दाङ । दाङको बंगलाचुली गाउँपालिका–२ को आयोजनामा कार्तिक १७ गतेदेखि सञ्चालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगिताअन्तर्गत क्रिकेट, पुरुष भलिबल तथा महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो। क्रिकेट प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको थियो।
क्रिकेटतर्फ छिपन टिमले दार्मालाई पराजित गर्दै जित हासिल गरेको छ। पहिले ब्याटिङ गरेको छिपनले १० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो। छिपनका नेत्र घर्तीले सर्वाधिक २३ रनको योगदान दिएका थिए। बलिङतर्फ दार्माका शिशिर घर्तीले ३ विकेट लिएका थिए।
६७ रनको लक्ष्य पछ्याएको दार्मा ३७ रनमै सबै विकेट गुमाउँदै अलआउट भएको थियो। दार्माका शरद घर्तीले १० रन बनाए। बलिङतर्फ छिपनका पुजन घर्तीले ३ विकेट लिए।
प्रतियोगितामा बेदुलाल रोका म्यान अफ द सिरिज घोषित भए भने शिशिर घर्ती उत्कृष्ट बलर र शरद घर्ती उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन्।
त्यस्तै, पुरुष भलिबलतर्फ मर्पेस सी टिम प्रथम, छिपन दोस्रो र मर्पेस ए टिम तेस्रो भएका छन्। महिला भलिबलतर्फ टाकुरा टिम प्रथम र मर्पेस टिम दोस्रो भएका छन्।
प्रतियोगिताको समापनका अवसरमा वडा अध्यक्ष मैते पुन मगरले खेलकुदले स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको पहिचान गर्न र युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिँदै खेलाडीको क्षमता विकासमा वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
