• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनुभूतिः नेता हुने र प्रगतिशील बिहे गर्ने रहर




नदीराम केसी
कक्षा ६ मा पढ्दा मलाई पढ्नुपर्छ भन्ने ज्ञान प्राप्त भयो। पढ्नलाई टुकि थिएन । दियालोको उज्यालोबाट पढ्ने गर्थें । प्लास्टिकको जर्किन हुदैनथ्यो। टुकिमा राख्ने मट्टितेल ल्याउन दुलिबाट मुसिकोट दूध जमाउने 2 वटा साना भुर्की (ठेकि) लिएर गइ ल्याएको सम्झना छ। त्यो मट्टितेल देखेमा घरमा गाली गर्ने भएकोले लुकाएर राख्ने गर्थें । वि.स. 2040 सालमा टुकिको उज्यालोमा पढ्न थाले। टुकिको धुवाँले नाक र मुखमा कालो ध्वाँसो जमेको हुन्थ्यो। घरका अभिभावक कसैले पनि पढ भन्दैनथे ।

घरको काम गर्न मात्र अह्राउथे । म लुकेर पढ्थे । घर भित्रका नदेख्ने ठाउ र घर बाहिरका लुकेर पढेका ती जङ्गल र पाखाहरुको सम्झना अहिले पनि ताजा छ। कक्षा ८ मा पढ्दा कक्षा १० उतिर्ण गरेर गाउँको स्कुलमा शिक्षक बन्ने लक्ष्य लिएको थिएँ । त्यो बेला एस.एल.सि गर्ने बित्तिकै प्रा.वि. तहमा शिक्षक जागीर पाइन्थ्यो।

वि.स. २०४७ सालमा बहुदलीय ब्यबस्थाको स्थापना भएपछि पार्टी नै सबै चिज हो अरु सबै भ्रम हुनभन्ने सोचाइ म भित्र थियो। पार्टीको मोह अतिवादको रुपमा मानसपटलमा झाँगिएको थियो। राजाको पञ्चायती व्यवस्थाले लगाएको पार्टी र संघ संगठन खोल्न नपाइने प्रतिबन्धले गुम्सिएको जनताको भावना प्रतिबन्ध फुकुवाले एक्कासि छताछुल्ल भएपछि जताततै पार्टीको लहर चल्यो। पार्टी-पार्टी बीचमा वाकयुद्द शुरु भयो। पार्टीहरु जनता तान्न खिचातानी गर्न थाले। एक घर र अर्को घर, परिवार भित्र पनि पार्टी विवादले बोलचाल बन्द हुने खालको संघर्ष हुन थाल्यो। पञ्चायती व्यवस्था विरुद्द वि.सं. २०४५ सालमा भुमिगत रुपमा नारा लेखेको र संगठन निर्माण गरेको आरोपमा १३ दिन दाङ्ग घोराही हिरासत बसेको म पनि त्यहि प्रतिस्पर्धामा सामेल भएँ।

अध्ययन गर्दै जाँदा राजनीति संबन्धमा मैले धेरै कुरा बुझेँ र एउटा निष्कर्ष निकालेँ। त्यो थियो:- राजनीति बिशुद्द समाजसेवा हो, कमाउने थलो होइन। राजनीतिमा लाग्नेहरु आर्थिक रुपमा राजनीतिमा भर पर्नु हुदैन। पैसा कमाउने हो भने आर्थिक उपार्जनको अरु पेशामा लाग्नुपर्छ । राजनीति निस्वार्थ रुपले सेवा गर्ने हो भन्ने बुझेपछि मैले राजनीति गर्ने योजना परित्याग गरिदिए । मेरो नेता हुने रहर मेरो त्यो बुझाइपछी मरेर गयो। भर्खर युवा उमेरमा प्रवेश गरेको मेरो जिवन सक्रिय राजनिती गर्ने सोचाइबाट विमुख भयो। त्यसपछि मैले राजनिती बुझ्ने तर सक्रिय सहभागी नहुने लक्ष्य लिए। मैले शिक्षण पेशा लिएर उज्यालो छर्न थालेको 30 बर्ष भएछ।

