• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा कृष्णसेन इच्छुक आम सञ्चार प्रतिष्ठान गठन गर्न प्रेस सेन्टरको माग




प्रेस सेन्टर लुम्बिनी प्रदेशले लुम्बिनीमा कृष्णसेन इच्छुक आम सञ्चार प्रतिष्ठान गठन माग गरेको छ । संगठनका महाधिवेशन आयोजक समिति सदस्य तथा घोषणापत्र मस्यौदा समितिका संयोजक नरेन्द्र केसीले प्रस्तुत गरेको घोषणापत्रको मस्यौदा अधिवेशनको हलले पारित गरेको हो ।

सेन्टरको दोस्रो प्रदेश अधिवेशनले सो माग गरेको हो । ‘लुम्बिनीमा कृष्णसेन इच्छुक आम सञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारिताको विकासमा योगदान गर्न पनि यो अधिवेशनमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं’– अधिवेशनबाट जारी ११ बुँदे देउखुरी घोषणापत्रमा भनिएको छ ।
प्रस्तुत छ घोषणापत्रको पूर्ण पाठः

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट पारित समसामयिक प्रस्ताव
१– महान् जनयुद्ध र विभिन्न आन्दोलनका दौरान तथा त्यसअघि र पछि जनतालाई ससूचित गराउँदा गराउँदै शहादत प्राप्त गरेका सम्पूर्ण सहिद पत्रकारहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै यो अधिवेशन सम्पूर्ण सहिद पत्रकारका परिवारजन तथा छोराछोरीलाई उचित राहत, व्यवस्थापनका लागि ध्यान दिन र घाइते, अपांग तथा द्वन्द्वप्रभावित पत्रकारहरुका लागि राहतमूलक कार्यक्रम ल्याउन राज्यसँग माग गर्दछ ।

२– सञ्चारमाध्यमहरुको संख्या बढिरहेको भए पनि श्रमजीवी पत्रकारहरुले अझै पनि उचित पारिश्रमिक पाउन सकेका छैनन् । काम गर्ने तर दाम नपाउने वा पाए पनि अत्यन्त न्यून पाउने स्थितिको तत्काल अन्त्य गरी कम्तीमा पनि सरकारले निर्धारण गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना गर्न यो अधिवेशन सम्पूर्ण सञ्चारमाध्यमहरुसँग आग्रह गर्दछ ।

३– गोरखापत्र संस्थानलगायत सरकारी सञ्चारमाध्यमले लामो समयदेखि काम गरिरहेका श्रमजीवी पत्रकारहरुलाई हटाएकोमा यो अधिवेशन घोर आपत्ति प्रकट गर्दै तत्काल पुनवर्हालीका लागि आग्रह गर्दछ । साथै यो मागको सुनुवाइ नभए संघर्षमा उत्रने पनि यो अधिवेशनचेतावनी दिन चाहन्छ ।

४– सरकारले यसै आर्थिक बर्षदेखि पत्रकारका लागि निःशुल्क उपचारको ब्यवस्था गर्ने बजेटमै घोषणा गरेको भए पनि कार्यान्वायन शुरु नभएकाले तत्काल कार्यान्वायन गर्न, जोखिम मोलेर क्षेत्रमा खट्ने पत्रकारका लागि जीवन विमा, स्वास्थ्य विमा लगायतका कार्यक्रम अघि बढाउन यो अधिवेशन सरकारसँग माग गर्दछ ।

५– संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको भए पनि विभिन्न तहका सरकारहरुले कानून बनाउँदा र बनेका कानून कार्यान्वायनका लागि प्रेस स्वतन्त्रताबिरोधी प्रावधान गर्ने प्रयास गरिएकाले सबै तहमा प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने र सञ्चारमैत्री कानून निर्माणको आग्रह गर्दछौं । लुम्बिनी प्रदेश सरकारले संसदमा पेश गरेको सञ्चारसम्बन्धी बिधेयक तत्काल पुनर्लेखन गरी पारित गरेर सञ्चार संरचना स्थापनाको यो अधिवेशन माग गर्दछ ।

६– लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तहका नीति कार्यक्रम र बजेटलाई सञ्चारमैत्री बनाउँदै सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि प्रदान गरिने सेवा सुविधा तथा अवसरलाई समानुपातिक बनाउन यो अधिवेशन सबै तहका सरकारसँग माग गर्दछ ।

७– लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पत्रकार महासंघको भवन लगायत संरचना निर्माणमा बजेट विनियोजन गर्ने प्रदेश सरकारको निर्णयको स्वागत गर्दै यो अधिवेशन महान सहिद कृष्णसेन इच्छुकको कर्मथलो रहेको यो भूमिका उहाँको यथोचित सम्मान हुने गरी सञ्चार सम्बद्ध संरचना निर्माण गर्न माग गर्दछ । साथै लुम्बिनीमा कृष्णसेन इच्छुक आम सञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारिताको विकासमा योगदान गर्न पनि यो अधिवेशनमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।

८– प्रदेशको नामाकरण र राजधानी घोषणा भएको एक बर्ष पुगे पनि राजधानी ब्यवस्थापनमा यथोचित काम हुन नसकेकाले कामलाई गति दिंदै शीघ्र राजधानी ब्यवस्थापन गरेर संघीयता कार्यान्वायनलाई अघि बढाउन र स्थायी राजधानीमा नयाँ शहर निर्माण गर्दा यहाँको मौलिक संस्कृति, पर्यावरण संरक्षण र सञ्चारमैत्री वातावरण निर्माणमा जोड दिन यो अधिवेशनमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।

९– जनयुद्धको जगमा निर्मित संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधिजस्ता राजनीतिक उपलब्धिको रक्षा गर्दै समाजवादी क्रान्तिका लागि सार्थक बहस र आन्दोलनका गतिबिधिलाई प्रभावकारी बनाउन यो अधिवेशन प्रण गर्दछ ।

१०– भर्खरै मात्रै पार्टी कामको सिलसिलामा सवारी दुर्घटनामा ज्यान गुमाउनुभएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बढ्दो सवारी दुर्घटना न्यनूनीकरण गर्न सडक सुधार, ट्राफिक ब्यवस्थापनलगायत सडक सुरक्षामा ध्यान दिन यो अधिवेशनमार्फत प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

११– प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको ऐतिहासिक दोस्रो अधिवेशन सफल पार्न सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, नेकपा माओवादी लुम्बिनी प्रदेश समिति, राप्ती गाउँपालिका समिति, राप्ती गाउँपलिका, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरालगायत सबैमा यो अधिवेशन हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा यस्तै सहयोग र सद्भावको अपेक्षा गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रेस सेन्टर लुम्बिनीको अध्यक्षमा बिक

Facebook Comments