वर्ग सङ्घर्षको थलो वा भूमि भनेर चिनिने एक जिल्ला हो रुकुम, जसले सयौं बलिदानका गाथा कोरेको छ । रुकुमजस्तो विकट तथा दुर्गम जिल्लामा जन्मिएर सामन्तवादको समुल नष्ट गरी जनताको जनवाद स्थापना गर्ने उदेश्यका साथ मालेमावादलाई शिरोपर गरी सानैमा राजनीतिक जीवन शुरु गरेर भौतिक जीवन नै आन्दोलनमा गुमाएको दम्पत्ति– परम्परा गौतम (वृक्षा) र सूर्यप्रकाश पुन ‘सुन्दर’ । दुबैको नामलाई जोड्दा भन्न सकिन्छ– सुन्दर वृक्षा । साँच्चिकै आजको गणतन्त्ररुपी सुन्दर वृक्ष जन्माउन र हुर्काउन यो जोडीसहित हजारौंहजार सहिदको रगत नै मुख्य आधार हो ।
रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगाको सेरीगाँउँमा बुवा देविलाल गौतम र आमा बिष्णु गौतमको कोखबाट (जेठी छोरी) पहिलो सन्तानको रुपमा जन्मनुभएको थियो बृक्षा । सानैदेदेखि असल मेहनती र शालिन, भलाद्मी स्वभावकी हुनुहन्थ्यो उहाँ । पछाडि एक भाई र चार बहिनीको जन्म भयो । सामान्तवादका आसेपासेहरुको बाक्लो उपस्थिति रहेको समाजमा पनि यो गौतम परिवार भने कम्युनिष्ट परिवार थियो ।
आमा विष्णु गौतम र वुवा देविलाल गौतमले २०२४ र २०२६ मा कम्युनिष्ट पार्टीको सदस्यता लगेर पंञ्चायती निरङकुशता विरुद्ध विद्रोहको सुरुवात गरिसक्नु भएको थियो । राजनीतिक चेतनाप्राप्त परिवारमा जन्मिकी हुनाले पनि वृक्षामा क्रान्तिकारी चेतना पैदा भयो । न्यायको पक्षमा वकालत गर्ने शिक्षा उहाँले घरपरिवारबाटै सिक्नुभयो । श्रमप्रति माया र शोषणप्रति घृणा गर्ने ज्ञान र चेतना आमा वुवामार्फत उहाँले प्राप्त गर्नुभयो ।
सात बर्षको हुदा आमा घाँस काट्न गएको बेलादेखि बवा आमाको व्यस्तताको बेला खाना पकाएर भाइबहिनीलाई दिएको कुरा आमा बिष्णु गौतमलाई याद आइरहन्छ । आमा भन्नुहुन्छ– उनी सानैदेखि श्रमशील थिइन, उनको बल्यकालका साथीरु ठू्रलो बवा स्कन्द शर्माका छोरी नारायणी शर्मा, बहिनी नारायणी गौतम, दाई बसन्त शर्मा र कान्छावुवाकी छोरी बहिनी रमा गौतम र भाई भेषराज गौतम थिए । उनीहरु एक आपसमा कपडा, चप्पल, जुत्ता साटासाट गरेर लगाउनेदेखि एउटै थालीमा भात खाने, लुकामारी र माइती बेहुली खेल्ने गर्दथे, त्यसमै रमाउँथे । एक कक्षादेखि १० कक्षासम्म पढेर सँगै एसएलसी गर्ने दिदी परम्परा गौतम (वृक्षा) बहिनी नारायणी शर्मा (प्रतिक्षा) २०४६ अगाडि नै पञ्चायती शाषणकाविरुद्ध कालो झण्डा गाड्ने, नारा लेख्ने र विद्यार्थी संगठनका काम गर्थे ।
२०५२ सालमा महान जनयुद्धको थालनीको बेला बल्यकालका साथीहरु परम्परा, वसन्त शर्मा(कुशल) र नारायणी शर्मा(प्रतीक्षा) युद्धमा एकै दिन निक्लिए, एकैदिन युद्धमा निस्किए । जनयुद्ध थालनीकै बेलादेखि आन्दोलनमा सक्रिय रुकुम चुनवाङको लाखरखोलामा २०३० सालमा कान्छो छोराको रुपमा जन्मिएका सुर्य प्रकाश पुन (सुन्दर) को ४ दाजु र ३ दिदी हुनुहुन्छ । निकै मेहनती र मिलनसार सुन्दर नामजस्तै सुन्दर हुनुहुन्थ्यो काममा पनि ।
