‘सामन्ती राजतन्त्रका हामी मलामी, उदाउँदो गणतन्त्रलाई रातो सलामी’भन्दै घोराही ट्राफिक चोकमा लाखौंको सचेत जनसमुदाय, जनमुक्ति सेनाका सिभिल पोशाकमा उपस्थित सयौं योद्धाहरु र हजारौं पार्टी कार्यकर्ताले सामन्ती निरंकुश राजतन्त्रका विरुद्ध जनविद्रोहको भावना उरालेको आज ठिक १४ बर्ष भएछ ।
त्यो दिन विद्यार्थी प्रतिनिधि जीवन हमाल भनेर दिएको मेरो परिचय विद्यार्थी मात्र होइन माओवादीको परिचय थियो । गगनभेदी गणतन्त्रको नारा, घोराहीको त्यो विजयोत्सव, ओहो ! अहिले भर्खर जस्तो लाग्छ । जीवन परिवर्तन र क्रान्तिलाई सुम्पिएको लाखौं योद्धाहरुको त्यो जुलुश । आम जनता नै लोकतन्त्रका योद्धामा बदलिएको त्यो विशाल जनसमर । लाखौंको गगनभेदी आवाजले गुञ्जीएको धर्ति र आकाश, बैसाखको धुपमा प्रत्येक घरका छतबाट गरिएको जलवृष्टी र पुष्पवृष्टी, जसले विजयोत्सवको सन्देश जनजनमा प्रवाहित गरिरहेको थियो ।
जुलुशले निरंकुश राजतन्त्रका विरुद्ध नारा होइन लाभा ओकलिरहेको थियो । जुलुशको बिचबाट कार्यक्रमको मञ्चमा उक्लिदा शरिरका सबै जीवित तन्तु मात्र होेइन रौँ रौं पनि यति उद्देलित थिएकी त्यसको वयान गरि साध्य छैन । नयाँ नेपालको सपना, अग्रमोर्चाका जनता र जनमुक्ति सेनाको नाममा हुने प्रत्येक अभिव्यक्तिमा पुरै मास जुरुक्कै उठ्थ्यो र आकाश गुञ्जाएमान हुन्थ्यो । ओहो ! त्यो उद्देलन, त्यो उल्लास, त्यो महाउत्सब, त्यो उत्सर्गको भावना कति विशाल र सुन्दर थियो । मान्छे गणतन्त्रको लागि सेकेन्ड, सेकेन्डमा आफुलाई बलि चढाउन तयार थियो र त सामन्ती निरंकुशता इतिहासको कुडाकर्कटमा फालियो ।
त्यसअघि माघ २६ गते शाही चुनावको सन्दर्भमा लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको हत्या पनि यही घोराहीमै भएको थियो । यो प्रदर्शन जनयुद्ध र जनआन्दोलनको ‘फ्यूजन’ त थियो नै, बदिलानको कोणबाट पनि जनयुद्धका क्रममा राप्तीका वस्तीहरुमा बगेको हजारौं रगत अनि घोराहीमा उमेश थापाले प्राप्त गरेको सहादतको ‘फ्यूजन’ नै थियो । माघमा घटेको यो घटनाले दाङको राजनीतिक माहोल तातिसकेको थियो ।
आज म सम्पुर्ण क्रान्तिकारी जनसमुदाय, जनमुक्ति सेनाका योद्धाहरु, नेतृत्व जसले मलाई त्यो विजय उद्घोषको वक्ता बनायो, सलाम गर्दछु । हामीलाई विजयको त्यो माहोलमा पुर्याउने महान शहीदहरुमा हार्दिक सम्मान तथा अभिवादन ।
ज्ञानेन्द्र शाहीका विरुद्ध जनताको निर्णायक संघर्ष चुलिदै गएको थियो । सात राजनैतिक दल र नेकपा(माओवादी)ले १२ बुँदे सम्झौताको मर्म अनुसार नै फौजी तथा गैरफौजी अर्थात् जनयुद्ध र जनआन्दोलनको संयुक्त मोर्चाबाट सामन्ती निरंकुश राजतन्त्रमाथि प्रहार केन्द्रीत गरेका थिए ।
जनआन्दोलनमा हाम्रो कार्यक्षेत्र राप्ती अर्थात तत्कालीन केन्द्रीय आधार इलाकामा थियो । म त्यो क्षेत्रको अखिल(क्रान्तिकारी) को संयोजकको भुमीकामा थिएँ । पार्टीको चुनबाङ बैठक पछि चुनबाङमै बसेको संगठनको केन्द्रीय कार्यालयको बैठकले मेरो कार्यक्षेत्र सेती महाकालीबाट केन्द्रीय आधार इलाकामा तोक्यो र म बैठकबाट पश्चिम नफर्किएर राप्तीको योजना निमार्ण र कार्यान्वयनमा जुटे ।
