जीवनको अधिकांश उमेर शिक्षण पेशा र सामाजिक सेवामा समर्पित गरेकी रुकुमपश्चिम मुसीकोट नगरपालिका ९ होल्तारा निवासी पूर्वशिक्षिका ५९ बर्षीया करुणा ओली खड्काको निधन भएको छ ।
काठमाडौंको चिरायू अस्पतालमा उपचारकै क्रममा मंगलवार विहान उहाँको निधन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्य, अखिल नेपाल महिला संगठन क्रान्तिकारीकी पूर्व जिल्ला सदस्यसमेत रहनुभएकी करुणाको पार्थिव शरीरमा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको हो । उहाँको अन्त्येष्टिमा राजधानीमा रहेका रुकुमका ठूला संख्यामा नेता कार्यकर्ता र शुभेच्छुकको उपस्थिति रहेको थियो ।
करुणाको निधनसँगै साविक चौखावाङले शैक्षिक क्षेत्रको एउटा खम्बा गुमाएको छ । चुन, हिललगायतका विद्यालयमा अध्यापन गरेकी उहाँलाई शैक्षिक वृत्तमा ‘करुणा मेडम’ भनेर चिन्थे भने स्थानीयले ‘होल्तारा मेडम’ भनेर सम्वोधन गर्थे ।
जनयुद्धकालमा भरपर्दो सेल्टर मात्र उहाँले दिनुभएन आफै महिला संगठनको जिल्ला सदस्य र शिक्षक संगठनको सल्लाहकारको रुपमा रहनुभयो ।
श्रीमान चन्द्रबहादुर ओली ‘उद्धव’ले जनयुद्धकालमै स्थानीय पार्टीको नेतृत्व गर्नुभएको थियो भने अहिले नेकपा मुसीकोट ९ को वडाध्यक्ष हुनुहुन्छ । छोरा रबिप्रकाश ओली युवा संगठनमा आबद्ध हुनुभएको थियो । छोरीहरु मञ्जु र अञ्जुले पनि आ–आफ्नो क्षेत्रबाट सामाजिक काममा योगदान पुर्याइरहेका छन् ।
यसैबीच नेकपा मुसीकोट ९ का इञ्चार्ज शशिराम पुन, सहइञ्चार्ज नवीन ओली र सचिव खड्क केसीले शोक वक्तव्यमार्फत शोक व्यक्त गर्नुभएको छ ।
‘ नेकपाकी पार्टी सदस्य, अनेमसंघकी पूर्व जिल्ला सदस्य तथा समाजसेवी नेकपा नगर पार्टी कमिति सदस्य तथा मुसिकोट नगरपालिका वडा न ९ का वडा कमिटी अध्यक्ष चन्द्रबहादुर ओलीकी श्रीमती तथा पूर्व वाइसिएल नेपालका जिल्ला सदस्य रबिप्रकाश ओलीकी ममतामयी आमा करुणा खड्का ओलीको ५९ वर्षको अल्पायुमै भएको असामयिक निधनले हाम्रो पार्टीलाई अतुलनीय क्षेति पुगेको छ र हामीलाई स्तब्ध बनाएको छ’– शोक वक्तव्यमा भनिएको छ । मृतकप्रति श्रद्धाञ्जली दिंदै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।