नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले मुलुक र मुलुकवासीको आवश्यकता पूरा गर्न र राजनीतिकरुपले आर्थिक सामाजिक रुपान्तरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम आएको भनी स्वागत गर्दै समर्थन जनाउनुभएको छ ।
राष्ट्रियसभामा आव २०७७/७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै उहाँले देश र विश्वकै विशिष्ट परिस्थितिलाई ध्यान दिएर गर्नुपर्ने मुख्य काम नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुुभएको थियो ।
नेता श्रेष्ठले भन्नुभयो, “नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितलाई केन्द्रविन्दुमा राखेर नेपाल सरकार अघि बढ्ने प्रतिबद्धतालाई जोडदाररुपमा समेटिएको छ ।” केही समयदेखि महाकाली क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएकामा उक्त भूमि फिर्ता र प्राप्त गर्न ठोस पहलकदमी गर्ने र नेपालको नक्सामा छुट हुन गएका भूभागलाई सामेल गरेर नेपालको नक्सा प्रकाशित गर्ने ऐतिहासिक निर्णय नीति तथा कार्यक्रममा उद्घोष गरेको जनाउँदै उहाँले ‘सरकारको ऐतिहासिक कदमप्रति धन्यवाद ज्ञापन गर्नुपर्छ’ भन्नुभयो ।
समाजोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै अझै विकसित तुल्याउँदै कार्यान्वयनमा लैजान ठोस मार्गचित्र अघि बढाएको बताउँदै नेता श्रेष्ठलाई लोकतन्त्रलाई अझै जनमुखी र प्रभावकारी बनाउनुपर्छ भन्नेमा सरकार दत्तचित्त रहेको धारणा प्रकट गर्नुभयो ।
नेपाललाई कोभिड–१९ महामारीमुक्त देश बनाउनु सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उहाँले सचेतना फैलाउने र सजगता अपनाउन, क्वारेन्टाइन र परीक्षणलाई व्यापक बनाउने, उपचारका लागि स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्नेजस्ता विषय नीति तथा कार्यक्रम समेटिएको बताउनुभयो ।
हरेक सङ्कट राष्ट्र निर्माणका लागि अवसरमा परिणत गर्न सकिन्छ भनेर रोजगारी, उत्पादन क्षेत्र, औद्योगिक विकास र कृषि क्षेत्रको विकासलाई जोड दिइएको बताउँदै नेता श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयमा सबै शक्ति एकजुट हुन आह्वान गर्नुभयो ।
नीति तथा कार्यक्रमलाई सङ्क्षेपीकरण गर्न, तत्कालीन आवश्यकताले सिर्जना गरेको सोचअनुसारको विकास ढाँचा अघि बढाउन, समाजवादोन्मुख विकास ढाँचा बनाउन, प्राथमिकतालाई अझै मूर्त र ठोस बनाउन, विपद् व्यवस्थापनका कार्यक्रम घोषणा गर्नेजस्ता विषयमा सुधार ल्याउन सकिने सम्भावना रहेको थियो भनी उहाँले सुझाव प्रस्तुत गर्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।