गत बिहीबार मेरी आमा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जाँचको लागि जानुभएको थियो । फर्केपछि उहाँले भन्नुभयो, ‘कोरोना भाइरस मार्न भनेर गेटमा बसेको कर्मचारीले स्प्रे छर्केर निथ्रुक्कै भिजायो ।’
त्यसपछि मलाई खुल्दुली लागेर चितवनमै रहेका पत्रकार साथीहरुसँग कुरा गर्दा नारायणगढको पुलचोक, जिल्ला प्रहरी कार्यालय, भरतपुर अस्पताल, केही निजी अस्पताल र भरतपुरस्थित कोरोना अस्पतालमै यसो भइरहेको जानकारी पाएँ । चितवनका केही युवा उद्यमीहरुले ‘स्यानिटाइजिङ टनेल’ निर्माण गरी विभिन्न ठाउँमा सप्लाइ गरिरहेको पनि थाहा भयो । सबैजनाले राम्रै नियतले गर्नुभएकोमा कुनै शंका छैन तर यसो गर्नुअघि राम्रोसँग नबुझेर गर्दा फाइदा होइन बरु शरीरलाई नोक्सान गर्नसक्दछ ।
पहिलो कुरा त यस्तो स्प्रे (इथानोल, सोडियम हाइपरक्लोरिट जस्ता भाइरुसाइड) मानव शरीरमाथि प्रयोग गर्न बनेका होइनन् । प्रायः कृषि, भेटिरिनरी, अस्पताललगायतका भाइरसको संक्रमण हुनसक्ने ठाउँका सतहहरुमा र घरेलु प्रयोगको हकमा ट्वाइलेट, बाथरुम सफा गर्न यी केमिकलको प्रयोग हुने गर्दछ ।
विश्व स्वास्थ्य संगठनले ‘मिथ्स बस्टर्स’ वेबसाइटमार्फत जारी गरेको सन्देश
कोरोना भाइरसको नयाँ संस्करण कोभिड–१९ का बारेमा यी र यी जस्ता अफवाहहरुलाई रोक्न विश्व स्वास्थ्य संगठनले ‘मिथ्स बस्टर्स’ वेबसाइट नै सञ्चालन गरेको छ जसले प्रष्टरुपमा अल्कोहल, क्लोरिन (ब्लीच) जस्ता केमिकलहरुले शरीरभित्र रहेको कोरोना भाइरस नमार्ने र उल्टै हानी गर्नेहुँदा यिनीहरुको प्रयोग नगर्न चेतावनी दिएको छ । यसको प्रयोगले उल्टै आँखा, मुख, घाँटी र फोक्सोमा असर गर्नुको साथै छालाका रोगहरु निम्त्याउन सक्छ ।
‘स्यानिटाइजिङ टनेल’मा स्प्रे गरेपछि कोरोनामुक्त भइने गलत विश्वासका कारण नियमित हात नधुने, सामाजिक दूरी कायम नगर्ने खतरा पनि बढ्न सक्छ । पटकपटक यस्ता केमिकलहरुको स्प्रे लिएमा जतिसुकै कम घनत्व भए पनि यसले शरीरलाई असर गर्दछ । कोभिड–१९ को संक्रमण देखिएपछि सुरुमा चीनमा निजी क्षेत्रका उद्योगहरुले यस्तो प्रयोग गरेका थिए ।
त्यस्तै, छिमेकी भारतको तामिलनाडु राज्य सरकारले ठाउँठाउँमा स्थापना गरिएका ‘स्यानिटाइजिङ टनेल’हरु अहिले हटाइसकेको छ । मलेसियामा सरकारले ‘स्यानिटाइजिङ टनेल’ निर्माण गर्न थालेपछि स्वास्थ्यविज्ञहरुले त्यसो नगर्न चेतावनी दिएका छन् । यदि यस्तो प्रयोगले कोभिड–१९ को संक्रमण कम हुने भए अमेरिका, युरोप, बेलायतजस्ता सबैभन्दा प्रभावित देशहरुमा प्रयोग हुने थियो ।
अहिलेसम्मको वैज्ञानिक प्रमाणहरुको आधारमा कोभिड–१९ विरुद्धको लडाइँमा सामाजिक दुरी कायम गर्ने र साबुनपानीले नियमित हात धुने नै सबैभन्दा प्रभावकारी उपाय हो । यस्तो महामारीको बेलामा आमजनता र नीति निर्माता तहमा समेत गलत सन्देशहरु जान सक्छन् ।
नेपालको हकमा भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल मेडिकल काउन्सिल आदि निकायहरुले उपलब्ध वैज्ञानिक प्रमाणहरुको लेखाजोखा गर्नुको साथै विज्ञहरुको सल्लाह लिई यी र यस्ता विषयहरुमा निर्देशिका जारी गर्न ढिलो गर्नुहुँदैन । चितवनको हकमा यस्ता गलत अभ्यासहरुलाई अघि नबढाउन सबैमा अनुरोध गर्दछु । खासगरी चिकित्सक र जनस्वास्थ्थकर्मीहरु यसबारेमा अझै सचेत हुन आवश्यक भएको यो अभ्यासले देखाएको छ ।
(लेखक बेलायतको बोर्नमाउथ युनिभर्सिटीमा जनस्वास्थ्य अनुसन्धानमा संलग्न हुनुहुन्छ ।)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।