घोराही । नेपाली कम्युनिस्ट पार्टी दाङले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको जिल्ला समितिको आयोजनामा घोराहीमा अभियानको उद्घाटन कार्यक्रम गर्न लागिएको हो ।
पार्टीका जिल्ला इन्चार्ज निर्मल आचार्यले राष्ट्रिय जागरण अभियानको उद्घाटन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभएको हो ।
घोराही उपमहानगरपालिका-१८ स्थित एस पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिने आचार्यले बताउनुभयो ।
जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम हो । पार्टीले देशभर कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

अभियानको मुख्य उद्देश्य राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, सुशासन, सामाजिक न्याय तथा जनजीविकाका सवाललाई प्राथमिकताका साथ उठाउनु रहेको छ ।
यसका साथै पार्टीको संगठन विस्तार, सुदृढीकरण र रूपान्तरण गर्दै समाजवाद निर्माणको आधार तयार पार्ने लक्ष्य राखिएको छ ।
अभियानका क्रममा पार्टीका नेता तथा कार्यकर्ता गाउँ, वडा र टोलसम्म पुगेर किसान, मजदुर, श्रमजीवी, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्ने सो पार्टीले जनाएको छ।
त्यसक्रममा महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, भूमिहीन तथा सुकुम्बासीका समस्या र वैदेशिक रोजगारीका कठिनाइबारे जनताका अनुभव, गुनासा र सुझाव सङ्कलन गरिनेछ । सङ्कलित समस्या सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्ने पार्टीको योजना छ ।
अभियानलाई पार्टीको आन्तरिक रूपान्तरण र संगठन पुनर्निर्माणसँग पनि जोडिएको छ । सदस्यता नवीकरण तथा विस्तार, पार्टी एकताका बाँकी काम पूरा गर्ने, संगठनात्मक समायोजन, प्रशिक्षण, जनसंगठन परिचालन र आगामी महाधिवेशनको तयारीलाई समेत प्राथमिकता दिइएको छ ।
यसैगरी आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी, जनताको अपेक्षाअनुसार पार्टीको भूमिका र कार्यशैली सुधार तथा देशभक्त, लोकतान्त्रिक र वामपन्थी शक्तिसँग सहकार्य विस्तार गर्ने उद्देश्य पनि अभियानले राखेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
