• ८ मंसिर २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी ग्रुपको नेतृत्वमा खनाल, क्याम्पस प्रमुखमा बसेल र कलेज प्रमुखमा अधिकारी नियुक्त




घोराही । दाङको घोराही उपमहानगरपालिका–१४, झिंगौरास्थित अम्बिकेश्वरी ग्रुप प्रालिको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा चन्द्रप्रकाश खनाल नियुक्त हुनुभएको छ। खनाललाई आगामी चार वर्षका लागि ग्रुपको नेतृत्व सुम्पिएको हो।ग्रुपले आइतबार घोराहीस्थित होटल पौवामा कार्यक्रम एक कार्यक्रमको आयोजना गरी नवनियुक्त पदाधिकारी तथा शैक्षिक नेतृत्वको घोषणा गरेको हो। सो अवसरमा ग्रुपअन्तर्गत सञ्चालित अम्बिकेश्वरी क्याम्पस र अम्बिकेश्वरी कलेजका व्यवस्थापन तथा शैक्षिक नेतृत्वमा समेत नयाँ नियुक्ति गरिएको जानकारी गराइएको थियो।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अम्बिकेश्वरी क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षमा निमबहादुर केसी र क्याम्पस प्रमुखमा नवराज बसेल नियुक्त हुनुभएको छ। त्यसैगरी, राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अम्बिकेश्वरी कलेजको व्यवस्थापन समितिको अध्यक्षमा वसन्तराज भट्ट र कलेज प्रमुखमा पवन अधिकारी नियुक्त हुनुभएको छ।

ग्रुपअन्तर्गत अन्य जिम्मेवारीमा पनि नियुक्ति गरिएको छ। सहायक क्याम्पस प्रमुख तथा बीएस्सी सीएसआईटी कार्यक्रम संयोजकमा राजसिंह जोरा, एमबीए तथा बीआईटीएम संयोजकमा नरेन्द्र बञ्जाडे, बीसीए संयोजकमा सन्नी खनाल, बीआईटी संयोजकमा सुदिप खड्का, परीक्षा प्रमुखमा गौरभ भट्ट, लेखा प्रमुखमा घनी खड्का खनाल, आईटी अपरेटरमा मनोज बस्नेत, ल्याब इन्चार्जमा हस्तविर बुढामगर र फ्रन्ट डेस्क कम्युनिकेटरमा अम्मिता भण्डारी नियुक्त हुनुभएको छ। नवनियुक्त सबै पदाधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आ–आफ्नो जिम्मेवारी सम्हाल्नुभएको थियो।

नवनियुक्त अध्यक्ष तथा सीईओ खनालले पदाधिकारीलाई शपथ गराउँदै जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध भएर काम गर्न निर्देशन दिनुभयो। उहाँले अम्बिकेश्वरी ग्रुपले विगत १४ वर्षदेखि सूचना प्रविधि (आईटी) क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै अब शैक्षिक गुणस्तरलाई थप उत्कृष्ट बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो।जिल्लामै गुणस्तरीय आईटी शिक्षाको अवसर विस्तार गर्दै दक्ष, सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित यसै शैक्षिक सत्रदेखि थप आईटी विषयका कार्यक्रम सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो। ग्रुप अब शैक्षिक संस्था सञ्चालनमा मात्र सीमित नरहने भन्दै जिल्लाका विभिन्न समस्याको पहिचान र समाधानका लागि नयाँ दृष्टिकोणसहित अघि बढ्ने खनालको भनाइ थियो। हाल ग्रुपले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आईटी विषय र राजर्षि जनक विश्वविद्यालयअन्तर्गत एमबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नवनियुक्त क्याम्पस प्रमुख नवराज बसेलले विद्यार्थी र गुणस्तरीय शिक्षा क्याम्पसको पहिलो प्राथमिकता हुने बताउनुभयो। विद्यार्थीले प्रमाणपत्रमा मात्र सीमित नभई ज्ञान, सीप, संस्कार, आत्मविश्वास र भविष्य निर्माण गर्ने क्षमता हासिल गर्नुपर्ने उहाँको भनाइ थियो। शैक्षिक गुणस्तर, सुशासन, प्रविधि, अनुसन्धान र संस्थागत प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउन सबै एकजुट भएर अघि बढ्नुपर्ने उहाँले जोड दिनुभयो। आफ्नो कार्यकालमा सम्मानभन्दा साथ, प्रशंसाभन्दा सुझाव र अपेक्षाभन्दा सहकार्यलाई प्राथमिकता दिने बसेलले बताउनुभयो।

त्यस्तै, कलेज प्रमुख पवन अधिकारीले विद्यार्थीको जीवनमा वास्तविक परिवर्तन ल्याउने शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो। विद्यार्थीको आकर्षण आईटी क्षेत्रमा बढ्दै गएको सन्दर्भमा मानव स्रोत व्यवस्थापन र व्यावसायिक पक्षलाई समेत ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। विगतमा हासिल शैक्षिक उपलब्धिलाई निरन्तरता दिँदै कलेजको एमबीए कार्यक्रमलाई थप उत्कृष्ट बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

सहायक क्याम्पस प्रमुख राजसिंह जोराको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर केसी, कलेज व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज भट्ट, क्याम्पस सञ्चालक द्रोण खड्का तथा पूर्वविद्यार्थी रणबहादुर खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले समयानुकूल शैक्षिक विकास, आईटी शिक्षाको गुणस्तर अभिवृद्धि र दक्ष जनशक्ति उत्पादनमा अम्बिकेश्वरीको योगदानको प्रशंसा गर्दै संस्थालाई जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको थियो। अम्बिकेश्वरी क्याम्पस स्थापना भएपछि जिल्लामै आईटी शिक्षा अध्ययन गर्ने अवसर विस्तार भएको र विद्यार्थीलाई अध्ययनका लागि काठमाडौं लगायतका सहर जानुपर्ने बाध्यता कम भएको वक्ताहरूको भनाइ थियो।

ग्रुपका अध्यक्ष तथा सीईओ चन्द्रप्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ग्रुपका निर्देशक वसन्तप्रसाद रिजालले गर्नुभएको थियो।

Facebook Comments