मुलुकको राज्यपुनर्संरचनासँगै अधिकारसम्पन्न भएका स्थानीय तहहरु कतै अलमलमा छन् भने कतै हरेक सूचकमा अघि बढ्न थालिसकेका छन् । तीमध्ये देखाउन लायक धेरै क्षेत्रमा हात हालेको रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले ओखर खेतीलाई महत्वाकांक्षी कार्यक्रमको रुपमा अघि सारेको छ ।
टर्कीबाट जहाजमा ४३ हजार विरुवा लिएर गत फागुन चैतमा लगाइसकिएको छ भने आगामी दुइ बर्षभित्र पाँच लाख ओखरका विरुवा लगाउने तयारीमा नगरपालिका जुटेको छ । छ फ्लाइड जहाजमा ४३ हजार हजार विरुवा आए पनि लकडाउनका कारण हवाइ जहाज चल्न नसक्दा तयारी अवस्थामा राखिएका दुइ लाख विरुवा आउन बाँकी छन् ।
जहाजबाट काठमाडौं र रेफ्रिजेनेटरयुक्त गाडीबाट आठबीसकोट नगरपालिकासम्मै पु¥याउँदा प्रतिविरुवा तीन सय ७० रुपैयाँ पर्न गएको नगरपालिकाले जनाएको छ । हवाइ जहाजबाट संभव नभए पानी जहाजबाट भए पनि विरुवा ल्याउने तयारी थालिएको छ । त्यसो गर्दा विरुवा ४५ दिनसम्म नेपाल आइपुग्नेछन् ।
जसमा प्रदेश सरकार कृषि मन्त्रालयको सहयोगमा नगरपालिकाले प्रतिविरुवा तीन सय २० रुपैयाँ लगानी गरेको छ भने किसानले प्रतिविरुवा ५० रुपैयाँ लगानी गरेका छन् । अहिले वडा नम्बर १, २, ३, ४, ५, ६, ८, १०, ११ र १२ मा ओखर खेती शुरु गरिएको छ । किसानको बाँझो जग्गा खोजेर उनीहरुकै स्वामित्वमा रहने गरी नगरपालिकाले ओखरका विरुवा लगाइदिएको छ । यो पालिकामा किसानको स्वामित्वमा रहेको बाँझो जग्गा मात्रै असी हजार रोपनी भएकाले यसको सदुपयोगमा जोड दिइएको नगरपालिकाले जनाएको छ ।
सबै विरुवा आइनपुगेकाले कम्तीमा दशदेखि बढीमा पाँचसम्म विरुवा एक जना किसानले लगाएका छन् । यो कार्यक्रमबाट आफूहरु आशावादी रहेको किसान गोकर्ण मल्लले बताउनुभयो । उहाँले मात्रै चार सय विरुवा लगाउनुभएको छ ।
नगरपालिकाले अबको चार बर्षपछि ओखरले फल दिन शुरु गर्ने र पाँच लाख विरुवा लगाउन सकियो भने न्यूनतम पनि बर्षेनी एक अर्बको ओखर निकासी गर्न सकिने लक्ष्य राखेको नगर प्रमुख गोरबहादुर केसीले जानकारी दिनुभयो । बर्षेनी एक करोड केजी उत्पादन गर्न सकियो भने लक्ष्य चुम्न सकिने उहाँको विश्वास छ । नेपाली बजारमा ठूलो परिमाणको ओखर बिदेशबाट आउने भएकाले पनि बजारको समस्या नहुने उहाँको भनाइ छ ।
यद्यपि नेपालमा बजार कम भए पनि छिमेकी मुलुक भारत पठाउन सकिने र तेल उत्पादन गरेर पनि खपत गर्न सकिने प्रमुख केसीको विश्वास छ । यसअघि वैतडीबाट दश हजार ओखरका विरुवा लिएर लगाएकोमा विरुवाको गुणस्तरमा शंका लागेर टर्कीबाटै ल्याउन शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
‘संसारभरि कहाँको ओखर राम्रो छ भनेर खोज्दै जाँदा हामीले टर्कीको क्याप्लर र थर्नर प्रजातिको ओखर फेला पा¥यौं’– उहाँले भन्नुभयो– ‘त्यहाँको सरकारले गुणस्तर प्रमाणित गरेर लेभल लगाइदिने भएकाले पनि गुणस्तरमा विश्वास गरेका छौं ।’ दुइ जहार मिटरसम्म क्याप्लर र त्योभन्दा माथि थर्नर प्रजातिको ओखर लगाइएको छ ।
टर्कीबाट ल्याइएको विरुवा हुर्केपछि नगरपालिकाभित्रै भएका स्थानीय ओखरमा कलमी गरेर पनि उत्पादन बढाउने तयारीमा नगरपालिका जुटेको छ । त्यसका लागि गत बर्ष २५ हजार स्थानीय विरुवा उत्पादन गरेको र यो बर्ष एक लाख स्थानीय ओखरका विरुवा उत्पादन गरिने प्रमुख केसीले जानकारी दिनुभयो ।
त्यसो गर्न सके विरुवामा आत्मनिर्भर हुने र बिक्रीसमेत गर्न सकिने उहाँको विश्वास छ । ओखर उत्पादन भएपछि नगरपालिकाले निर्यातकर्तासँग सहजीकरण गरिदिने र उत्पादनको संकलन तथा भण्डारण र बिक्रीको जिम्मा सहकारीहरुलाई दिएर अघि बढ्ने सोंच बनाइएको उहाँले बताउनुभयो । एउटा बोटमा २० देखि ३० केजीसम्म एक बर्षमा फल्ने अपेक्षा नगरपालिकाले गरेको छ ।
