• १७ कार्तिक २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बड्कापथ सिँचाइ आयोजनाको ७० प्रतिशत काम पूरा, ६१० हेक्टरमा पुग्यो सिँचाइ




दाङ। दाङको गढवा गाउँपालिकाका चार हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भइरहेको बड्कापथ सिँचाइ आयोजनाको काम करिब ७० प्रतिशत पूरा भएको छ। आयोजना निर्माणसँगै हालसम्म ६१० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत सञ्चालनमा रहेको बड्कापथ सिँचाइ आयोजनाले राप्ती नदीलाई मुख्य स्रोतका रूपमा प्रयोग गर्दै सिँचाइ संरचना निर्माण गरिरहेको छ। आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार राप्ती नदीमा साइड इन्टेक संरचना, १७ किलोमिटर मूल नहर तथा ५४ वटा साना–ठूला नहर संरचना निर्माण भइसकेका छन्।

त्यस्तै, २ दशमलव ३७६ किलोमिटर शाखा नहर र १४ दशमलव ५६९ किलोमिटर नहर लाइनिङको काम सम्पन्न भएको छ। चेनेज १५ हजार ९९० सम्मको निर्माण पूरा भएको आयोजनाले जनाएको छ। ९ दशमलव ५४५ किलोमिटर तटबन्ध निर्माण भइसकेको छ भने आयोजनाबाट सिँचाइ सुविधा पुगेका क्षेत्रमा खेती तथा रोपाइँसमेत सुरु भएको छ।

बड्कापथ सिँचाइ आयोजनाका लागि ५ अर्ब ७० करोड ४० लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ। हालसम्म आयोजनामा २ अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबरको वित्तीय प्रगति भएको कार्यालयका लेखा अधिकृत नवराज वलीले जानकारी दिए।

आयोजनाले गढवा क्षेत्रका करिब सात हजार परिवारका ४५ हजार जनसंख्यालाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य राखेको छ। आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरु भएको आयोजनाअन्तर्गत ३० किलोमिटर मूल नहर, १३ वटा शाखा नहर र ५३ वटा प्रशाखा नहर निर्माण गर्ने योजना छ।

गत आर्थिक वर्ष २०८२/८३ मा आयोजनाले वार्षिक लक्ष्यको तुलनामा शतप्रतिशत भौतिक प्रगति र ९९ दशमलव ८८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको कार्यालयले जनाएको छ।

आगामी चरणमा चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्मको मूल नहर तथा संरचना निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढिरहेको छ। उक्त खण्डमा हालसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको छ। त्यस्तै, चेनेज २२ हजार २०० देखि ३० हजारसम्मको निर्माण कार्यका लागि पनि प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ।

३१ मध्ये २८ ठेक्का सम्पन्न
बड्कापथ सिँचाइ आयोजना निर्माण सुरु भएयता हालसम्म मुख्य निर्माण, मर्मत तथा बचावटसम्बन्धी ३१ वटा ठेक्का सम्झौता भएका छन्। तीमध्ये २८ वटा ठेक्काको काम सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ।

हाल दुईवटा ठेक्का निर्माणाधीन अवस्थामा छन्। मूल नहरको चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्म नहर तथा संरचना निर्माणको काममा २० प्रतिशत भौतिक प्रगति भएको छ।

त्यस्तै, गढवास्थित सबडिभिजन कार्यालय भवन निर्माणको काम पनि जारी रहेको छ। उक्त भवन निर्माणमा हालसम्म २६ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ।

बड्कापथ सिँचाइ आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि गढवा गाउँपालिकाका ठूलो क्षेत्रफलका खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। यसबाट कृषि उत्पादन बढ्नुका साथै स्थानीय किसानको उत्पादन लागत घटाउन र कृषि क्षेत्रमा व्यावसायिकता विस्तार गर्न सहयोग पुग्ने देखिएको छ।

Facebook Comments