२०४६ अगाडि नै संगठनमा आवद्ध क. सुन्दर पंञ्चायती शोषणको विरोधमा लड्न शुरु गर्नुभयो । पछि क. सुन्दर र क. वृक्षा सिस्ने सांस्कृतिक परिवारको सदस्य भएर काम गर्नुभयो । क्रान्तिमा समर्पित हुदै अगाडि बढ्ने क्रमा २०५१ सालको बाह्रौ जिल्ला सम्मेलनबाट क. सुन्दर अखिल क्रान्तिकारीको रुकुम जिल्ला उपाध्यक्ष बन्नुभयो भने क. परम्परा जिल्ला सदस्य बन्नुभयो । उनीहरु युवाहरुलाई प्रशिक्षित गर्ने क्रममा बहुदलीय व्यवस्थाको थालनीदेखि नै आफ्नो जीवन निरन्तर परिवर्तनका लागि लगाइराख्नुभयो ।
क्रान्तिको बीज छर्दै उहाँहरु जनतालाई सचेत गर्दै रुकुम जिल्लाको कुनाकुना मात्र पुग्नुभएन डोल्पा, रोल्पा, प्युठान, सल्यान, जाजरकोट, जुम्ला, हुम्लातिर सिस्ने सांस्कृतिक परिवारद्धारा जनता जगाउँदै हिड्नुभयो । सिजलगायत विभन्नि मितेरी अभियान सञ्चालन गर्दै हिड्नुभयो । उहाँहरु आफूले पाएको जिम्मेवारी पूरा गर्दै हिड्नुभयो । जस्तै कठिन समयमा पनि पछाडि हट्नुभएन । पार्टी र संगठनले दिएको जिम्मा खुशीका साथ आत्मसात गर्दै अगाडि बढ्नुभयो । जिम्मेवारी पूरा गर्दै जाँदा वाइसिएल, पार्टी संगठन सबैतिर भूमिका निवाृह गर्नुभयो । २०५१ सालमा क.सुन्दरलाई मुद्दा लगाएर गाँउमा बस्न नदिने अवस्था सिर्जना भयो । त्यसपछि २०५२ फागुन १ गते जनयुद्धको घोषणासँगै आठविसकोट राडी प्रहरी चौकी कब्जामा उहाँहरु दुबैजना सहभागि हुनुभयो । थालनीका १५ दिनसम्म आफ्नो जिवन जोखिममा राख्दै राज्यसत्ताका पुराना संरचना ध्वस्त पार्दै हिड्नुभयो ।
जनयुद्धकै दोरान २०५३ जेठ २५ गते पार्टीको प्रस्ताव र घरपरिवारको सहमतिमा पूर्तिमकाँडास्थित कमरेड पर्वतको घरमा क.सुन्दर र क.वृक्षाको जनवादी विवाह भयो । हिजोका युद्ध र आन्दोलनका सहयात्रीहरु दाम्पत्य जीवनमा बाँधिनुभयो । उहाँहरु दुबै पार्टीका बफादार कार्यकर्ता भएकाले जनयुद्धको क्रममा कहिले पूर्व त कहिले पश्चिम गर्दै जाँदा पार्टीको निर्णयबमोजिम क. वृक्षा पार्टीको डिसिएम र महिला संगठनको जिम्मा लिदै हुकाम, मैकोट, कोल, तक, काँक्री, स्यालापाखा, चुनवाङ, चौखावाङ, साँखमा जिम्मेवारी सम्हाल्दै बस्नुभयो ।
सुन्दर भने जिल्लाभित्र र बाहिर सैन्य क्षेत्रमा स्क्वायडर जनमुक्ति सेनाको कमान्डिङ गर्दै स्पेसल टाक्स फोर्सको जिम्मा सम्हाल्दै पार्टीको डिसिएम भएर खट्नुभयो । त्यही क्रममा २०५४ साल असोज १० गते चौखावाङको हिलमा क. कामी बुढाकी छोरी मोतिकला पुनको घरमा क. वृक्षा र क. सुन्दरको पहिलो सन्तान सन्दीपको जन्म भयो । कामी बुढाकी बहिनी आशमालीले राखिदिएको सन्दीपको नाम थियो– ‘मनपुरे’ । सन्दीप जन्मिएको ठाँउ सदरमुकाम मुसिकोटदेखि नजिकै थियो । यो थाहा पाएर पुलिसले केही दिनपछि त्यो घर गाँउमा छापा मार्न आयो तर जनताले आमाछोरालाई बचाए । पुलिसले अर्कै मान्छेलाई ‘तँ परम्परा होस्, तेरो छोरा खै’ भनेर यातना दियो तर क. वृक्षा आफ्नो छोरालाई जनताको बीचमा हु्र्काएर बस्नुभयो ।
