• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाआमाको सपना र हाम्रो पुस्ताको गन्तव्य




भुवन केसी
मेरो बुवा मजदुरको छोरा । उहाँको जीवन पनि मजदूरीमै बित्यो । हामीलाई मजदूरी गरेरै हुर्काउनु ,बढाउनु र पढाउनुभयो । उहाँले १३ बर्षको उमेरबाट ज्याला, मजदूरी गर्न थाल्नुभउको हो । आफूले त बुवा, आमा कस्तो हुनुहुन्थ्यो, देख्न पाउनुभएन । आमा बुवाको माया ममता दया र स्नेह कस्तो हुन्थ्यो, त्यो पनि थाहा पाउनुभएन ।

तर, बाआमाबाट नपाएको मायाँ सन्तानमै खन्याउने उाँको सपना । अहिले त उमेरले पनि ५८ पुगिसक्नुभयो । शारीरिक अवस्था पनि पनि राम्रो छैन । बिहे पनि ढिला गर्नुभयो र त छोराछोरी अझैसम्म पनि कमाउन सक्ने भएका छैनौं ।

अब उहाँसँग ज्याला, मजदूरी गर्न सक्ने क्षमता पनि छैन । छोराछोरी धेरै, पढाउन लेखाउन चुनौति छ । पहाडको ठाउँ उत्पादन धेरै हुदैन, घरमा अन्य कुनै आम्दानीका स्रोत छैन। बारीमा लगाएको खेतीपातिले बर्षभरि खाना पुग्दैन । कुनै बर्ष प्राकृतिक प्रकोपले मार्छ भने कहिले जंगली जनावरले सखाप पार्छन् ।

आमा भन्नुहुन्छ– ‘जन्मेदेखि घाँस दाउरा गर्न थालेकी हुँ । मलाई पढा लेखाइको क समेत थाहा छैन् । घाँस दाउरा गर्दागर्दा जीवन आधा भइइसक्यो । घाँस दाउराकै लागि एउटा आँखा समेत गुमाएँ । छोरा, अब एउटा आँखाले गाउँघरमा खेतीपाती गर्न, भैसी गाइबस्तु पाल्न र घाँस दाउरा गर्न निकै गाह्रो भएको छ । छोरा तैले अब केही गर्नुपर्छ। पढेर मात्रै भएन, पढाइसँगै कतै काम गर्नुपर्छ । अब घरधन्दा चलाउन निकै गाह्रो छ।’

बुवा आमाको यो कुरा सुनेपछि मेरो मनमा दया जागेर आउँछ। अनि मैले सोच्छु र भन्छु– ‘अब मैले केही गर्नुपर्छ ।’ गाउँघरको हेला, साथीभाई आफन्तहरुको कुरा सुन्दा दिक्क लाग्छ र सोच्छु– अब बिदेश गएर पैसा कमाउँछु, फेरि बिदेशिनुभएका दाइभाई दिदीबहिनीहरु सम्झन्छु। उनीहरुको घरपरिवार लथालिङ्ग भएको देख्छु अनि बिदेशमा भोगेका दुःखका कुरा सुन्छु र सोच्छु– बिदेशमा गएर पनि काम छैन । बरु म यतै केही गर्छु ।

त्यो पनि सोचेको जस्तो कहाँ सजिलो छ र ? यतै केहही गर्नलाई पनि गाउँमा पस्यो बुवाआमा भाइबहिनी, आफन्तको गुनासो सुन्नुपर्छ । शहर पस्यो अभावअभावको जिन्दगी छ ।

शहर पसेको पनि अब करीब ५\६ बर्ष भएछ । अहिलेसम्म न पढाई सकिएको छ, न त जागिरको टुंगो । खाली शहरमा खान र बस्नको लागि मात्रै गएको हो कि भन्ने जस्तो भएको छ । उमेर बढेको छ, जिम्मेवारी थपिएको छ ।

कक्षा ११ पढ्नको लागि घरबाट शहर निस्केको म, हाल अध्ययनको लेभल ब्याचलरको आधाआधीसम्म पुगेको छ । अध्ययनलाई निरंतरता दिनको लागि निकै चुनौती खेप्नुपरेको छ। यो बर्ष झन कोरोना महामारीले निकै अफ्ठ्यारो पारेको छ । न पढाइलेखाइ भएको छ , न परीक्षाको टुंगो लागेको छ ।

