• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
औषधि ब्यवस्था विभागद्वारा घोराहीमा रेम्डिसिभिर बिक्री गर्न रोक, बिक्री सहज बनाउन माओवादी केन्द्रको माग




दाङमा थोक औषधि ब्यवसायी संघको पहलमा सस्तो दरमा बिक्री भइरहेको रेम्डिसिभिर बेच्न रोक लगाइएको छ । औषधि ब्यवस्था विभाग नेपालगञ्जले औषधि बिक्री भइरहेको मेडिकलमा छापा हानेर बिक्री गर्न रोक लगाएको हो । थोक औषधि ब्यवसायी संघ लुम्बिनीको समन्वयमा आएको यो औषधि कालिका मेडिकलबाट सरकारी दरभन्दा कम मूल्यमा बिक्री हुँदै आएको थियो ।

देशका बिभिन्न ठाउँमा यो औषधिको बिक्रीमा कालोबजारी भएपछि थोक औषधि ब्यवसायी संघको पहलमा दाङमा सरकारी दरभन्दा कममा औषधि बिक्री गर्न शुरु गरिएको थियो । निजी क्षेत्रले बिक्री गर्न नपाउने भन्दै विभागले रोकेको हो । तर, औषधि ब्यवसायीहरुले भने जिल्ला प्रशासन कार्यालयकै सिफारिसमा औषधि ल्याएर सामाजिक सेवाको भावनासहित नाफा नलिएर सरकारले तोेकेको भन्दा कम मूल्यमा बिक्री गरेको बताएका छन् ।

थोक औषधि ब्यवसायी संघका अध्यक्ष शालिकराम आचार्यले आफूहरुको सेवाभावलाई गलत ढंगले हेरिएको बताउनुभयो । ‘जनताको समस्या समाधानका लागि निजी सरकारी निकायबीच राम्रो कार्यका लागि साझेदारी गरेर अगाडि बढ्दा सबैलाई सहज हुने थियो भन्ने भावले हामी मिहिनेत र लगानीका लागि तयार भएका थियौं तर उल्टो देख्न थालिएछ । संकटको बेलामा आवश्यकताअनुसार कार्यनीतिमा सरलीकरण गर्नु राम्रो होला’–उहााले भन्नुभयो ।

यो घटनाको राजनीतिक रुपमा पनि बिरोध हुन शुरु भएको छ । यसैबीच नेकपा माओवादी केन्द्र दाङले विज्ञप्तिमार्फत बिक्री बन्द गरिएकोमा आपत्ति जनाएको छ । जिल्ला इञ्चार्ज जीवन गौतमले विज्ञप्ति जारी गरी कुनै नीतिगत समस्या भए द्रूत गतिबाट समाधान गर्न तर सहजरुपमा औषधि आपूर्तिको ब्यवस्था नरोक्न आग्रह गर्नुभएको छ । उहाँले दाङमा फेरि अक्सिजन आपूर्तिमा समस्या आएको भन्दै संघ र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराउनुभएको छ ।

माओवादी केन्द्रको विज्ञप्तिको पूर्ण पाठः
कोरोना उपचारमा प्रयोग गरिदै आएको रेम्डिसिभिरको देशब्यापीरुपमा अभाव र कालोबजारी हुँदै आएको तथ्य सार्वजनिक भइसकेको छ । यसैक्रममा दाङमा औषधि ब्यवसायीहरुले आफ्नै पहलमा यो औषधि ल्याएर बिक्री गर्न थालेपछि नागरिकले सहजै औषधि पाउने अवस्था बनेको थियो ।

घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र थोक औषधि ब्यवसायी संघमार्फत तथा तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल र राप्ती लाइफ केयर अस्पतालबाट बिक्री हुन थालेपछि दाङमा रेम्डिभिसिरको आपूर्ति सहज भएको थियो । तर, थोक औषधि ब्यवसायी संघमार्फत सस्तो दरमा बिक्री भइरहेको रेम्डिसिभिरको औषधि ब्यवस्था विभाग नेपालगञ्जले बन्द गरिदिएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङको सिफारिसमा आएको सो औषधि बिक्रीमा रोक लगाउँदा नागरिक सहजै र सस्तो मूल्यमा औषधि पाउने अधिकारबाट वञ्चित भएका छन् भने कालोबजारी फष्टाउने खतरा पनि उत्तिकै बढेर गएको छ । सामाजिक सेवाको भावसहित सस्तोमा रेम्डिसिभिर बिक्री गर्ने ब्यवसायीहरुलाई हतोत्साहित गर्ने गरी औषधि ब्यवस्था विभागबाट भएको हस्तक्षेपको भ्रत्सना गर्दछौ। यो महामारीको बेलामा सरकारी, निजी क्षेत्रसहित सबैको समन्वय र सहकार्य जरुरी छ । कतै केही नीतिगत समस्या छन् भने द्रूत गतिबाट समाधान गरेर तत्काल रेम्डिसिभिर सहज र सस्तोदरमा बिक्री गर्ने वातावरण बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।

साथै दाङमा अझै अक्सिजन आपूर्ति सहज हुन नसकिरहेकोप्रति पनि संघ, प्रदेश र स्थानीय सरकारहरुको ध्यानाकर्षण गराउन चाहन्छु । नेपालगञ्जबाट हरेक २४ घण्टामा कम्तीमा दुई सय सिलिण्डर आउनु पर्नेमा त्यो परिमाण आधा घटेपछि पुनः अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । केही दिनअघि मात्रै अक्सिजनको अभावमा दाङमै धेरैले ज्यान गुमाउनुपरेको घटना फेरि दोहोरिन नदिन तत्काल आवश्यक अक्सिजन आपूर्तिका लागि संघ र प्रदेश सरकारलाई आग्रह गर्दछौं ।
जीवन गौतम
इञ्चार्ज
नेकपा माओवादी केन्द्र दाङ

यो पनि पढ्नुहोस्

दाङमा निजी क्षेत्रले ल्यायो रेम्डिसिभिर, सरकारी दरभन्दा कम मूल्यमै उपलब्ध गराइने

Facebook Comments