विद्यार्थी मोर्चाको जिम्मा भएकोले स्वाभाविक रुपमा म दाङ केन्द्रीत भएँ । पुर्णबहादुर सिंह, रत्न महरा, तिलकराज भण्डारी लगायतका विद्यार्थी नेताहरु विभिन्न जिल्लाको जिम्मामा खटिरहनु भएको थियो भने दाङमा खुसिराम चौधरी लगायतका साथीहरुले मलाई सघाईरहनु भएको थियो । हामीले ०६२ फागुनको स्ववियुलाई गणतन्त्रको मुद्धामा केन्द्रीत गर्यौं ।
अखिलका सबै धारा र नेविसंघलाई गाउँमा बोलाएर महेन्द्र बहुमुखी क्याम्पस लगायतका क्याम्पसहरुमा संयुक्त स्ववियु निमार्णको सहमति गर्यौं । क्याम्पस चिफ तथा प्रशासनका सरहरुलाई गाउँमै बोलाएर स्ववियु पदाधिकारी टुङ्गो लगाएर घोषणा गरायौं । यो हाम्रो गणतान्त्रिक स्ववियु निर्माणको अनौठो तरिका थियो । क्याम्पसमा स्ववियुको भव्य घोषणासभा सम्पन्न भए । यसले स्ववियु सम्पुर्ण रुपले गणतन्त्रको एजेन्डा र योजनामा आईपुग्यो ।
दाङको ग्रामीण क्षेत्रलाई आधार बनाएर जनआन्दोलन र जनयुद्धलाई जोडेर उत्कर्षमा पुर्याउने योजना तथा गतिविधि अघि बढे । त्यतिबेला केन्द्रीय आधार इलाकाको इन्चार्ज क.विप्लब हुनुहुन्थ्यो भने पाँचौ डिभिजन कमिश्नार क.सुर्दशन हुनुहुन्थ्यो । क.विप्लबको संयोजनामा दाङको सैघा लगायतका ग्रामिण क्षेत्रमा राजनैतिक दल तथा नागरिक समाजका अगुवाहरुसँगको छलफल अघि बढ्यो । जनआन्दोलनको करिब एक महिना पहिले साविक नेकपा(एमाले)का राप्ती अञ्चल इन्चार्ज क. प्रकाश ज्वाला (उहाँ हाल नेकपाको कर्णाली प्रदेश सहइन्चार्ज र प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्छ)सँग क. विप्लब, म र दाङ जिल्ला सेक्रेटरी क. डायमण्ड बसेर छलफल गर्यौं ।
योजना निमार्णको अबधिमा हामीलाई पार्टी कमाण्डको तर्फबाट क. देब गुरुङले मार्गनिर्देशन गरेर गण्डक हिड्नु भएको थियो । यो अवधिमा राप्तीका धेरै वुद्धिजीवि, नागरिक समाजका प्रतिनिधि,पत्रकार, मानवअधिकारवादी, विभिन्न पेशागत तथा व्यवसायीक क्षेत्रका व्यक्तित्वहरुसँग घनिभुतरुपले छलफल, वहस र सहकार्य गर्ने मौका मिल्यो ।
पत्रकार नरेन्द्र केसीले पत्रकारिताको क्षेत्रलाई नजिक बनाईराख्न धेरै मद्दत गर्नुभयो । त्यतिबेला उहाँले प्रविधिको प्रयोगबारे मलाई सुझाउनु भयो । मेरो पहिलो इमेल आइडि खोलेर पासवर्ड बोकेर उरहरी पुग्नु भएको थियो । उहाँले जनयुद्धका आँधीमय दिनहरुमा त्यसरी नै क्रान्तिलाई पत्रकारिता र प्रबिधिसँग जोडेर साथ दिइरहनुभएको थियो । यहाँहरु सबैमा मेरो विशेष सम्झना तथा नमन ।
अब प्रसंग जोडौं वैशाख १० कै । हामीले दाङको रामपुर, सिमलतारा क्षेत्रलाई आधार बनाएर आन्दोलनका गतिविधि घोराहीमा केन्द्रीत गर्यौं । शुरुमा रामपुर, गोग्ली, नारायणपुर जस्ता घोराही वरपर जनसभा र पिढिंसभा गर्दै हामी घोराही केन्द्रीत भयौं भने अरु दलका साथीहरु घोराही तुल्सिपुरमा जनपरिचालनको अभ्यास गरिरहनु भयो ।
बास्तवमा बैसाख १० को प्रर्दशनलाई माओवादीको तर्फबाट उत्कर्ष भनिएको थियो । पार्टीले केन्द्रीय आधार इलाकाका क्रान्तिकारी जनसमुदायलाई घाराहीमा केन्द्रीत गर्यो । आयोजकको व्यानर राख्न नागरिक समाज दाङलाई भनियो ।
बरिष्ठ पत्रकार तथा नागरिक समाज दाङका संयोजक नारायणप्रसाद शर्मा(गुरु)को अगुवाईमा सबै सामाजिक संघसंस्था, पत्रकार तथा मानवअधिकारवादी मित्रहरु लाखौं जनताको अगुवाई गर्न तयार हुनु भयो । कार्यक्रमको अन्तिम तयारी पुरा भएको थियो र घोराहीको गन्तव्यको लागि जनताहरु टाढाबाट हिड्न शुरु गर्नुभएको थियो ।
