घोराही । दाङको घोराही उपमहानगरपालिका -१६ सर्रास्थित राप्ती इन्जिनियरिङ कलेजमा `आरईसी ह्याकाथन २०२६´ हुनेभएको छ । कलेजको आईटी क्लबको आयोजनामा विद्यार्थीहरूमा नवप्रवर्तन, सिर्जनशीलता, उद्यमशीलता तथा प्रविधिमार्फत समस्या समाधान, क्षमता अभिवृद्धि गर्ने उद्देश्यले `आरईसी ह्याकाथन २०२६´ आयोजना हुने भएको हो । कलेजमा सञ्चालित बिई सिभिल, बिई कम्प्युटर, बिसिए र बिबिए अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना हुने उक्त कार्यक्रम आगामी मंसिर १९ गते सञ्चालन कलेज प्रशासनले जानकारी दिएको छ ।
ह्याकाथनमा सहभागी विद्यार्थीहरूले वास्तविक जीवनका समस्या पहिचान गरी तिनको समाधानका लागि नवीन परियोजना, प्रविधिमा आधारित समाधान तथा व्यावसायिक योजनाहरू प्रस्तुत गर्न सक्ने कलेजका प्रिन्सिपल रेशम गिरीले बताउनुभयो । उहाँकाअनुसार प्रतियोगितामा दिगो विकास लक्ष्य अन्तर्गत स्वास्थ्य तथा गुणस्तरीय जीवन, गुणस्तरीय शिक्षा, दिगो सहर तथा समुदाय, जलवायु परिवर्तनसम्बन्धी कार्य, स्वच्छ ऊर्जा, स्वच्छ पानी तथा सरसफाइ र उद्योग, नवप्रवर्तन तथा पूर्वाधार गरी छ वटा क्षेत्रका परियोजनालाई प्राथमिकता दिइनेछ ।
कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूले आफ्नो परियोजना अवधारणा तयार गरी उपलब्ध गुगल फर्म वा क्यूआर मार्फत २०८३ मंसिर १४ गतेसम्म अनलाइन दर्ता गर्न सक्ने समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रमको नियम, समयतालिका, मूल्याङ्कनका आधार तथा परियोजना प्रस्तुतिसम्बन्धी थप जानकारी कलेजको आधिकारिक वेबसाइट, फेसबुक पेज र दर्ता फाराममार्फत प्राप्त गर्न सकिनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूमध्य प्रथम हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई तीन हजार पाँच सय, तृतीय हुनेलाई दुई हजार पाँच सय र सान्त्वना हुनेलाई एक हजार पाँच सय नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । साथै, सहभागी विद्यार्थीहरूले कलेज र राष्ट्रिय आविष्कार केन्द्र, नेपालबाट प्राप्त हुने प्रमाणपत्रमार्फत आफ्नो परियोजनाको विश्वसनीयता अभिवृद्धि गर्ने अवसर पाउनेछन् ।
विद्यार्थीहरूको डिजिटल सिर्जनशीलता र डिजाइनसम्बन्धी सीप विकासका लागि पियू नोटसँगको सहकार्यमा विजेता टोलीका सदस्यहरूलाई एक वर्ष र अन्य सहभागीहरूलाई छ महिनाको क्यान्भा प्रिमियम सदस्यता उपलब्ध गराइनेछ । यसैगरी रोबोटिक्स तथा एम्बेडेड प्रणाली लगायतका प्रविधिमूलक तालिम तथा पाठ्यक्रममा iLab – IoT Training and Research Center मार्फत ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि विई कम्प्युटर विभागिय प्रमुख ई. शर्मिला दहित, आईटी क्लबका अध्यक्ष ज्योति शर्मा र सचिव एलिजा थापालाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
कलेजले यस ह्याकाथनमार्फत विद्यार्थीहरूलाई शैक्षिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न, समूहमा सहकार्य गर्न, प्राविधिक चुनौतीको समाधान खोज्न तथा उद्यमशील सोच विकास गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ । ह्याकाथनमा विद्यार्थीहरूको प्रतिभा, प्राविधिक दक्षता र नवप्रवर्तनशील विचारलाई व्यावहारिक परियोजनामा रूपान्तरण गर्ने महत्वपूर्ण अवसरका रूपमा रहने अपेक्षा गरिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
