे भन्ने खबर सुनेँ। ऊनीहरुलाई सरुवा नगरी लामो समयसम्म युद्ध क्षेत्रमा राखिएको थियो। महत प्रहरी कार्यालयका इनेस्पेक्टर आएको एकबर्षभन्दा बढी भइसकेको थियो। युद्धक्षेत्रमा एउटै प्रहरी अधिकृत र एउटै प्रहरी जवानलाई लामो समयसम्म राखिरहनु अन्याय हुन्थ्यो । सायद उनीहरु पावर र पँहुचभन्दा टाढा थिए होलान् ।’ मैले लख काटेँ।

डि.एस.पी ठुले राइलाई केही महिना पछि माओवादीले छोडिदिएका थिए र उनको बारेमा मैले सोधपुछ गरिरहन्थेँ तर ठुले राइपछिको प्रहरीको नेतृत्वमा महत आएका इनेस्पेक्टरको बारेमा पछि मैले कुनै खबर पाउन सकिन।

केसीका अन्य संस्मरणः

संस्मरण: विहेको जुत्ता

अनुभूतिः नेता हुने र प्रगतिशील बिहे गर्ने रहर

अतीतको हटारु पाना (संस्मरण)

Facebook Comments