रोल्पा। पछिल्लो समय जन्मदिनलाई भव्य उत्सव, महँगा केक र पार्टीमा सीमित गर्ने प्रवृत्ति बढिरहेका बेला रोल्पाका विकास खड्काले भने आफ्नो २३औँ जन्मदिनलाई सामाजिक सेवामार्फत अर्थपूर्ण बनाएका छन्।
जन्मदिनमा हुने अनावश्यक खर्चलाई कटौती गर्दै खड्काले आफूले बाल्यकालमा अध्ययन गरेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, तल्लो केउरीमा पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्।
उनले विद्यालयमा अध्ययनरत करिब ७० देखि ८० जना विद्यार्थीलाई कापी तथा कलम वितरण गरेका छन्। आफूले अक्षर चिनेको र शैक्षिक यात्रा सुरु गरेको विद्यालयमै पुगेर विद्यार्थीलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको खड्काले बताएका छन्।
जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्दै विद्यार्थीको पढाइमा सानो भए पनि सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको उनले बताए।
खड्काको यस कार्यले जन्मदिन मनाउने शैलीमा सकारात्मक सन्देश दिएको छ। जन्मदिन केवल केक काट्ने, भोजभतेर गर्ने र रमाइलोमा सीमित नराखी सामाजिक उत्तरदायित्व तथा मानवीय सेवासँग जोड्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।
आफूले अध्ययन गरेको विद्यालय र त्यहाँका विद्यार्थीलाई सम्झिएर गरिएको उनको यो सहयोगले जन्मदिनलाई उत्सवसँगै सेवाको अवसरका रूपमा मनाउन सकिने सन्देश दिएको छ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
