कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा सातौँ बंगलाचुली कप खेलकुद प्रतियोगिता–२०८३ सुरु भएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा गाउँपालिकाका आठवटै वडाबाट सहभागी खेलाडीबीच विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहेको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा पुरुष भलिबल, क्रिकेट र महिला भलिबल प्रतियोगिता सञ्चालन भइरहेका छन्। प्रतियोगिताको समापन भोलि छ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा प्रतियोगिताको आज उद्घटन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पुनमगरले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी स्वस्थ, अनुशासित र सक्रिय समाज निर्माणको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।
अध्यक्ष पुनमगरले खेलकुदले युवापुस्तालाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नुका साथै अनुशासन, सहकार्य, नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले गाउँमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गर्दै उनीहरूलाई जिल्ला, प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्न सहयोग पुर्यालउने बताउनुभयो ।
त्यसैगरी, कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले स्वागत मन्तव्य राख्नुभएको थियो। उपाध्यक्ष भक्तबहादुर जिसीले खेलकुदको महत्त्व र युवापुस्ताको सहभागितालाई जोड दिँदै प्रतियोगिताले विभिन्न वडाका खेलाडीबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद आचार्य ,वडा नम्बर २ का अध्यक्ष मैते पुनमगर, वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डाँसबहादुर डाँगी, वडा नम्बर ५ का अध्यक्ष लिलाबहादुर घर्ती, वडा नम्बर ७ का अध्यक्ष गिरबहादुर थापा र वडा नम्बर ८ का अध्यक्ष झविन्द्र गाहामगर सहभागी रहनुभएको थियो।
त्यसैगरी कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका बंगलाचुली सभापति विक्रम डाँगी, नेपाली कांग्रेसका बंगलाचुली सभापति जागेश्वर अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका बंगलाचुली उपाध्यक्ष दामोदर खड्का र नेकपा माओवादीका संयोजक भीमबहादुर रानाको उपस्थिति रहेको थियो।
यसैगरी बंगलाचुली उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर वली तथा बंगलाचुली बनाउँ अभियानका संयोजक सुशील परियारलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनुभएको थियो।
प्रतियोगितामा गाउँपालिकाका आठवटै वडाबाट आएका खेलाडीहरूले विभिन्न खेल विधामा आफ्नो सहभागिता जनाइरहेका छन्। पुरुष भलिबल, महिला भलिबल र क्रिकेट प्रतियोगितामार्फत वडास्तरका खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ।कार्यक्रमको सहजिकारण गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