अध्ययन ठप्प छ। मलाई भने ब्याचलर सकिएको भए केही मेसो आउथ्यो कि जस्तो लागेको छ । शहरमा कोठा भाडा तिर्नुपरेको छ ,घरगाउँमा आएर बस्नुपरेको छ। संगै एसएलसी पास गरेका प्राबिधिक क्षेत्रतिर अध्ययन गरेका कतिपय साथीहरुको जागीरको टुंगो भएको छ । त्यसले झन हामीलाई चुनौती थपिएको छ।

पहाडको ठाउँ पढेलेखेकाहरुको संख्या अत्यन्तै कम । कुन विषय, कस्तो विषय पढ्नुपर्न ? अबधि कति ? पढिसकेपपछि कस्तो काम पाइन्छ ? कुन क्षेत्रमा जाँदा राम्रो हुन्छ ? यी बिषयको गाउँमा जानकारी निकै कम हुन्छ । त्यसैले एसइईपछि गाउँबाट छाड्ने कोमल हृदय भएका विद्यार्थीमा नै यी जानकारी हुन्छ, न अभिभावक र समुदाय नै जानकार । बरु कुरा नबुझी आफन्त बोलेको देखेर वाक्क लाग्छ । त्यहीमाथि समाजका खिसिटयूरी गर्दा बाआमाको म कति पोल्छ, त्यो हामीजस्ता युवाहरुलाई बढी थाहा हुन्छ । फलानाले गरेन, हलानाले गरेन, उही उमेरको केटाले यति कमायो, उही उमेरकी केटीले यति बच्चा जन्माइ तर यसले गरेन भन्ने कुरा काट्नेहरुको जमातको कमी हुँदैन गाउँम ।

शहर पस्यो काम खोज्दा खोज्दा, चिनेजानेकाहरुलाई भन्दा भन्दा वाकदिक्क । गाउँघर पस्यो आफन्तहरुले गरेको किचकिची सुनेर वाक्क । कहिलेकाही मनमा निराशा छाउँछ र बेकार पढिएछ भन्ने पनि लाग्छ । पढ्न नियमित क्लास नगएपछि कोर्समा फेल, लोकसेवा पढौं त अहिलेसम्म कुनै मिलेको छैन तालमेल । न हाम्रा आफन्त, न चिनेजाने कोही । न हाम्रो पावर पहुँच, न पुग्ने क्षमता ।

यहीबेलामा सम्झनामा आउँदो रहेछ देशको राजनीति । रोल्पा रुकुमले लडेर ल्याएको गणतन्त्रमा यी जिल्लाकै युवाहरुको यो अवस्था देख्दा लाग्छ, कसका लागि आएको होला यो गणतन्त्र । उही नातागोता, उही पहुँच र पावरको कुरामै दिन बिताउने भए हजारौंले गरेको बलिदानीको के अर्थ ? यो प्रश्न पनि आउँछ मनमा ।

अहिले सम्मको दिन चर्याहरु त तीन चार बर्ष त टाईम पास गरियो । मिडियामा लागेर केही चिनजानको बहाना पनि बन्यो । तर, यता पनि न दाम छ, न काम । के गरौं र कता जाऔंको अवस्थामा पुगिएको छ । अब सोच्दै छु, बुवा आमा भाइबहिनीलाई के गरेर खुशी बनाउन सकिएला ? नाम र दामको तीर्खा त कसलाई हुँदैन तर सानोतिनो प्रयासले नपुग्ने रहेछ यसमा । अझै पनि आश मरेको छैन । मेरै जवानीले पाइला टेकेको छ, गन्तव्यमा पुग्ने खुट्टा हुँदा पनि यात्रा निरन्तर जारी रहनेछ ।

आँट गरेपछि के गर्न नसकिएला र ? आँट चाहि कत्ति पनि मरेको छ । कुरा काट्ने समाजले पनि मेरै लागि काटेको हुन् भन्ने लाग्दो रहेछ । ज्ञान् समाजले त सिकाउने हो नि ? यसो पनि सोच्दैछु अब । भोको पेट, खाली खल्ती र स्वाथी दुनियाँ कस्तो हुदोरहेछ भनेर पनि अनुभव गर्नुरहेछ नि ! विनापैसा कुनै काम हुदैन, पैसाले सबथोक बिगारेको छ । कोरोना महामारीले ज्याला मजदुरी गरिखाने बर्गलाई निकै अप्ठ्यारोमा पारेको छ। कतिलाई घरभित्र भोकले मारेको छ, कतिलाई घर बाहिर रोगले मारेको छ । राजनीतिक दलका जनप्रतिनिधि भ्रष्टाचारको आरोप लागिरहन्छ ।

