• २९ आश्विन २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रथम कम्युनिष्ट सहिद कामी बुढा: राष्ट्रिय सहिद घोषणासम्म योगदान गर्ने पात्रहरू




आज नेपालका प्रथम कम्युनिष्ट सहिद कामी बुढाको ७३औँ स्मृति दिवस। २०१० साल असोज २९ गते दसैँको फूलपातीका दिन जुम्लाको चौभान जेलमा तत्कालीन राज्यको यातनाबाट हत्या गरिएका उहाँप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

कामी बुढा एउटा राजनीतिक आन्दोलनका पात्र मात्र होइन, पश्चिम नेपालको किसान आन्दोलन, सामन्तविरोधी संघर्ष, ग्रामीण जनतालाई सङ्गठित गर्ने अभियान र नेपालको प्रारम्भिक कम्युनिष्ट आन्दोलनका महत्त्वपूर्ण ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ। उहाँको जीवन, राजनीतिक संघर्ष र योगदानलाई राजनीतिक आग्रहभन्दा माथि उठेर तथ्य तथा प्रमाणका आधारमा अध्ययन गर्नु आवश्यक छ।

म आफ्नै वडाका व्यक्ति नेपालको प्रथम कम्युनिष्ट सहिद भएको तथ्यबाट गौरवान्वित हुँदै उहाँको जीवनबारे अध्ययन गर्न प्रेरित भएको हुँ। नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको प्रारम्भिक चरणमै दुर्गम गाउँका कामी बुढा कसरी क्रान्तियोद्धा बन्नुभयो भन्ने जिज्ञासाले मलाई त्रिभुवन विश्वविद्यालयमा उहाँकै विषयमा स्नातकोत्तर तहको शोध गर्न प्रेरित गर्‍यो।

मैले उपलब्ध ऐतिहासिक सामग्रीको अध्ययनका आधारमा कामी बुढालाई नेपालको प्रथम कम्युनिष्ट सहिद भएको निष्कर्ष प्रस्तुत गरेको हुँ। नयाँ प्रमाण प्राप्त भए इतिहासका निष्कर्ष पुनःपरीक्षण गर्न सकिन्छ। तर प्रमाण र अभिलेखका आधारमा गरिएको अनुसन्धानलाई बेवास्ता गर्नु उचित हुँदैन।

आज उहाँलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँको इतिहास खोज्न, लेख्न, अभिलेखबद्ध गर्न र स्थापित गर्न योगदान गर्ने व्यक्तित्व तथा संस्थाहरूलाई स्मरण गर्न चाहन्छु। नयाँ पुस्ताले कामी बुढाको योगदानसँगै उहाँको इतिहास जीवन्त बनाउन भूमिका खेल्ने व्यक्तिहरूको योगदान पनि जान्नुपर्छ।

इतिहास उजागर गर्ने प्रारम्भिक प्रयास

१. सहिद नेत्रलाल पौडेल ‘अभागी’: इतिहास उजागर गर्ने पहिलो लेखक

उपलब्ध शोध सामग्रीअनुसार कामी बुढाबारे सबैभन्दा पहिले कलम चलाउने व्यक्तित्व दाङका कम्युनिष्ट नेता तथा साहित्यकार नेत्रलाल पौडेल ‘अभागी’ हुनुहुन्छ। उहाँले २०२७ सालमा कामी बुढाको विद्रोह समेटिएको काव्य तयार पार्नुभएको थियो। २०३६/३७ सालको दमनका क्रममा उक्त काव्य हराएपछि उहाँले स्मृतिका आधारमा २०३८ सालमा पुनः संक्षिप्त काव्य लेख्नुभयो।

कामी बुढाको जीवन र संघर्षबारे पर्याप्त लिखित अभिलेख उपलब्ध नभएको अवस्थामा नेत्रलालको साहित्यिक प्रयासले उहाँको इतिहास खोज्ने अभियानलाई महत्त्वपूर्ण आधार प्रदान गर्‍यो। उहाँको लेखनले कामी बुढाको विद्रोहलाई सार्वजनिक स्मृतिमा जीवित राख्न सहयोग पुर्‍यायो।

