तुल बहादुर कवँर मगर
दाङ। दाङको राप्ती गाउँपालिकाका एक विद्यार्थीले अन्तर्राष्ट्रिय बालचित्रकला प्रतियोगितामा एसिया तथा प्रशान्त क्षेत्रीय पुरस्कार प्राप्त गरेका छन्।
राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत राम मरसाई मगरले संयुक्त राष्ट्रसंघीय मानव बसाेबास कार्यक्रम (यूएन–ह्याबिट्याट) को एसिया तथा प्रशान्त क्षेत्रीय कार्यालय (ROAP) द्वारा आयोजित सन् २०२६ को विश्व आवास दिवस बालचित्रकला प्रतियोगितामा क्षेत्रीय पुरस्कार प्राप्त गरेका हुन्।
‘हरित सहर तथा समुदाय’ विषयमा आयोजित प्रतियोगितामा एसिया तथा प्रशान्त क्षेत्रका ६ देशबाट ३ सय ५३ जना बालबालिकाले सहभागिता जनाएका थिए। सहभागीमध्ये उत्कृष्ट छनोट भएका चित्रहरूमध्ये मरसाईकाे चित्रले क्षेत्रीय पुरस्कार प्राप्त गरेको हो।
मरसाईलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन दाङको देउखुरीमा सञ्चालित यूएन–ह्याबिट्याटको ‘भूमिहीन तथा बटैया किसानहरूका लागि सुरक्षा सञ्जाल तथा हरित ग्रामीण नेपालको लागि भू–सम्बन्ध समाधान (L4ACT)’ परियोजनाले पहल गरेको थियो।
परियोजनाले राप्ती, गढवा र राजपुर गाउँपालिका तथा लमही नगरपालिकाका शिक्षा शाखासँग समन्वय गरी स्थानीयस्तरमा चित्रकला प्रतियोगिता सञ्चालन गरेको थियो।
गत भदौमा लमहीमा आयोजित छनोट प्रतियोगितामा देउखुरी क्षेत्रका विभिन्न विद्यालयबाट छनोट भएका २४ जना विद्यार्थी सहभागी भएका थिए। उक्त प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट चित्रहरूलाई क्षेत्रीयस्तरको प्रतियोगितामा पठाइएको थियो।
मूल्यांकनकर्ताहरूका अनुसार मरसाईको चित्रले हरियाली संरक्षण, स्वच्छ वातावरण, दिगो विकास र समुदायमा आधारित वातावरणमैत्री जीवनशैलीको सन्देश दिएको छ। चित्रमार्फत उनले भविष्यका सहरलाई वातावरणमैत्री, सुरक्षित, समावेशी र दिगो बनाउनुपर्ने बालदृष्टिकोण प्रस्तुत गरेका छन्।
आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खेतुलाल पौडेलले मरसाईले अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कार प्राप्त गर्नु विद्यालयका लागि गौरवको विषय भएको बताउनुभयो। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गरी सफलता हासिल गर्नुले अन्य विद्यार्थीलाई समेत प्रेरणा मिल्ने उहाँले उल्लेख गर्नुभयो।
मरसाईको सफलताले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकामा रहेको सिर्जनात्मक क्षमता र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने सामर्थ्यलाई उजागर गरेको छ। उचित अवसर र प्रोत्साहन पाए स्थानीयस्तरका प्रतिभाले पनि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बनाउन सक्छन् भन्ने उदाहरण मरसाई बनेका छन्।
यूएन–ह्याबिट्याटले बालबालिकामा दिगो विकास, हरित सहर तथा समावेशी समुदाय निर्माणसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व आवास दिवसका अवसरमा प्रत्येक वर्ष बालचित्रकला प्रतियोगिता आयोजना गर्दै आएको छ। मरसाईको यो उपलब्धिलाई राप्ती गाउँपालिका र देउखुरी क्षेत्रका लागि मात्रै नभई समग्र जिल्ला र देशकै गौरवका रूपमा लिइएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
