• ९ मंसिर २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवामा धान भण्डारणका लागि पाँच हजार क्विन्टल क्षमताको भण्डार गृह निर्माण, अर्को पनि बन्दै




दाङ। दाङको गढवा गाउँपालिकाले किसानले उत्पादन गरेको धानको बजारीकरणलाई सहज बनाउन ५ हजार क्विन्टल क्षमताको भण्डार गृह निर्माण गरेको छ। चालु वर्षमा पनि सोही क्षमताको अर्को भण्डार गृह निर्माण भइरहेको गाउँपालिका अध्यक्ष यमनारायण पोखरेलले जानकारी दिएका छन्।

अध्यक्ष पोखरेलका अनुसार तीन वर्षअघि गढवाका किसानले उत्पादन गरेको धान तथा खसीबोकाको बजारीकरणका लागि गाउँपालिकाको टोली खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तुलसीपुरस्थित कार्यालय पुगेको थियो। त्यसबेला कम्पनीले दसैँमा खसीबोका मात्र खरिद गर्ने गरेको र दाङबाट धान खरिद नगर्ने गरेको थियो।

गाउँपालिकाले किसानको धान खरिद गर्न कम्पनीलाई आग्रह गरेपछि विभिन्न चरणमा छलफल भएको र औपचारिक सम्झौतापछि धानको बजारीकरण सुरु भएको पोखरेलले बताए।

धान खरिद प्रक्रिया सुरु भए पनि भण्डारणका लागि आवश्यक संरचना नहुँदा सुरुका दुई वर्ष मर्ज भएका विद्यालयका भवन प्रयोग गर्नुपरेको उनको भनाइ छ। धानको व्यवस्थित बजारीकरणका लागि गाउँपालिकाले अहिले ५ हजार क्विन्टल क्षमताको भण्डार गृह निर्माण गरिसकेको छ भने थप ५ हजार क्विन्टल क्षमताको अर्को भण्डार गृह निर्माण भइरहेको छ।

अध्यक्ष पोखरेलका अनुसार दाङ जिल्लामा भण्डार गृहको अभावका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदको कोटा जम्मा ५ हजार क्विन्टल मात्रै निर्धारण गरेको छ। सीमित कोटाका कारण सबै किसानले सरकारी समर्थन मूल्यमा धान बिक्री गर्न पाउने अवस्था नरहेको उनले बताए।

गढवा गाउँपालिकाले पाएको ३ हजार क्विन्टल धान खरिद कोटालाई विगतका समस्याबाट पाठ सिक्दै सकेसम्म धेरै किसानले थोरै–थोरै भए पनि सरकारी दररेटमा धान बिक्री गर्न पाउने गरी व्यवस्थापन गर्ने प्रयास गरेको अध्यक्ष पोखरेलले उल्लेख गरे।

धान किसानको प्रमुख बाली भएकाले आगामी दिनमा सरकारी धान खरिदको कोटा बढाउन सबै पक्षबाट पहल हुनुपर्नेमा उनले जोड दिएका छन्।

यस वर्ष पहिलो चरणमा गढवाबाट धान खरिद प्रक्रिया सुरु गरिदिएकोमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय तुलसीपुर परिवारलाई अध्यक्ष पोखरेलले धन्यवादसमेत व्यक्त गरेका छन्।

Facebook Comments