• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालमा दिगो विकास एक अवधारणा





विकास र दिगो विकास शव्द पारस्परिकरुपमा प्रयोग भए पनि यी दुइ शव्दहरुमा निकै गहन भिन्नता रहेको पाइन्छ । विकास शव्द विश्वव्यापी रुपमा लोकप्रिय बन्दै आइरहेको पाइन्छ । विकास शब्दको व्याख्या दोस्रो विश्वयुद्धपछि अलि विकसीत रुपमा भएको पाइन्छ । परम्परागत रुपमा विकासलाई अलि बढी आर्थिक परिधिभित्र मात्र रहेर विश्लेषण गरेको पाइन्छ । आधुनिक दृष्टिकोणमा विकास शब्दलाई आथिैकबाहेक अन्य क्षेत्रहरु जस्तै उत्पादन, रोजगार, पर्यावरण, संस्कृति गरिबी इत्यादी समेत समेटेर व्याख्या गरेको पाइन्छ ।


बास्तवमा विकास एक गतिशील प्रकृया हो । परम्परागत रुपमा प्रतिब्यक्ति आम्दानीमा बृद्धि तथा यससँग सरोकार राख्दै देशको आयआर्जनमा बृद्धि हुने प्रकृयालाई विकास भनेर व्याख्या गरिन्थ्यो । आधुनिक दृष्टिकोणमा विकासलाई आर्थिक तथा सामाजिक, सांस्कृतिक, पर्यावरण, समृद्धि, गुणात्मक जीवनशैलीका साथसाथै स्वस्थ वातावरणसँग जोडेर हेरिने गरेको छ । यस अर्थमा वास्तबिक विकास भनेको आर्थिक बृद्धि मात्र नभइ समग्र समाजको विकास तथा समुन्नति हुनु हो । यसै सन्दर्भमा सामुदायिक विकास, ग्रामीण विकास र दिगो विकाससम्वन्धी अवधारणाहरु पनि जोड्न अपरिहार्य देखिन्छ ।
सामुदायिक विकास भनेको समग्र समुुदायको समुन्नत जीवनशैलीका निम्ति अघि बढ्ने एक प्रकृया हो, जसमा समुदायका मानिसले गर्छन र आ–आफ्ना समस्या सुल्झाउँछन । यसरी गरिने विकासमा सामुदायिक श्रोत तथा साधनहरुको अधिकतम प्रयोग गरिनुका साथै समुदायबाहिरका सरकारी एंव गैह्रसरकारी निकायबाट आवश्यक श्रोत तथा साधनहरु जुटाउने अधिकतम प्रयास गरिन्छ । सामुदायिक विकासले समुदायको जीवनमा एकीकृत रुपमा हुने गुणात्मक विकासलाई औल्याउँछ । सैद्धान्तिकरुपमा समुदाय नै विकासको उत्पादक, बिश्लेषक, गुरु, कार्यकर्ता हुनुपर्ने कुरामा जोड दिइएको छ ।

यसै सन्दर्भमा भौगोलिक, सांस्कृतिक र आर्थिक आधारमा विश्वमा भिन्नभिन्न प्रकारका समुदायहरु बसोवास गरेको पाइन्छ । भिन्नप्रकारको समुदायको विकासमा भिन्नै आवश्यकता, भिन्नै रुचि र भिन्नै योगदान रहने गर्दछन् । विकसित देशको तुलनामा अनेक दृष्टिले कमजोर रहेका देशहरुलाई कमविकसित देशको रुपमा व्याख्या गर्ने गरेको पाइन्छ । कम विकसित देशहरुमा आर्थिक सामाजिक संरचना विकास तथा समुन्नतिको अवस्था आबश्यकताको तुलनामा कमजोर हुन्छ । पुूँजीगत साधनको अपर्याप्तता रहन्छ ।