५१ प्रतिशत गरीबीको रेखामुनि, ३४ प्रतिशत दलितको बसोबास भएको पालिका
नेपालको सबैभन्दा विकट र बिपन्न जिल्ला कालीकोट मानिन्छ । कालीकोटमा ५१ प्रतिशत जनता गरीबीको रेखामुनि छन् भने ३४ प्रतिशत दलित समुदायको बसोबास छ । आठबीसकोटको अवस्था पनि ठ्याक्कै यही हो । झण्डै ८ हजार घरपरिवार र ४० हजार जनसंख्या रहेको यो पालिकामा पनि ५१ प्रतिशत नागरिक गरीबीको रेखामुनि छन् भने ३४ प्रतिशत दलित समुदायको बसोबास छ ।
डोल्पासँग जोडिएको अधिकांश भूभाग विकट क्षेत्रमा पर्छ भने अन्य ठाउँको तुलनामा बाली उत्पादन पनि कम हुन्छ । कमै र जौं ढिला गरी पाक्ने भए पनि अन्य बाली उत्पादनमा समस्या छ । तर, पशुपालनको भने राम्रो संभावना छ । कृषि र वन क्षेत्रबाट आत्मनिर्भर बन्नसक्ने संभावना रहेको भए पनि अहिलेसम्म सरकारको आँखा नपर्दा नेपालकै दुर्गम र बिपन्न वस्तीको रुपमा आठबीसकोट नगरपालिका रहेको छ ।
‘भौतिक पूर्वाधारका लागि त काम गरि नै रहेका छौं तर अब बाटो र बिजुलीले मात्रै यहाँको समस्या समाधान गर्न सक्दैन भन्ने लागेर उत्पादनका कार्यक्रममै केन्द्रित भएका छौं’– नगर प्रमुख केसी भन्नुहुन्छ– ‘आगामी दश बर्षसम्म गरीबीको डरलाग्दो आँकडा घटाउने र नगरवासीलाई नगरभित्रै बाँच्नसक्ने बनाउने हाम्रो लक्ष्य हो, त्यसका लागि केही रणनैतिक उत्पादनका योजना अघि सारेका छौं, त्यसमध्ये ओखर पनि प्रमुख हो, यो हाम्रो सपनाको मिसन हो ।’
आठबीसकोट नगरपालिकाले देखाउन लायक परियोजनाको रुपमा २५ शैयाको नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सक ल्याएर सेवा शुरु भइसकेको छ ।
कृषि उत्पादनमा जोड दिन थालेपछि केही परिणाम पनि आउन थालिसकेका छन् । नगरभित्रका किसानहरुले गत बर्ष तीन करोडका खसी बोका बिक्री गरेका छन् भने एक करोडको रांगा भैसी बिक्री भएको नगरपालिकासँग तथ्यांक छ । ‘अब दुइ बर्षभित्र दश करोडका खसी बोका र पाँच करोडका रांगा भैसी बिक्री गर्ने योजनाअनुसार सुधारका काम भइरहेका छन्’– नगर प्रमुख केसीले भन्नुभयो ।
आगामी असोज–कार्तिकभित्र सञ्चालन हुने गरी दूध संकलन केन्द्र स्थापना भएको छ, यसमा दैनिक दश हजार लिटर दूध आउने नगरपालिकाको अपेक्षा छ । दुइ बर्षभित्र नगरपालिकाबाट दैनिक बीस हजार लिटर दूध निकासीको तयारीसहित काम भइरहेको छ ।
‘त्यसका लागि दूग्ध कम्पनीहरुसँग छलफल पनि भइरहेको छ’– नगर प्रमुख केसीले भन्नुभयो– ‘दैनिक बीस हजार लिटर दूध पालिकाबाट बाहिर निकासी गर्न सकिन्छ भन्ने विश्वासमा छौं, त्यसो गर्दा एकातिर मल पाएर जमीनको उर्भराशक्ति बढ्नेछ भने अर्कोतिर किसान पशुपालनमा आकर्षित भएपछि राँगा भैसी बिक्रीको क्रम पनि बढ्ने छ ।’ पशुपालनका लागि अहिले भकारो, गोठ ब्यवस्थापनदेखि घाँस खेतीको काम पनि शुरु गरिएको छ ।
वनतर्फ प्लाइ उद्योगको काम भइरहेको छ भने झण्डै ११ करोडको लगानीमा ‘कर्णाली बेभ्रेज’ जुस उद्योग स्थापना गरिएको छ । सार्वजनिक निजी साझेदारीमा सञ्चालित यो उद्योगबाट जुस, मिनिरल वाटर, वाइन र ब्राण्डेट रक्सी उत्पादन गरी निर्यात गर्ने पालिकाको तयारी छ । त्यसका लागि अंगु र किबी खेती पनि शुरु गरिएको छ भने एक सय टन क्षमताको कोल्ड स्टोर पनि नगरपालिकाले बनाइरहेको छ ।
‘विकासका नाममा भौतिक पूर्वाधारलाई मात्रै जोड दिंदा बाटो त बन्ला तर त्यो बाटोहुँदै हजारौं युवाहरु भारत र खाडी जाने कारुणिक अवस्था नसुधार्दासम्म विकासले पूर्णता पाउँदैन’– नगर प्रमुख केसीको सपना छ– ‘५१ प्रतिशत गरीबीको रेखामुनि रहेका नगरवासीको घरमा सजिलै रोटी पाक्ने, भोटी फेर्ने र केटाकेटी पढाउने अवस्थासम्म सिर्जना गर्ने मेरो सपना हो, त्यसमा नगर निन्तर लागेको छ, हामी काम मात्रै होइन सार्थक परिणामको खोजीमा छौं ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।