• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्धमा बचेको कुमारीको एउटा आँखाः जो पीडा पोख्ने माध्यम बनेको छ




दाङको बंगलाचुली २ की कुमारी नेपाली सानै उमेरमा जनयुद्धमा होमिनुभयो । ‘मुक्ति या मृत्यु’को कसम खाएर जनयुद्धकै लड्दालड्दै उहाँ घाइते हुनुभयो र एउटा आँखा गुमाउनुभयो । त्यतिबेलासम्म पनि उहाँलाई गर्ब नै थियो किनकि उहाँ महान जनयुद्धको घाइते बन्न पाउनुभएको थियो । राजनीतिक क्रान्तिका लागि एउटा आँखा नै बलिदान गर्दा पनि कुमारी उर्फ कमरेड सामनाको उमंग कम भएको थिएन र लडि नै रहनुभयो ।

तर, ती दिन सम्झना उहाँलाई आजभोलि भने के गरिएछ गरिएछ जस्तो लाग्छ । आँखा गुमाएका कारण शरीर अशक्त भएको र काम गर्न पनि समस्या हुन्छ । जनयुद्ध सकियो, शान्ति सम्झौता भयो, संविधानसभाहुँदै मुलुक गणतन्त्रमा गयो र उहाँले आदर्श मानेका कयौं नेताहरु पटकपटक सत्तामा पुगे । उनीहरुको जीवन बदलियो, साथसंगत बदलियो । नेताहरु उद्योगधन्दाका मालिक बने ।

घर नभएका नेताहरुका घर बने, प्रायः माथिल्लो तहका नेताहरु चिल्ला गाडीमा चढ्न थाले तर कुमारीको भागमा पर्यो केवल पीडा मात्रै । तर, त्यही पीडा व्यक्त गर्न पनि धित मरुञ्जेल रुनका लागि उहाँसँग दुइ आँखा छैनन् । विगत सम्झदै, वर्तमानसँग जाँज्दै बचेको त्यही एउटा आँखाबाटै अश्रुधारा निकाल्नुहुन्छ र भक्कानिएर रुनुहुन्छ ।

तीन बालबच्चाकी आमा कुमारीलाई परिवारको जोहो र सन्तानको शिक्षादीक्षाको पिरलोले सताएको छ । त्यही पनि गत आर्थिक बर्षसम्म उहाँले मासिक छ हजार दुइ सय रुपैयाँ जीवन निर्वाह भत्ता पाउँदै आउनुभएको थियो ।

‘यो बर्ष त्यही भत्ता पनि कटाइदियो रे, अब के खाएर बाँच्ने हो, कसरी छोराछोरी हुर्काउने हो ?’– आँसुका धारासहित भक्कानिदै उहाँले भन्नुभयो– ‘युद्धको बेलामा नेताहरुले सबै जिम्मा लिन्छौं भन्थे र तर अहिले उनीहरु फर्कि आउँदैनन्, हामीले नै लडेर ल्याएको दुइ तिहाइको सरकारले पाउँदै आएको जीवन निर्वाह भत्ता पनि काटिदिएपछि अब कसरी बाँच्ने ?’

उहाँजस्तै पीडा बोकेर दाङमा मात्रैसाढे सात सय घाइते अपांग बस्छन् । तर, को कहाँ बस्छन्, के खान्छन्, स्वास्थ्य अवस्था कस्तो छ, छोराछोरी कसरी हुर्काएका छन्, न हिजो युद्ध लडाउने पार्टीका नेताहरुलाई नै चासो छ, न त्यही युद्धबाट प्राप्त भएको गणतन्त्र नेपालको हदकार बनेको सरकारलाई नै चासो छ ।

साढे सात सयमध्ये धन्न २२ जनाले जीवन निर्वाह भत्ता पाउँदै आएका थिए र जेनतेन गुजारा चलाएका थिए । अहिले त्यही भत्ता पनि सरकारले रोकिदिएको भन्दै उनीहरु छटपटिमा छन् । जनक्रान्तिका घाइते तथा अपांग यौद्धा संगठनले बिहीवार देशभरिकै जिल्ला प्रशासनमार्फत गृहमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपज्ञ पठाएको छ ।

्दाङमा पनि प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पठाइएको जनक्रान्तिका घाइते तथा अपांग यौद्धा संगठन दाङका संयोजक खगेश्वर घर्तीले जानकारी दिनुभयो । ‘छुटेका घाइतेहरुलाई राहतमा समेट्न माग भइरहेको बेला सरकारले पाइरहेका साथीहरुको पनि राहत हटाउन खोजेपछि हामी बिरोधमा उत्रिएका छौं’– उहाँले भन्नुभयो– ‘हामीसँग बसेर छलफल गरौं र सहमति गरौं भन्दा नसुनेर सरकारले एकतर्फीरुपमा राहत काट्ने निर्णय गरेको छ, यसको बिरोधमा हामी चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं ।’

Facebook Comments