नेपालमा यो शैक्षिक सत्रबाट कक्षा १ देखि नै संस्कृत भाषाको पठनपाठन सुरु गरिने अधिकारीहरूले बताएका छन्।
शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकको संस्कृत विषयको पुस्तक तयार पारेर त्यसलाई मान्यता दिइसकेको जनाएको छ।
पाठ्यक्रम विकास केन्द्रले संस्कृत पठनपाठनका लागि नमूना किताबसमेत तयार पारिसकेको छ।
‘इच्छुक विद्यालयले यही शैक्षिक सत्रदेखि कक्षा १ मा संस्कृत पठनपाठन गर्न सक्नेछन्,’ पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भने, ‘नमूना किताब तयार छ, इच्छुक स्थानीय तहले छपाउन सक्छ।’
कक्षा १ मा पाँच विषय पठनपाठन हुन्छ। नेपाली, अंग्रेजी, गणित र मेरो सेरोफेरो केन्द्रबाट तय भएका पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छन्।
संघीयतासँगै स्थानीय तहमा पनि शिक्षाको अधिकार दिइएको छ। जसअनुसार एक विषय मातृभाषा वा स्थानीय शिक्षा विषय पठनपाठन गर्न सकिन्छ।
‘मातृभाषा वा स्थानीय विषयको पाठ्यक्रम तयार पार्न नसकेका स्थानीय तहले सम्भव छ भने संस्कृत पढाउन सक्छन् भनेर हामीले विकल्पका रूपमा नमूना किताब तयार पारेका हौं। यो स्थानीय तहले गर्नुपर्ने काम केन्द्रले गरिदिएको हो,’ भट्टराईले भने।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत माघ २ मा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले यो शैक्षिक सत्रदेखि कक्षा १ मा संस्कृत पठनपाठनको बाटो खोलिदिएको हो।
केन्द्रले २६ मातृ भाषा विद्यालयमा पठनपाठन गर्न सकिने पनि बताएको छ। यतिमात्र होइन, भाषा आयोगले सरकारलाई गरेको सिफारिसअनुसार केन्द्रले शास्त्रीय भाषालाई पनि विद्यालयमा पठनपाठन गर्न आग्रह गरेको छ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक भट्टराइका अनुसार कक्षा १ का लागि तयार पारिएको ‘अस्माकम संस्कृतम्’ अर्थात् हाम्रो संस्कृत पुस्तकमा विभिन्न १० विषयसँग सम्बन्धित ४६ वटा पाठ रहेका छन्।
पुस्तकमा वर्णज्ञानदेखि सामान्य ज्ञानका विषय राखिएको उनले बताए।
“२२ वटा जति पाठ चाहिँ ‘मेरो परिवार’, ‘मेरो विद्यालय’जस्ता रहेका छन्,” उनले भने, “दैनिक जीवनमा प्रयोग हुने शब्दहरू संस्कृतमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने पनि यसमा सिकाइएको छ।”
उक्त पुस्तकमा संस्कृत शब्दहरूको नेपाली र अङ्ग्रेजी दुईवटै भाषामा अर्थ दिइएका छन्।
उनले भने, “संस्कृतको प्रारम्भिक ज्ञान चाहिँ कक्षा १ मै सिक्न सकून् भनेर डिजाइन गरिएको छ।”
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।