मैले गाउँकै बिद्यालयमा १५ बर्षको उमेरमा वि.स. २०४० सालमा कक्षा ७ उतिर्ण गरिसकेपछि पढ्न छोड्ने र बिहे गर्ने कुरा घरमा गर्न थाले । मैले पढ्न छोड्ने नमानेपछि बिहे गरेर मात्र टाढा वाफिकोट पढ्न जान दिने कुरा आयो। त्यो पनि मैले मानिन । कक्षा ७ उतिर्ण गरेपछि मलाई अर्को ज्ञान प्राप्त भयो त्यो थियो पाइएमा पढेकी केटि बिहे गर्ने। त्यहि ज्ञान प्राप्त भएको कारण घरमा विहे गर्नुपर्छ भन्दा पनि मैले मानिन। त्यो समयमा एस.एल.सि उत्तीर्ण गर्ने केटी हालको पालिका स्तरमा नै ३/४ जना मात्र हुन्थे । वि.स. २०४१ सालमा मैले कक्षा ८ मा पढ्दा करीब ६० जनाको कक्षामा २ जना मात्र छात्रा थिए। ति दुई जना पनि कक्षा १० सम्म पुग्न सकेनन्। त्यसैले पढेकी वा एस.एल.सी. उतीर्ण गरेकी केटि विहेका लागि पाउनु चुनौतिपूर्ण थियो।

हाम्रो परिवारको ४ भाई बाबा मध्धे २ भाई भैसी गोठ गएको समयमा उतै जग्गा किनी आठविसकोट नगरपालिकाको सानीबार्खु बस्थे। सानीबार्खु अन्न धेरै नपुग्ने हुँदा वाँफिकोट गाउँपालिकाको दुलीबाट लिइदिनुपर्थ्यो। वि.सं. २०४१ सालमा कक्षा ८ उतीर्ण गरेर कक्षा ९ मा प्रवेश गरेको थिएँ। विद्यालयमा जाडो विदा थियो। मलाइ दुलीबाट सानीबार्खु मकै लिएर जान भनिए बमोजिम म मकैको भारी बोकेर सानीबार्खु साँझ पुगेँ। साँझको खाना खाएँ। चुलो छेउको मैरोमा बसेको थिएँ।मलाइ माईलाबुवा र कान्छाबुवाहरुले विहे गर्ने कुरा गर्न थाले। चुलो अर्को पट्टिको मैरोमा विहे गर्ने केटी बसालियो। विहेको लागि केटो आउँदैछ भनेर दिउँसो नै केटीलाई खबर गरिएको रहेछ। रातको करीब १२ बजेसम्म मलाई मनाउने कोशिश भयो। तर मैले बिहे गर्न नमानेपछि गाली गरे । म त्यही मैरोमा विना ओछ्यान भुइँमा घरमै बुनेको ठेटुवाको खास्टाे (च्यादर/बर्की ) ओढेर सुते र विहान उठेर हिड्ने तरखर गर्दा बिहे गर्न भनेर आएकी केटी हाम्रो घरबाट गइसकेकी थिइन् । मलाइ पछि थाहा भयो तिनी केटी अर्कैकी स्वास्नी रहिछन् । उहिलेको चलन अर्काकी स्वास्नी बिहे गरे बहादुरी मानिदो रहेछ। त्यही बहादुरी देखाउन माइलाबुवाले मलाई तिनै केटीसंगै बिहे गराउने योजना बनाएका रहेछन् । “घाँसको ठुलो भारी बोक्छे । बल्ली (बलियो) छे । त्यहीलाइ बिहे गर्ने हो । म जति पनि जारी तिर्न सक्छु जे पर्ला म बेहोर्छु। “-माइलाबुवाले मलाई फकाउदा भनेको सुनेको थिए । अर्काकी स्वास्नी बिहे गर्ने परम्परा लाई झक्रे(जारिके) भन्ने चलन थियो ।

