रुकुमपूर्व, २८ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपूर्व जिल्ला समितिको बैठकले जिल्ला समितिको पदपूर्ति, आर्थिक व्यवस्थापन, विकास निर्माणमा समन्वय र संगठन सुदृढीकरणसम्बन्धी चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले जिल्ला समितिको सचिवमा गणेश वली र उपसभापतिमा बसन्तकुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यसैगरी, पार्टीको आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन सभापति लक्ष्मणकुमार थापा र कोषाध्यक्ष मालबहादुर महराको संयुक्त हस्ताक्षरबाट नेपाल बैंक लिमिटेडमा पार्टीको नाममा बैंक खाता खोल्ने निर्णय गरिएको छ ।
बैठकले जिल्लाका विकास निर्माण तथा जनसरोकारका विषयमा प्रदेश पार्टी नेतृत्व र संघीय सरकारका विभिन्न मन्त्रालयसँग आवश्यक समन्वय तथा सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।
संगठन सुदृढीकरणका लागि स्थानीय तहमा पार्टी संगठनलाई थप सक्रिय बनाउने उद्देश्यले पालिका सभापतिहरूलाई जिम्मेवारीपूर्वक परिचालन गर्ने र आवश्यकताअनुसार बैठक तथा छलफललाई निरन्तरता दिने निर्णय भएको छ ।
बैठकले सामूहिक नेतृत्व, आपसी समन्वय र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिँदै पार्टी संगठनलाई व्यवस्थित, जिम्मेवार र जनतासँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