सबै त भ्रष्ट पनि छैनन् होला तर राजनीति निश्चित वर्गको घेरामा कैद भएपछि राम्रो गर्नेहरु पनि ओझेनमा छन् र नराम्रो गर्नेहरुका कारण सिंगो राजनीतिमाथि नै प्रश्न उठिरहेको छ । नेताहरु के गर्छन्, त्यो पनि हाम्रो कम सरोकारकारको बिषय हो । कम्तीमा म जस्ता गरीब मजदूरका छोराछोरीले पनि चाहे जति पढ्न र पढे जति काम गर्न पाउनुपर्यो । क्षमताअनुसारको काम, कामअनुसारको माम, यही होइन र स्वर्णिम राजनीतिक ब्यवस्था ? राजनीति पनि सँधै यस्तै नहोला । त्यहाँ पनि युवा पुस्ताको सक्रियता बढिरहेको छ । राजनीतिलाई सुधार्ने र हाम्राजस्ता नाँगा खुट्टा गन्तव्यतिर हिहिरहेका पाइलामा जुत्ता लगाइदिने राजनीति भए हिड्ने काम जनताको हो र काम गर्नेछौं ।

हाम्रो नेपालमा पैसा छ भने पसलमा देउता किन्न पाइन्छ भन्ने चलन छ । अदालतमा न्याय किन्न पाइन्छ, नपढी बिद्धान बन्न पाइन्छ, दुइ चार पैसा छरेर समाजसेवी बन्न पाइन्छ, चुनावमा टिकट किन्न पाइन्छ । मासु भातमा भोट किन्न पाइन्छ । यस्तैयस्तै विकृति पूँजीवादले बिगारेको छ मेरो देश र अन्योलग्रस्त जीवन बाँचिरहेका छौं, मजस्ता लाखौं युवाहरु । यो हाम्रो नियति होइन, बिगारेको सोंच र संरचनाले हो । मान्छेलाई खरिदबिक्रीको माल होइन, मान्छे बनाउने अभियानले मात्रै सबै ठीकठाक हुनेछ । सबैलाई सम्मान ब्यवहार गरौं, अपमान कसैलाई नगरौं ।

हरेकले आफूलाई मान्छे बनाउने अभियान थालौं । जीवनमा जस्तोसुकै परिस्थिति किन नआओस संघर्ष कहिल्यै गर्न नछाडौं । पृथ्वीमा ज्ञानभन्दा शुद्ध चिज अरु केही छैन । आत्मपहिचान नै शिक्षा हो । यो सबै व्यक्तिले गरेका प्रयन्तबाट आउने हो । केही गर्ने इच्छाशक्तिका साथ इमानमा अघि बढौं । हो, हामी जन्मका आधारमा गरीब परिवारमा जन्म्यौं होला तर हामीलाई मान्छे बन्न त कसैले रोक्ने छैन नि ? अन्यायको बिरोध गर्ने, सत्यको पक्ष लिने र आशाको किरण छर्ने हाम्रो निरन्तर जारी रहनुपर्छ । हाम्रो पुस्ताले पनि बाआमाको जस्तै दुःख गर्न किन नपरोस् र सत्य र न्यायको बाटो छाड्नुहुँदैन ।

हाम्रो पुस्ता साँच्चिकै ठूलो कार्यभार बोकेको पुस्तो हो । बाआमाको सपना साकार गर्नुछ, आफूलाई सोचेजस्तो बाटोमा लगाउनुछ र भावी पुस्ताका लागि बाटो सिकाउनु छ, त्यसैले पनि हाम्रो पुस्ता ज्ञान, कर्म र लगन सबै हिसाबले ठूलो सपना बोकेको पुस्तो हो । आजभोलि यस्तै सपना सजाउँदै बाँच्न सिकेको छु । त्यसो गर्दा कम्तीमा गाउँको अपमान र बजारको अभाव भुल्न सजिलो हुँदो रहेछ र नयाँ सपनाको गन्तव्य पहिल्याउन पनि ।

Facebook Comments