वि.स.२०४९ सालमा म स्नातक तहको दोस्रो बर्ष अध्ययन गर्दै थिएँ। आर्थिक समस्याका कारण प्रा.वि. तहमा पढाइउदै स्नातक तह पढ्दै गर्थें। आइ.ए पनि दाङ्गका जमिन्दारका छोरा पढाएर पढेको थिएँ। वि.सं. २०४९ सालमा मैले चौखावाङ गलमपाटीकी हरिमाया के.सी. सँग विहे गर्ने निर्णय गरेँ। केटीसँग कुरा गर्नका लागि बहिनी प्रतिभा के.सी. लाई भनेँ। प्रगतिशील विहे गर्ने योजना वनाएँ। त्यहि योजना बमोजिम घर परिवार र साथीहरुसँग सरसल्लाह गरेको थिएँ। हरिमाया के.सी.को अस्थायी शिक्षक जागिर भएको कारण मैले शिक्षक जागीर छोडेमा स्नातक तह पढ्न मलाइ खर्चमा सहज हुने देखेको थिएँ।

मैले जुन काम पनि नयाँ गर्न रुचाउथेँ। विहे पनि नयाँ तरिकाबाट गर्ने योजनामा थिएँ। मिति २०४९/०६/२० गते दुलहिलाई ल्याउन ६ जना जन्ती (शाहीराम खत्री, धनिराम खत्री, जय बहादुर के.सी., भिम बहादुर खत्री, टेक बहादुर खत्री र म) दुलीबाट चौखावाङ गलमपाटीतिर बिहान हिडेका थियौँ। ६ जना जन्ती जोर हुने त्यो राम्रो नमानिने भनिएकाले मुसिकोटमा भेट भएका नैनसिङ बाँठालाई जन्ती टोलीमा समावेश गरेर ७ जना विजोर बनायौँ। वि.सं. २०४९ /०६ /०२ गते उद्घोषक सालाभाइ गोप्यस्वर के.सी.लाई बनाएर ससुरालीमा सानो भाषणे सभा गरी हामी १२ बजे दुली पुगेकाथियौं । २१ गते दशैको दिन थियोे । मुसिकोट सेरिगाउँ जनार्दन शर्माको घरमा एकछिन बस्यौं । हरिमाया के.सि. ले जनार्दन शर्माको घरमा बसेर पढेको कुरा सुनाएकी थिइन् ।

संयुक्त जनमोर्चाको जिल्ला संयोजक जनार्दन शर्माबाट हाम्रो विवाहलाई लेखिएको शुभकामना हामीले त्यतिबेला प्राप्त गर्यौँ। कम्युनिष्ट नेता लोकेन्द्र विष्ट मगरले हाम्रो विवाहलाई लेखेको शुभकामना पत्र मैले घरमा प्राप्त गरेँ। ती सुभकामना पत्र २८ बर्षपछी हाल पनि सुरक्षित छन्।

हाम्रो विवाहको उपलक्षयमा मिति २०४९/०६/२२ गते साँझ सास्कृतिक कार्यक्रमको आयोजना गर्ने योजना बमोजिम सास्कृतिक कार्यक्रम हुँदै थियो। यसको जिम्मा मैले काली बहादुर बाँठा (हाल स्वर्गिय), बहिनी प्रतिभा के.सि. र निर्मला के.सि. लाई दिएको थिएँ। विवाहको उपलक्ष्यमा आयोजित साँस्कृतिक कार्यक्रममा निम्ता गरेका पाहुनाहरुले गाभाको तरकारीसंग गहुँका रोटि खाएको सम्झना छ। विवाहको समयमा लगाउने भनेर मैले एक जोर जुत्ता २ बर्ष अगाडि देखि जोगाएर राखेको थिएँ। मेरो विवाहको सास्कृतिक कार्यक्रमको प्रमुख अतिथि पार्टी नेता महेशवर गहतराज ‘अथक’ लाई वोलाएको थिएँ। ६ पाथी गहुँको पीठो र एक पाथी गाभा खर्च गरेर साँस्कृतिक कार्यक्रम समापन संगसंगै हाम्रो प्रगतिशील विबाह संपन्न भएको थियो।

Facebook Comments