सफलराम शुक्ल

ठिकै छ नि…
छोडिदेऊ,
सबै कुरा बुझ्नैपर्छ भन्ने कहाँ हुन्छ र !
केही सम्बन्धहरू,
केही मानिसहरू,
अनि बिछोडिनुपर्ने केही कारणहरू
किताबका ती पानाजस्तै हुन्,
जो अधुरै रहँदा सुन्दर देखिन्छन् ।
कल्पनाको क्षितिजमा उडिरहेका सपनाहरू,
बताससँगै बगेर गएका ती मीठा बातहरू,
सायद आकाशको विशालता नाप्नकै लागि
कतै छुटेका हुन् ।
यदि हरेक प्रश्नको उत्तर पाइने नै भए,
अनुभवहरूले जन्म लिने कहाँ थिए र !
कहिलेकाहीँ मौनता नै
सबैभन्दा ठूलो जवाफ बनिदिन्छ,
अनि बिछोड नै
आफैँलाई चिन्ने माध्यम ।
जसरी शिशिरले पात झारेर
रुखलाई नयाँ पालुवा पलाउने अवसर दिन्छ,
जसरी अँध्यारो रातले नै
जुनकिरीको चमकलाई अर्थ दिन्छ,
त्यसैगरी,
जो साथ छुटे,
सायद तिनको भूमिका त्यति नै थियो,
जो बाँकी छन्,
तिनीसँग अझै लामो यात्रा तय गर्नु छ ।
मनका भारी गाँठाहरू
बिस्तारै फुकाउँदै जानुपर्छ,
क्षितिजपारि अस्ताउँदै गरेको घामलाई हेर्दै,
भोलिको सुनौलो बिहानी कल्पँदै,
बितेका पलहरूलाई
मीठो सम्झना मानेर मुस्कुराउनुपर्छ ।
आकाशबाट खसेको हरेक तारा
टुट्नकै लागि हुँदैन,
कतिपय त
अरूका अँध्यारा बाटाहरू
उज्यालो पार्न पनि झर्छन् ।
त्यसैले,
जिन्दगीका केही अध्यायहरू
नबुझेरै बन्द गरिदिनुपर्छ…
किनकि हरेक कथा
बुझ्नका लागि मात्र होइन,
नयाँ क्षितिज चुम्न
र अघि बढ्नका लागि पनि हुन्छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