वैसाख ८ गते ज्ञानेन्द्र शाहको शाही घोषणा आयो । उनी डराएका थिए तर अझै षडयन्त्रको पासोमा दलका नेताहरुलाई पार्न सकिन्छ कि भनेर अन्तिम कोशीस गरेका थिए । हामीलाई पनि नेताहरुले कतै घुँडा त टेक्दैनन भन्ने कहिँकतै आशंका थियो ।
आन्दोलनको राप र तापले नेतृत्वलाई अगाडि बढ्न प्रेरित गर्यो । सम्बोधन भ्रममात्र रहेको भन्दै आन्दोलन जारी राख्ने नेताहरुले घोषणा गरे । काठमाडौंको घटनाक्रम हामीले नजिकबाट नियालीरहेका थियौं । जनप्रर्दशनलाई अझ बढि प्रतिरोधात्मक बनाउने पार्टीको योजना बन्यो र हामी पुरै शक्तिका साथ तयारीमा लाग्यौं ।
साँच्चै कार्यक्रमले ऐतिहासिक मोड लियो र लाखौं जनसमुदाय उक्त कार्यक्रममा सक्रियतापुर्वक सहभागी भए । राप्तीमा क्रियाशिल विभिन्न संघसंस्था र नागरिक समाज आयोजक बनेको उक्त कार्यक्रममा म छद्मभेषि माओवादी बक्ता थिएँ । विगत, वर्तमान र भविष्यमा पनि सायदै त्यस्तो भाषण आउदैन होला । जनता र जनताको उत्साहले दिएको त्यो शक्ति कसरी प्राप्त हुँदोरहेछ, अहिले पनि दङ्ग पर्छु ।
तपाईहरु सबै कमरेडहरु र मित्रहरुलाई सम्झेको छु । मलाई अनुभूति भइरहेको छ, अहिले ट्राफिक चोकको त्यो विशाल जनसागरको बिचमा रहेको मञ्चमा उभिएको छु । तपाई कमरेडहरु शरिरको कपडा उचालेर, मान्छेले मान्छेलाई आकाशमा उचाल्दै, सिटि बजाउँदै हुटिङ गरिरहनु भएको छ । मैले भिडमा तपाईहरुका अनुहार तिब्रवेगमा पढिरहेको छु । मलाई झन झन जोश बढिरहेको छ । जनमुक्ति सेना नेपाल जिन्दावाद भन्दैछु । नेताहरुलाई भनिरहेछु, जनतालाई धोका दिन पाईदैन । अहो अहिले जस्तै, अझैं भाषण जारी छ झैं लागिरहेछ ।
कार्यक्रम सकेर कामरेडहरु जिल्ला फर्किदै गर्दा भोलीपल्ट ११ गते ज्ञानेन्द्र शाह गलेको, थाकेको, हारेको दिन थियो र महान नेपाली जनताले जितेको दिन थियो । ज्ञानेन्द्र शाहले बैसाख ११ गतेको सम्बोधनमार्फत जनताको नासो जनतालाई सुम्पीएको घोषणा गरे र नारायणहिटी छोडेर नार्गाजुनतिर बाटो तताए । नेपाली जनताले बैसाख ११ मा सामन्ती राजतन्त्रमाथिको विजयोत्सव मनाए ।
नेपाल सरकारले बैसाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने निर्णय गर्यो ।
जनयुद्ध र जनआन्दोलनको योगफल बनेको नेपालको लोकतान्त्रिक आन्दोलन र त्यसको रापतापमा संविधानसभाबाट संविधान निमार्ण भएकोछ । संविधान कार्यान्वयनको प्रक्रियामा तीन तहका सरकार बनेका छन र नेकपालाई सबै तहमा दुईतिहाईको जनमत प्राप्त भएको छ । आज नेकपाका सामु सिंगो मुलुकको विकास र समृद्धिको ऐतिहासिक दायित्व छ । कोभिड १९ जस्तो विश्व महामारीका विरुद्धको लडाईमा नेपालको तर्फबाट सिँगो मानवजातीसँग हातेमालो गर्नुछ ।
मानवजाती र नेपालीजातीको हितको लागि मुलुकमा विनाकुनै आग्रह वृहत राष्ट्रिय एकता जरुरी भएको छ । तर हामी “जो अगुवा उही बाटो हगुवा” भनेजस्तो गरिरहेका छौं । हाम्रो कुनै पनि कर्म र मर्म लोकतन्त्रलाई समृद्ध बनाउने हुनुपर्दछ नकी कम्जार बनाउने । तसर्थ जनताको रगत पसिनाबाट आर्जित लोकतान्त्रिक मुल्य र मान्यतालाई कुनै पनि बहानामा कम्जोर नबनाउँ, कम्जोर बन्न नदिउँ, लोकतन्त्र दिवसको यहाँहरु सबैमा शुभकामना । आजको दिनको विशेष सम्झना । धन्यवाद ।
(नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा नेता मल्लले यो जनसभामा ‘जीवन हमाल’को उपनामबाट सम्वोधन गर्नुभएको थियो ।)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।