रुकुम (पूर्व)मा तीन स्थानीय तहमध्ये दुई स्थानीय तहले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गरेका छन् । भने एक स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रमसँगै बजेट गाउँसभामा पेश गर्न सकेन ।
भूमे र सिस्ने गाउँपालिकाले नीति तथा कार्यक्रम सहित बजेट गाउँसभामा पेश अर्थात प्रस्तुत गरेका छन् भने पुथाउत्तरगंगा गाउँपालिकाले आन्तरिक विविध समस्या देखाउदै प्रस्तुत गर्न नसकेको जनाएको छ ।
स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनअनुसार असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट पेश गर्नु पर्ने संवैधानिक प्रावधान रहेको छ ।
गाउँपालिका अध्यक्ष काठमाण्डौँमा उपचारत हुनु भएको र वडा नम्बर ७ का वडाध्यक्ष पनि उहाँको परिवार घरको छतबाट लडेर गम्भिर घाइते हुनुभएकोले उहाँको उपचारको लागि काठमाण्डौँ नै हुनुभएकोले १० गते नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश हुन नसकेको पुथाउत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो । ‘सबै तयारी पूरा भइसकेको छ’ उहाँले भन्नुभयो –‘उहाँ द्वय अध्यक्ष फर्किने वित्तिकै गाउँसभामा आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट पेश हुन्छ ।’
भूमे र सिस्नेले भने १० गते गाउँसभामा पेश गरिएको बजेट माथि आन्तरिक छलफल गर्न १५ दिन कार्यतालिका अनुसार छलफलमा जुटेका छन् । असार मसान्त सम्ममा बजेट पास गर्नुपर्ने हुन्छ त्यसैअनुसार १५ दिनपछि गाउँसभाले बजेट पास गर्न नसकेमा पाँच दिन म्याद थप गरी सुझाव सहित कार्यपालिकामा पठाउने सक्ने व्यवस्था रहेको छ ।
सिस्नेले ४९ करोड ६६ लाख ५ हजार बजेट पेश
आगामी आर्थिक वर्षको लागि सिस्ने गाउँपालिकाले ४९ करोड ६६ लाख ५ हजार ९५ रुपैयाँ बजेट गाउँसभामा पेश गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक गोवद्र्धन बुढा मगरले बुधबार कुल विनियोजनमध्ये चालु तर्फ ३० करोड ६६ लाख ५९ हजार ५ सय र पूँजीगततर्फ १८ करोड ९९ लाख ४५ हजार ५ सय ९५ रहेको बजेट गाउँसभामा पेश गर्नु भएको हो ।
यस्तै आगामी आर्थिक वर्षका लागि अनुमान गरिएका खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट एक करोड तीन लाख, वित्तिय समानीकरण अनुदानबाट ११ करोड ३८ लाख ९२ हजार, सशर्त अनुदानबाट २३ करोड पाँच लाख ५० हजार र अन्यबाट चार करोड ४० लाख ८९ हजार ६ सय ७५ हुने प्रक्षेपण गरिएको छ । सिस्नेको गत वर्षको भन्दा १० करोडको हाराहारिमा बजेट बृद्धि हुनेभएको गाउँपालिकाले जनाएको छ ।
भूमेले ५१ करोड २६ लाख ८४ हजार ८ सय पेश
भूमे गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ५१ करोड २६ लाख ८४ हजार ८ सय रकम बराबरको बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक मनकुमारी बुढा (विष्ट)ले बुधबार गाउँसभामा बजेट पेश गर्नुभएको कुल विनियोजनमध्ये चालुतर्फ ३० करोड ६८ लाख ४१ हजार अर्थात ५९ दशमलव ८५ प्रतिशत र पूँजीगत तर्फ २० करोड ५८ लाख ३३ हजार आठ सय अर्थात ४० दशमलव १४ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजश्वबाट ४६ लाख ३० हजार, राजस्व बाँडफाँड बाट ८ करोड ४ लाख ७ हजार तथा गत वर्षको अनुमानित मौज्दात ६ करोड गरी आन्तरिक आयबाट जम्मा १४ करोड ५० लाख ३७ हजार अर्थात २८ दशमलव २८ प्रतिशत, वित्तीय समानीकरण अनुदानबाट ११ करोड ५६ लाख एक हजार अर्थात २२ दशमलव ५४ प्रतिशत, सशर्त अनुदानबाट १९ करोड १४ लाख ५० हजार अर्थात ३७ दशमलव ३४ प्रतिशत र स्थानीय जनसहभागिताबाट ५० लाख ३६ हजार आठ सय अर्थात शून्य दश ९८ प्रतिशत स्रोत व्यहोरिने पालिकाले जनाएको छ ।
यसैगरी अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड तथा आन्तरिक आय परिचालन गर्दा पनि नपुग हुने रकम ५० लाख आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ । भूमेको गत वर्षको भन्दा अहिलेको बजेट १५ करोडको हाराहारिमा बृद्धि हुने देखिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।