• ४ मंसिर २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ता : आणविक जोखिम घटाउनेदेखि राष्ट्रसंघ सुधारसम्म सहमति




चीन, अमेरिका र रुसका राष्ट्रपतिबीच भएको पहिलो त्रिपक्षीय वार्तामा आणविक हतियारको जोखिम न्यूनीकरण, संयुक्त राष्ट्रसंघको सुधार र ऊर्जा आपूर्ति वृद्धि गर्ने विषयमा सहमति भएको छ ।

चीनको सेन्जेनमा बिहीबार एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच एक घण्टाभन्दा बढी समय वार्ता भएको हो । तीनै देशका राष्ट्रपतिबीच भएको यो पहिलो त्रिपक्षीय शिखर वार्ता हो ।

वार्तापछि चिनियाँ र रुसी अधिकारीहरूले सार्वजनिक गरेको संयुक्त घोषणाअनुसार तीन देशले आणविक हतियारको जोखिम घटाउन संवाद अघि बढाउने, आणविक हतियारको प्रसार रोक्ने तथा संयुक्त राष्ट्रसंघलाई विश्वव्यापी चुनौती सम्बोधन गर्न सक्षम बनाउने गरी सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, ऊर्जा सुरक्षालाई ध्यान दिँदै तेल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने विषयमा पनि सहमति भएको छ । घोषणामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को क्षेत्राधिकार दुरुपयोग हुन नहुने र राज्यका अधिकारीहरूले अदालती अभियोजनबाट उन्मुक्ति पाउनुपर्ने धारणा पनि समेटिएको छ ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका तीन प्रमुख आणविक शक्तिले विश्वमा आणविक हतियारको संख्या घटाउन र तिनको प्रयोगको जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए । चिनियाँ राष्ट्रपति सीले आणविक युद्ध जित्न नसकिने भएकाले यस्तो युद्ध हुनै नहुने धारणा राख्दै आणविक हतियाररहित विश्व निर्माणमा जोड दिएका थिए । रुसी राष्ट्रपति पुटिनले पनि विश्व शान्ति र सुरक्षाको साझा जिम्मेवारी पूरा गर्न तीन देशबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

यद्यपि, युक्रेन र इरानमा जारी युद्ध अन्त्य गर्ने विषयमा वार्ताबाट कुनै ठोस सहमति भएको सार्वजनिक गरिएको छैन । ट्रम्पले यी दुवै विषयमा छलफल गर्ने बताएका थिए । पुटिनले भने ट्रम्प र सीसँगको छुट्टाछुट्टै भेटवार्तामा युक्रेन युद्धबारे छलफल भएको जानकारी दिएका छन् ।

त्यस्तै, आणविक हतियार कटौतीका लागि नयाँ सम्झौता गर्ने विषयमा पनि ठोस निर्णय भएको छैन । अमेरिका र रुसबीचको नयाँ स्टार्ट आणविक हतियार नियन्त्रण सम्झौता गत फेब्रुअरीमा समाप्त भएको थियो । ट्रम्पले चीनलाई समेत समेटेर नयाँ सम्झौता गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

वार्तालाई तीन प्रमुख शक्तिबीच संवाद र सहकार्यको नयाँ प्रयासका रूपमा हेरिए पनि युक्रेन र इरान युद्धजस्ता अन्तर्राष्ट्रिय संकट समाधानमा ठोस उपलब्धि हासिल हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्रोत : एसोसिएटेड प्रेस (एपी), योनहाप समाचार समिति ।

Facebook Comments