चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बढ्दो विवादप्रति चासो व्यक्त गरेको छ ।
सोही क्रममा चिनियाँ राजदूत हौ यान्छीले शीर्ष नेताहरुसँग भेट गर्नुभएको छ । हिजो प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग दुइ घण्टा भेट गरकी यान्छीले आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ । उहाँले प्रचण्ड निवास खुमटार पुगेर भेट गर्नुभएको हो ।
त्यस्तै राजदूत यान्छीले बरिष्ट नेता माधवकुमार नेपालसँग पनि भेट गर्नुभएको छ । दुइ दिनअघि मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभाग प्रमुख सोङ्ग ताओले वरिष्ठ नेता एवं बिदेश विभाग प्रमुख माधवकुमार नेपाललगायतसङ्ग तीन घण्टा भिडियो कन्फरेन्समार्फत संवाद गर्नुभएको थियो ।
राजदूत यान्छी चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश लिएर नेताहरुकहाँ पुग्नुभएको हो । कोरोना संकटको बेला देश नै एकताबद्ध हुनुपर्ने समयमा नेकपाभित्र विवाद देखिनु दुःखद भएको र नेकपाले यो विवाद चाँडै हल गर्ने चिकपाको विश्वास रहेको चिनियाँ सन्देश उहाँले नेताहरुसम्म पुर्याउनुभएको हो ।
नेपालको समृद्धि र स्थायित्वले चीनमा समेत भूराजनीतिकरुपमा सकारात्मक प्रभाव पार्ने चीनको विश्वास छ । चीनले नेपालमा भरपर्दो र स्थायी शक्ति हुनुपर्ने धारणा राख्दै आएको छ । पछिल्लो समय एमसीसीलगायतका विवाद देखिदा पनि चीनले चासो देखाएको थियो ।
अहिले नेकपाभित्र देखिएको विवादमा पनि पश्चिमा प्रभाव हुनसक्ने र यसले नेपालमा मात्र होइन, चीनलाई समेत नकारात्मक असर पार्नसक्ने चीनको बुझाइ छ । यही सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश लिएर चिनियाँ राजदूतले नेताहरुलाई भेट गर्नु अर्थपूर्ण मानिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।