यी देशहरुमा प्राकृतिक साधन तथा श्रम शक्ति पर्याप्त मात्रामा भए पनि पूँजीगत साधनको अभावका कारण ती प्राकृतिक श्रोत तथा श्रम शक्तिको सही सदुपयोग हुन सकिरहेको हुदैन । यही प्रमुख अवस्था नै कम विकसित देशको आर्थिक विकासको बाधकका रुपमा रहेका हुन्छन । कम विकसित एंव विकासउन्मुख राष्ट्रहरुमा ग्रामीण क्षेत्रको बाहुल्यता हुन्छ । जसका कारण ती देशहरुमा सामुदायिक विकासलाई विकासको प्रतिष्पर्धामा पछाडि रहेका नेपालजस्ता राष्ट्रहरुको आर्थिक विकास तथा समुन्नतिका लागि ग्रामीण विकास महत्वूर्ण एजेण्डाको रुपमा लिइएको छ ।

कतिपय सन्दर्भमा ग्रामीण विकासलाई कृषि क्षेत्रको विकास तथा समृद्धिसँग जोडेर व्याख्या गर्ने गरिएको पाइन्छ । तर, त्यतिले मात्र ग्रामीण विकासको सम्पूर्ण अर्थ समेट्न नसक्ने हुँदा ग्रामीण विकासलाई एक बहुआयामीक पक्षका रुपमा विश्लेषण गरिन्छ । जसले कृषि, ग्रामीण उद्योगहरु, आर्थिक सामाजिक पूर्वाधारहरु, सामुदायिक सेवा तथा सुविधाहरुका साथ साथै ग्रामीण क्षेत्रमा विद्यमान मानवीय श्रोत साधन पनि पर्दछन । नेपालमा अधिकांश मानिस ग्रामीण क्षेत्रमा बसोवास गर्दछन । उनीहरुको आर्थिक तथा सामाजिक कृयाकलाप सदियांैदेखि अस्तित्वमा रहेका परम्परागत प्रकृतिका छन् । तिनीहरुमध्ये कतिपय आर्थिक तथा सामाजिक विकासका लागि वरदान सावित भएका छन् भने कतिपय अवरोधका रुपमा रहेका छन्, यस अवस्थामा नेपालमा ग्रामीण क्षेत्रमा समाजको रुपान्तरण, आम्दानीमा बृद्धि, जीवनस्तरमा सुधार आदिका लागि ग्रामीण विकास अपरिहार्य छ ।


नेपालमा वर्तमान समयमा ग्रामीण विकासका विभिन्न कार्यक्रम सशक्तरुपमा अगाडि बढेका देखिन्छन् । अझ नेपालको ग्रामीण क्षेत्रमा विकासका लहरहरु पर्याप्तरुपमा नै अगाडि बढिरहेका देखिन्छन् । समाजमा केही व्यक्तिले यसलाई ‘डोजरे विकास’ भन्न रुचाएको पनि पाइयो । यस सन्दर्भमा दिगो विकाससम्वन्धी छलफल र विश्लेषण सामान्य अर्थमा विकासका कामहरु दिगोसम्म प्रतिफल आउने गरी आउनु नै दिगो विकास हो । अर्काे शव्दमा भन्दा मानिसको जीवनस्तरमा सुधार ल्याउने र लामो समयसम्म सन्तुष्ट राख्नसक्ने विकासलाई समष्टिगतरुपमा दिगो विकास भनिन्छ ।


