तुलबहादुर कवँर मगर
भालुबाङ। दाङको राप्ती गाउँपालिकाले तिहारमा प्लास्टिक तथा कृत्रिम मालाको प्रयोग नगर्न आग्रह गर्दै प्राकृतिक फूलमाला प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै हिन्दुहरूको महान् पर्व शुभ दीपावलीको अवसरमा गाउँपालिकावासीलाई शुभकामना व्यक्त गर्दै पुष्प खेतीको प्रवर्द्धन, स्थानीय किसानको आयआर्जन वृद्धि तथा वातावरण संरक्षणका लागि प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गरेको हो।
गाउँपालिकाले तिहारमा प्लास्टिक तथा कृत्रिम मालाको सट्टा स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूलका माला प्रयोग गर्न आग्रह गरेको छ।
स्थानीयस्तरमा उत्पादित फूलको खरिद–बिक्रीलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाले व्यावसायिक रूपमा पुष्प खेती गर्दै आएका किसान तथा व्यवसायीहरूको नाम, ठेगाना र सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।
गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार वडा नम्बर २ लालमटियाका धर्मबहादुर बोहोरा, वडा नम्बर ३ बसन्तपुरकी मनकुमारी मल्ल, सोही वडाको मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालय, वडा नम्बर ४ मौरीघाटका ग्यामु गिरी र मझनीगढका हिमाल वली पुष्प खेतीमा संलग्न छन्।
त्यसैगरी वडा नम्बर ७ अर्नाहनपुरकी स्नेहा थारु चौधरी, वडा नम्बर ५ थकरीकोटका गुमानसिंह थापा र भीमबहादुर समाल मगरको विवरण पनि गाउँपालिकाले सार्वजनिक गरेको छ।
गाउँपालिकाले विगतका वर्षदेखि नै व्यावसायिक पुष्प खेती गर्ने कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको जनाएको छ।
पुष्प खेतीमा किसानको आकर्षण बढाउनुका साथै उत्पादित फूलको बजारीकरणमा समेत सहयोग पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाको जनाएको छ।
तिहारका लागि आवश्यक फूलमाला स्थानीय किसानसँग सम्पर्क गरी खरिद गर्न गाउँपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ।
स्थानीय उत्पादनको प्रयोगले किसानको आम्दानी बढाउन, पुष्प व्यवसायलाई प्रोत्साहन गर्न तथा प्लास्टिकजन्य फोहोर न्यूनीकरण गरी वातावरण संरक्षणमा योगदान पुग्ने गाउँपालिकाले विश्वास लिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