छोरा सन्दीप चौखावाङ र स्यालापाखामा नै हुर्केका िथए । तेह्र महिनापछि क. वृक्षा छोरा सन्दीपलाई आमासँग छोडेर पार्टीले दिएको जिम्मेवारी सम्हाल्दै अगाडि बढ्नुभयो । व्यक्तिगत जीवनमा सबैभन्दा ठूलो त्याग नै युद्धको लागि जीत हुने भएकोले छोरा छोडेर जिम्मेवारी सम्हाल्दै २०५८ सालमा पार्टीको निर्णयबमोजिम क. वृक्षा पार्टीको डिसिएम र क. सुन्दर पार्टीको जिल्ला सेक्रेटरी भएर क्रान्तिको बीज रोप्न सुदूरपश्चिमको बझाङतिर लाग्नुभयो । उहाँहरु गएर त्यो श्वेत इलाकामा जिम्मेवारी पूरा गर्दै जाने क्रममा एक वर्ष नपुग्दैे २०५९ जेठ १४ गते परम्परा गौतम (क.वृक्षा)लाई एउटा घरको बार्दलीमा बसेर कपाल कोरिरहेको बेलामा सुराकीको सुचनाअनुसार पुलिसद्धारा तलैबाट गोली हानी हत्या गरियो ।
चरालाई गुलेली हाने जसरी पुलिसको गोलीबाट उहाँ सदाका लागि ढल्नु भयो । तर, क. सुन्दर त्यतिवेला आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो । अर्को ठाँउमा यो खबर सुनेर उहाँ आत्तिएर आफ्रूलाई सम्हाल्दै हामी घरपरीवारलाई चिठि लेख्नुभएको थियो । आमा वुवालाई सम्झाउनू, छोरा सन्दीपलाई राम्रोसँग हुर्काउनू, यो कुरा थाहा नदिनु म पनि केही समयपछि जिल्लातिर आँउछु भनेर पत्र पठाउनु भएको रहेछ । तर बिडम्बना, त्यो पत्रसँगै अर्को चिठी पनि एकैपटक प्राप्त भयो, जसमा उहाँको पनि सहादतको खबर थियो । २०५९ जेठ २३ गते सुर्यप्रकाश पुन (क.सुन्दर)को पनि सहादत भयो भनेर त्यहाँको पार्टी कमिटीको पत्र मैले पाएँ । क.सुन्दर कार्यक्रम गर्न अर्को ठाउँमा जाँदैगर्दा बीच बाटोमा पुलिससँग जम्काभेट भयो, त्यसपछि पुलिसले क. सुन्दरको झोला खोल्न भनेछन् र पुलिसको राइफल खोसेर प्रतिकार गर्न लाग्दा सुन्दरसहित ३ जना कमरेडहरुको सहादत भएछ ।
२०५९ साल साउनमा मैले दुइ महिनापछि दुइ चिठी एकैसाथ पाए । म कामी गाँउ (हाल मुसीकोट ९ हिल) मा विशेष एरिया (खलंगा, साँख, चौखावाङ र भलाक्चा) जिम्मेवारीमा थिएँ । त्यही समयमा चुन गाँउमा कार्यक्रम गर्दागर्दै यो खबर प्राप्त भयो । खवर लिएर क. सन्देश (गोरखबहादुर केसी) आउँनुभयो । म आकाशबाट खसेझै भए । केहीबेर मैले आफूलाई सम्हाल्न सकिनँ । आमा र बा पछाडिका अभिभावक तथा नेता दिदी भिनाजुको एकैपटक सहादतको खवरले मलाई धेरै नै छोयो । म डाँको छोडेर रोएँ, कराएँ तर केहि उपाय थिएन । त्यो दुखको घडीमा नजिक भएर क. सन्देशले सम्झाएको कुरा म जीवनको पलपलमा सम्झिरहन्छु ।
हामी त मृत्युलाई स्विकारेर हिडेका मान्छे हौँ । सामान्य जनताले यस्ता कुरा पचाएका छन भने हामी त नेता हौँ । यो त अघिपछिको कुरा मात्र हो । वहाँहरु दूबैले बलिदानपूर्ण कोटा पूरा गर्नुभएको छ । संदेशसँग म हिलबाट रोल्पाको थवाङ्ग गएँ । त्यहाँ केन्द्रीयस्तरको कार्यक्रम थियो र दाई जनार्दन शर्मा ‘प्रभाकर’ तथा सानो बुवा नेत्रविक्रम चन्द ‘विप्लब’ भेटिनुभयो । उहाँहरुले सम्झाउनुभयो । आमा बालाई पत्र लेख पठाईदिन्छौं भन्नुभयो । मैले पत्र लेखेर पठाएँ । क. दिवाकर (पोष्टबहादुर बोगटी) सरले पत्र लिइदिनुभयो । आमा बालाई दिदी भिनाजुको सहादतको खवर प्राप्त भएपछि आमा बेहोश हुनुभएछ । बवा युद्धकै मार्चामा हुनुहुन्थ्यो । दिदी भिनाजुको छोरा सन्दीप ४ बर्षका थिए । यो खबरले सबैलाई दुःखी बनायो । तर, पनि सहेर बस्नु नै पथ्र्यो ।
