शशिधर परियार (सुशील)
मानव जातिले कोरोनाको कारण विश्वभरि आतंक र संकट ब्यहोर्नुपरिरहेको छ । यसले जनजीवनमा ठूलो क्षति पुर्याइरहेको छ । यस्तैकारण हाम्रो नेपाल र नेपाली श्रमजीवी वर्ग दिनमा काम गरी छाक र घरमा चुलो बाल्ने गरिब दुखी जनतामा अति नै प्रभाव परेको छ ।
कोरोनाको कारण आफ्नो रोजगारी गुमाएर बिदेशबाट आफ्नो गाउँ घर फर्किएका नेपाली युवाहरुले लामो समय लकडाउन र विभिन्न समस्याबाट दिन काट्न बाध्य भए । लकडाउनको साथसाथै आशा पनि बोकेका थिए– अब स्वदेशमै केही रोजगारको सिर्जना हुनेछ र हामीले घर परिवारसँग बसेर ज्याला मजदूरी गर्न पाउछौ ।
कम्युनिस्ट नेतृत्वको सरकार भएको कारण पनि अलि आशावादी भएका थिए तर आजभोलि निराश भएर फेरि आफ्नो कुम्लो कुटुरा बोकेर युवाहरु बिदेश जान बाध्य भएका छन । यस्तो जटिल परिस्थितिमा पनि फेरि बिदेश जानुपर्दा नेपाली जनता निराश छन । बिदेश जानूको बिकल्प नरहेको प्रष्ट देखिन थालेको छ ।
केही समय बैकल्पिक ब्यबस्थापनको लागि बन्दाबन्दी गरे पनि दीर्घकालीन रुपमा यसलार्य नै निर्बिकल्प ब्यबस्था मानेर बस्ने हो भने अब भोको पेटले कुनै समाधान पाउने देखिएको छैन । खाली डर, त्रास मात्रै निकास होइन ।
हामीसँग कम्युनिस्ट दुई तिहाइको बलियो सरकार रहेको, संघीय लोकतान्त्रिक गणतन्त्रहुँदै समाजबादको यात्रामा सक्रिय भएको सरकार चाहिएको हो तर सरकारको अहिलेको गतिबिधि सन्तोषजनक देखिदैन । चैतदेखि शुरु भएको लकडाउनका काराण् अहिलेसम्मकै ठूलो झट्का गरिब किसान मजदूरले ब्यहोर्नुपरेको छ । सरकारी जागीर भएका र पूँजीपतिहरुलाई मोज नै भएको छ । खाली समय उनीहरुका लागि मोजमस्ती गर्ने अवसर नै भएको छ तर गरीबलाई चुल्हो बाल्ने समस्या छ ।
हाम्रो सरकारले उत्पादन र रोजगारका कार्यक्रम नल्याउँदा युवाहरु फेरि भारत जान थालेका छन् र तेस्रो मुलुकमा पनि जानसक्ने देखिन्छ । यसबाट एकातिर जनताको आशा निराशामा परिणत हुँदैछ भने अर्कोतिर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने ठूलो अवसर सरकारले गुमाउँदैछ ।
पूर्खादेखि भारतमा गएर जीवन गुजार्दै आएका गरीब जनताका लागि अब पनि स्वरोजगारी र उत्पादनका कार्यक्रम ल्याउने होइन भने ठूलो पंक्ति निराश हुनेछ । सरकार र पार्टी चाहिने भनेको संकटको बेलामा हो । यो बेलामा सही नेतृत्व दिन सक्ने होइन भने जनतामा ठूलो निराशा पैदा हुनेछ । नेपाली जनता रोग र भोकसँग एकैसाथ लड्नपरिरहेको छ । अब छाक कसरी टार्ने र पेट कसरी भर्नेभन्दा अरु सोच्नसक्ने अवस्थामा छैनन जनता ।
यो बेलामा रोगको संक्रमण अझै फैलिनसक्छ किनकि जनता भोकको जोखिमभन्दा रोगको जोखिम मोल्ने स्थितिमा देखिन्छन् । रोगले सबै मर्ने होइन तर भोकले सबै मरिन्छ कि भन्ने चिन्ता जनतामा पैदा हुँदा पनि संक्रमण बढ्ने खतरा देखिन्छ । साँच्चिकै यसप्रति सरकार र जनताले आशा गरेका राजनीतिक दलहरु गम्भीर बन्नैपर्छ । अल्पकालीन राहत कार्यक्रमसँगै दीर्घकालीन उत्पादन र स्वरोजगारीका कार्यक्रम ल्याउन अब ढिला गर्नुहुन्न ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।