प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले खाम मगरको मुख्य सांस्कृतिक पर्व भूमेको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत सबैमा शुभकामना दिनुभएको हो ।
प्रस्तुत छ मुख्यमन्त्री पोख्रेलको शुभकामना सन्देशः
भूमे पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त खामभाषी मगर समुदाय लगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिकोे हार्दिक शुभकामना व्यक्त गर्दछु ।
रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने भूमे पर्व हाम्रो प्रदेशको विशेष सांस्कृतिक पर्व हो । विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले समाजमा एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका खेलेका छन् ।
भूमे पर्व मार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको छ । खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको छ । त्यसका साथै भूमे पर्व प्रकृतिसंग सम्बन्धित छ । यसले प्रकृति र मान्छेबीचको गहिरो सम्बन्ध उजागर गरेको छ । प्रकृतिले हामीलाई दिएका अमूल्य उपहार माटो,पानी,जीवजन्तु र रुखविरुवाको संरक्षण र सही उपयोग गर्न सक्दा मात्रै हाम्रो जीवन सरल र सहज रुपमा अघि बढ्न संभव छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासमा जोड दिएको छ । अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको छ । प्रदेश सरकारले भूमे पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज असार १ गते रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको छ । लोकतन्त्रलाई सबै समुदाय र वर्गका नागरिकको जीवनपद्दती बनाउन खोजिएको छ ।
मुलुक यतिखेर संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढेको छ । तीन तहका सरकारले संवैधानिक व्यवस्था अनुसार तहगत सरकारको अभ्यास गरी संविधानको व्यवहारिक कार्यान्वयन गर्दै अघि बढेका छन् । संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्ने छ । संविधान कार्यान्वयन गर्दै सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढेको छ । विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामुलक समाज निर्माणका लागि हामी प्रतिबद्ध रहँदै अघि बढेका छौं । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकास मार्फत समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य लिएको छ ।
यतिबेला हामी कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा केन्द्रित छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको छ । यो संकटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं, सबैको सार्थक सहयोगले नै महामारीलाई जित्न सकिन्छ ।
अन्त्यमा, भूमे पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७७ असार १
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।