• १७ कार्तिक २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविता संग्रह ‘आगो पाक्दैछ’ को विमोचन तथा समीक्षा




कार्तिक १५, घोराही । प्रगतिवादी कवि हिरामणि दुःखीको कविता संग्रह ‘आगो पाक्दैछ’ को घोराहीमा विमोचन, समीक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष डा. अमर गिरीलगायत अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको हो ।

पुस्तकालयका उपाध्यक्ष चन्द्रराज पन्तको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का पूर्वअध्यक्षको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै प्रमुख समीक्षक डा. अमर गिरीले हिरामणि दुःखी मार्क्सवादी चिन्तक भएकाले उनका साहित्यिक रचनामा पनि सोही वैचारिक दृष्टिकोण अभिव्यक्त भएको बताउनुभयो । उहाँले ‘आगो पाक्दैछ’ मा २०६६ देखि २०८३ सालसम्म लेखिएका समकालीन रचनाहरू समेटिएको उल्लेख गर्दै कृतिले समयको चेतना र क्रान्तिको उद्बोधन बोकेको बताउनुभयो । कवितामा विषयवस्तुको गहिराइसँगै कलात्मक पक्ष पनि उत्तिकै सशक्त हुनुपर्नेमा जोड दिँदै उहाँले कृतिका रचनाहरूलाई वैचारिक र सिर्जनात्मक दुवै दृष्टिले हेर्नुपर्ने धारणा राख्नुभयो ।

अर्का समीक्षक घनश्याम अस्तित्वले ‘आगो पाक्दैछ’ ले क्रान्तिकारी चेतना बोकेको बताउनुभयो । उहाँका अनुसार कृतिका कविताले विद्यमान राज्यसत्ता, सामाजिक बेथिति र विकृतिविरुद्ध काव्यिक प्रहार गरेका छन् । कवितामार्फत समाजका विसङ्गति र परिवर्तनको आवश्यकतालाई सशक्त रूपमा अभिव्यक्त गरिएको उहाँको भनाइ थियो ।

कृतिका सर्जक हिरामणि दुःखीले आफूले अंगीकार गरेको राजनीतिक विचारधाराका आधारमा कविता सिर्जना गरेको बताउनुभयो । विचार र व्यवहारबीच एकरूपता हुनुपर्नेमा जोड दिँदै उहाँले स्रष्टाहरूको कथनी र करणीमा समानता आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा साहित्यकार रामप्रसाद जैसीलगायतले कृतिमाथि आआफ्ना धारणा राख्दै नेपाली प्रगतिवादी साहित्यमा यसको वैचारिक तथा सिर्जनात्मक महत्त्वबारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सर्वोदय पुस्तकालय तथा वाचनालयका सचिव सुशीला आचार्यले गर्नुभएको थियो ।

Facebook Comments