• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुइ बर्षमा एउटा गाउँले गुमायो तीन युवा




माघ १० गते रुकुमको मुसीकोट नगरपालिका–१० गलमपाटीका १९ वर्षीय पारस विष्टको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भयो ।

कामका लागि घरबाट काठमाडौं पुगेका उनी १ महिना नपुग्दै दुर्घटनामा परेका हुन् । गत पुस ५ गते विष्ट घरबाट काठमाडौं हिँडेका थिए । केशरमहलमा रेट्रोफिटिङ कार्यमा रहेको बेला विष्टलाई हाइटेन्सन लाइनबाट करेन्ट लागेको थियो ।

प्रवीण केसी, जसको बैदेशिक रोजगारीका क्रममा बिरामी भएर नेपालमा निधन भयो

घाइते विष्टको उपचारकै क्रममा मृत्यु भएको हो । विष्टको मृत्युले गलमपाटी गाउँ स्तब्ध छ । पशुपति आर्यघाटमा पारसको अन्त्येष्टि गरिए पनि गाउँलेका आँखा अझै ओभाएका छैनन् ।

गलमपाटीबासीले पाएको यो पहिलो दुःख होइन । यसअघि पनि रोजीरोटीका लागि कामकै सिलसिलामा सोही टोलका अरु २ युवकको मृत्यु भएको थियो । त्यो घाउ मेटिन नपाउँदै अर्का युवकको मृत्यु भएपछि गाउँमा रुवाबासी छ । सोही गाउँका २९ वर्षीय प्रवीन केसी र २६ वर्षीय ललित बुढाले पनि काम गर्ने क्रममै दुर्घटनामा परेर ज्यान गुमाए ।

ललित बुढा, जसको बैदेशिक रोजगारीका क्रममा घाइते भएर चार बर्षपछि नेपालमा निधन भयो

प्रविन र ललित दुवै जना वैदेशिक रोजगारीको सिलसिलामा विदेशको कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परेका थिए । कामको चापका क्रममा प्रविनको दुवै मृगौलाले काम गर्न छाडेका थिए ।

मलेसियामा बिरामी परेका प्रवीनको नेपाल फर्केको २ वर्षपछि मृत्यु भयो । उनलाई बचाउन गाउँदेखि सहरसम्म सहयोग समिति बनाइयो । सहयोग पनि भयो । तर, अन्तमा उनले मृत्युलाईजित्न सकेनन् ।

काम गर्ने क्रममा दुर्घटनामा परेका ललितले पनि ४ वर्षपछि ज्यान गुमाए । कतारको एक कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परेपछि उनी कोमामा गए । कोमाबाट नफर्कंदा उनको मृत्यु भएको हो । झन्डै ३ वर्ष कतार र १ वर्ष काठमाडौं तथा घरमा राखिँदा पनि उनको होस फर्किएन । २०७० वैशाख २७ गते कतार उडेका ललित २०७२ मंसिर ८ गते काम गर्ने क्रममै माथिबाट खसेको सामग्रीले टाउकामा लागेर घाइते बनेका थिए ।

एउटै टोलका यी ३ मृत्यु नियमित र स्वभाविक होइनन् । एकातिर यी मृत्यु देशको रोजगारीको सवालसँग जोडिएको छ भने अर्कोतिर देशभित्र र बाहिर युवालाई काममा लगाउनेहरू श्रमिकको जीवनप्रति संवेदनशील छैनन् भन्ने नै देखाउँछ ।

पारस बिष्ट, जसको काठमाडौंमा मजदूरीका क्रममा घाइते भएर निधन भयो

सरकारले श्रमिकको अनिवार्य बीमा गर्नुपर्ने कानुन बनाए पनि रोजगारदाता कम्पनीले बेवास्ता गर्दा श्रमिकका परिवारको बिचल्ली भएको छ । सरकार कानुन कार्यान्वयनतर्फ उदार नहुँदा श्रमिकका परिवारले विभिन्न सास्ती खेप्दै आइरहेका छन् ।

काम लगाउने कम्पनी वा निकायले श्रमिकको बिमा नगर्दा विपन्न परिवार थप समस्यामा परेको मुसीकोट नगरपालिका–१०, का अध्यक्ष गोपेश्वर केसीले बताउनुभयो । उहाँका अनुसार कार्यस्थलको सुरक्षामा ध्यान नदिने र दुर्घटना तथा मृत्युपछि क्षतिपूर्ति नदिने कारणले केही परिवारलाई ऋणको बोझ थपिएको छ ।

उहाँले यी घटनाबाट स्थानीय युवालाई स्थानीयस्तरमै रोजगारी र स्वरोजगारीका लागि अभियान चलाउनुपर्ने आवश्यक देखिएको बताउनुभयो । त्यति मात्र होइन, मजदूरीमा जाने युवाहरुले पनि सचेत बन्न र आफ्नो ज्यानको सुरक्षामा ख्याल राख्न पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

यो गाउँले जनयुद्धकालमा चक्रराम बुढा र कमल बुढा दुइ जनालाई गुमाएको थियो ।

साभारः कान्तिपुर दैनिकबाट

Facebook Comments