• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
थबाङलाई कम्युनिष्ट बनाउने क्रान्तिकारी नेताको निधन





पुराना कम्युनिस्ट नेता तथा पूर्व सांसद बर्मन बुढामगरको आज निधन भएको छ । बुढाको उपचारको क्रममा आज विहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० वर्षको उमेरमा निधन भएको थियो ।

बिहान १० बजे पशुपति आर्यघाट पुगेर उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख अग्नि सापकोटा, गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्ती, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, वनमन्त्री शक्ति बस्नेत, नेकपा क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य ‘किरण’ र सीपी गजुरेल नेकपा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’लगायतका नेता श्रद्धाञ्जलीका लागि आर्यघाट पुगेका थिए ।

उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा र नेकपा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर बुढाप्रति श्रद्धाञ्जली व्यक्त गरे । श्रद्धाञ्जलीका लागि सयौँ नेता कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् ।

वि.स. १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका बुढा नेपाली कम्युनिष्ट आन्दोलनमा एक आदर्श व्यक्तित्वको रुपमा चिनिन्छन् ।

बुढा २०४८ सालमा रोल्पाको क्षेत्र नं. १ बाट तत्कालीन जनमोर्चाको तर्फबाट सांसद निर्वाचित भएका थिए । त्यसअघि उनी थबाङको मुखिया, प्रधानपञ्च समेत थिए ।

माओवादी जनयुद्धको केन्द्र मानिने थबाङका बुढामगर रोल्पामा कम्युनिष्टको जननी मानिन्छन् । बुढा राष्ट्रका लागि महत्वपूर्ण योगदान गरे बापत दुई वर्षअघि राष्ट्रपतिबाट विभुषित भएका थिए ।उनका तीन छोरा तीन छोरी, नाति, नातिनी लगायत छन् ।

बुढा पेटको क्यान्सरबाट पीडित थिए । अघिल्लो वर्ष क्यान्सर पुष्टि भएपछि नियमित उपचारमा रहेका उनलाई बढी अप्ठ्यारो भएपछि केही दिन अघि पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

Facebook Comments