भविष्यका सन्ततिको समेत प्राकृतिक श्रोत र साधनको आवश्यकता पूर्ति गर्ने अधिकार सुनिश्चित गर्दै वर्तमान आवश्यकता पूर्ति गर्नका निम्ति गरिने विकासलाई दिगो विकास भनेर बुझ्न सकिन्छ । अहिलेको समयमा तीव्र विकासको नाममा भइरहेको चुरे र नदी नालाको दोहन पक्कै पनि विकासप्रतिको तीब्र चाहना र प्राकृतिक श्रोतप्रति बेवास्ताको उपज हो । यही गतिमा चुरे तथा नदी नालाहरुको दोहन अगाडि बढ्ने हो भने विभिन्न प्राकृतिक प्रकोपको शिकार हुने र भावी सन्ततिले यी प्राकृतिक श्रोत तथा साधनको प्रयोग गर्ने अधिकारमा प्रश्नचिन्ह खडा हुनेमा दुइ मत नहोला ।
बढी उत्पादनको नाममा कृषिमा हाइव्रीड बीउ विजन, रासायनिक मल, किटनाषक दवाइको अत्यधिक प्रयोगले वातावरण विषाक्त बन्दै गइरहेको छ भने कृषि माटोको गुणस्तर खत्तम हुँदै मृत अवस्थामा पुग्दैछ । यसले एकातिर रैथाने बालीलोप हुदै गइरहेको छ भने अर्काेतिर मन्दविषयुक्त खाद्यबाली खान विवश बनाइरहेको छ । त्यसैले दिगो विकासले अर्गानिक खेती गरी उत्पादन बढाउन माग गर्दछ ।


प्राकृतिक साधनहरु सीमित छन् । कतिपय प्राकृतिक साधनहरुको मात्रा बढाउन सकिदैन भने बढाउन सकिने प्राकृतिक श्रोत साधन पनि सजिलै बढाउन सकिदैन । तसर्थ प्राकृतिक श्रोतहरुको बुद्धिमतापूर्ण उपयोग गर्न सकेको खण्डमा भविष्यका सन्ततिको अधिकार सुनिश्चित गर्नुका साथै दिगो विकास हासिल गर्न सकिन्छ । वातावरणीय सन्दर्भमा दिगोपनाले पर्यावरणीय प्रणालीको गतिशिलता विचार गरी प्राकृतिक श्रोतको विनास नहुने गरी तिनको उपयोग गर्नु भन्ने जनाउँछ । प्रकृतिको सहनशीलता तथा मान्यताका आधारमा अगाडि बढाइने विकास प्रकृया नै समष्टिगत रुपमा दिगो विकासको प्रकृया हो ।


मूलतः दिगो विकास एक निरन्तर प्रकृयाको रुपमा रहेको हुन्छ । यसको उपलब्धिका लागि विभिन्न क्षेत्रहरुको प्रयास आवश्यक हुन्छ । समुदाय, व्यवसायिक, समूह, राष्ट्र तथा अन्तराष्ट्रिय परिवेशसमेत उपयुक्त भएमा मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ । सन् १९९२ मा रियो दि जेनेरियोमा सम्पन्न वातावरण र विकाससम्वन्धी संयुक्त राष्टसंघीय विकास सम्मेलनले दिगो विकास प्राप्त गर्नका लागि वातावरण संरक्षणलाई विकास प्रयासको एकीकृत अंगको रुपमा लिनुपर्ने र वातावरण संरक्षणविना दिगो विकासको लक्ष्य प्राप्त नहुने कुरा उल्लेख गरेको छ । यसै समयदेखि दिगो विकास एक विश्वव्यापी एजेण्डा पनि बनेको छ । तत्पश्चात नेपालमा पनि दिगो विकास हासील गर्नका निम्ति विभिन्न नीति तथा कार्यक्रममार्फत प्रयासहरु निरन्तर रुपमा अगाडि बढेका छन् ।

ग्रामीण क्षेत्रको विकासका सन्दर्भमा अनेक प्रकारका समस्या आउने र तिनको समाधानविना विकास कार्यलाई अघि बढाउन नसकिने हुनाले कार्यान्वायन व्यवस्थालाई बैज्ञानिक, समय सापेक्ष तथा आवश्यकताअनुकूल बनाउनु जरुरी छ । यसै सन्दर्भमा पर्यापर्यटनलाई पनि ग्रामीण विकाससँग नै जोडेर दिगो विकासको आधारशीला तयार गरेर ग्रामीण क्षेत्रको पहुँच बढाउनका लागि कार्यान्वायन व्यवस्थालाई ग्रामीणमुखी बनाउनु आवशयक छ ।
(लेखक जैविक विविधता विशेषज्ञ हुनुहुन्छ ।)

Facebook Comments