छोरी जुवाँइको सहादत भएको १७ बर्षपछि पनि आमा औषधि सेवन गरेर बाँचिरहनुभएको छ । बेला बेलामा उपचार गराईराख्नुपर्छ । पीडा र चिन्ता बोकेरैआफ्नो जिम्मेवारी पूरा गर्दै आउनुभएको छ । दिदीको छोरा सन्दीप शुरुमा कपिलवस्तुमा ठूली आमासँग बसेर शिवगढी स्कूलमा पढे । विप्लबको कान्छो छोरा र उनी सँगसँगै स्कूल जान्थे । केही समय सँगै हुर्किए । फेरि पछाछि बहिनी कान्छीसँगै १ देखि १० कक्षासम्म ‘ड्रीमल्याण्ड बोर्डिङ स्कूल नेपालगञ्ज’मा पढे ।
ललितपुरको ह्वाइटहाउस कलेजबाट आइएससी गरेपछि आफ्नो इच्छाअनुसार डाक्टरी पढ्न पाएनन् । डाक्टरी पढ्न नपाए पनि उनले संघर्ष गर्दै बायोटेक्नोलोजीमा बीटेक गरेका छन् । आज उनी जस्ता धेरै पढ्न सक्ने इच्छा र क्षमता हुँदाहुदै पनि पढ्न पाएका छैनन् । उनीहरुका आमाबुवाले सामाजिक हितका लागि रगत बगाए तर उनीहरुको मर्म कसैले बुझेनन् । यस्ता सहिद सन्ततिले पाउने सेवा सुविधाको कोटा अर्कै सम्पन्नहरुले पाए । मैले यसो भन्दा कसैलाई चोट पर्ला, चित्त दुख्ला, आरोपजस्तो लाग्ला तर सत्य यही हो ।
आज छोरा सन्दीप पनि ठूलो भइसके । अब धेरै कुरा बुझ्ने भइसके । न्याय र अन्याय छुट्याउन सक्छन् । आमा बवाको राहतको पैसाले फी तिरेर पढेको हो । भोलि मजस्तै पढ्ने इच्छा राख्ने मान्छेलाई पढाउछु भन्ने उदेश्य राखेका छन् । जब मेरा आमा बाको रगत खेर जान दिन्न भन्छन, तब मन दरिलो बन्छ । हामीले सही संस्कार दिएका छौं भने हामीलाई गौरव हुन्छ । मेरा लागि भए पनि एक जना बाँचिदिएको भए हुन्थ्यो तर त्यस्तो भएन, म आमा बाको बाटो हिड्छु भनेर विद्यार्थी संगठनमा लागेका छन् ।
सहिदका छोराछोरी एकजुट हुनुपर्छ भनेर अभियानमा लागेका छन् । मलाई याद छ, जब सन्दीप क्याम्पस इकाइको अध्यक्ष भए, त्यसदिन आमाले कोठामा आएपछि खादा र टिका लगाएर बधाई पनि दिनुभयो । आजभोलि हजुरआमासँगै ललितपुर हात्तीवनमा बस्छन् । हजुरआमाले सन्दीपको भलो र उस्को भविष्यबारे नै सोचिरहनहुुन्छ ।
वास्तवमा जनयुद्धमा आमा र वुवा दुवै गुुमाउने देशभरि ३/४ दर्जन त होलान् औँलामा गन्न सकिने व्यक्ति । उनीहरुको पनि राम्रो व्यस्थापन गर्न नसक्दा राज्य गैरजिम्मेवार जस्तो लाग्छ । अन्त्यमा न्यायपूर्ण आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउँनुहुने देशैभरका शहिदहरु प्रति हार्दिक श्रदाञ्जली अर्पन गर्दै सहिद, बेपत्ताका परिवार र घाइते साथीहरु तथा अन्य आन्दोलमा लागेका साथीहरुको व्यवस्थापनमा सबैको ध्यान पुगोस् भन्न चाहन्छु ।
(सहिद क. बृक्षाकी बहिनी लुम्विनी गौतम अनेमसंघ केन्द्रीय समिती सदस्य हुनुहुन्छ)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।