२. नरेन्द्रजङ्ग पिटर: इतिहास खोजी अभियानका प्रारम्भिक अनुसन्धानकर्ता

नेत्रलाल पौडेल ‘अभागी’को रचना अध्ययन गरेपछि नरेन्द्रजङ्ग पिटरले २०४४ सालदेखि कामी बुढाको इतिहास खोज्ने अभियान अघि बढाउनुभयो। उहाँले कामी बुढाको जीवन, राजनीतिक संघर्ष र पश्चिम नेपालको प्रारम्भिक कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित सामग्री खोज्ने काम गर्नुभयो।

पछि उहाँ राष्ट्रिय सहिद घोषणाका लागि गठित जनस्तरको अध्ययन कार्यदलको संयोजक बन्नुभयो। उहाँकै संयोजकत्वमा गठित कार्यदलले कामी बुढालाई राष्ट्रिय सहिद घोषणा गर्न सरकारलाई सुझाव दिँदै प्रतिवेदन पेस गरेको थियो।

नरेन्द्रजङ्ग पिटरको योगदान कामी बुढाको इतिहासलाई साहित्यिक स्मृतिबाट अनुसन्धान, अभिलेखीकरण र राष्ट्रिय मान्यताको प्रक्रियासम्म पुर्‍याउने महत्त्वपूर्ण कडी हो। प्रारम्भिक लेखनमा सुरक्षित गरिएको स्मृतिलाई थप प्रमाण खोज्ने र ऐतिहासिक आधार तयार पार्ने अभियानसँग जोड्नु उहाँको महत्त्वपूर्ण योगदान रह्यो।

३. तेजेन्द्र खाम मगर: छुट्टै जीवनीकृतिका लेखक

तेजेन्द्र खाम मगरले २०७० सालमा कामी बुढाको जीवनमा केन्द्रित ६३ पृष्ठको पुस्तक प्रकाशित गर्नुभयो। पुस्तकमा वंशावली, पारिवारिक विवरण र उहाँका साथीहरूसँगका कुराकानी समेटिएका छन्।

कामी बुढाको जीवनबारे छुट्टै कृति प्रकाशित हुनु उहाँको इतिहास अभिलेखबद्ध गर्ने महत्त्वपूर्ण प्रयास हो। पुस्तकमा समेटिएका ऐतिहासिक विवरण तथा मिथकीय प्रसङ्गलाई भने उपलब्ध अन्य प्रमाणसँग तुलना गरेर आलोचनात्मक रूपमा परीक्षण गर्नु आवश्यक छ।

४. कमलराज रेग्मी: राजनीतिक परिचय र सङ्गठन निर्माणको पृष्ठभूमि

२००७ सालको क्रान्तिमा शिउराज भैरहवा मोर्चामा भाग लिनुभएका कामी बुढाले क्रान्तिमा धोका भएको निष्कर्षसहित डा. केआई सिंहलाई समर्थन गर्नुभएको विवरण पाइन्छ। सिंह चीन भागेपछि कामी बुढा नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन कर्णाली प्रान्तीय कमिटीका सेक्रेटरी कमलराज रेग्मीको सम्पर्कमा पुग्नुभएको थियो।

उपलब्ध विवरणअनुसार रेग्मीबाट किसान सङ्घको सदस्यता विस्तारका लागि सदस्यता ठेली लिएर उहाँ पश्चिम नेपालका विभिन्न क्षेत्रमा सङ्गठन निर्माणमा लाग्नुभएको थियो। कमलराज रेग्मीले आफ्नो पुस्तक आमा, म र पाल्पा मा ‘धनबहादुर शाही’ नामबाट परिचित कामी बुढासँग जुम्लामा भेटेको र उहाँमाथि भएको यातनाबारे उल्लेख गर्नुभएको छ।

रेग्मीका विवरणले कामी बुढाको राजनीतिक गतिविधि, सङ्गठन निर्माण र गिरफ्तारीपछिको अवस्थाबारे बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छन्।

५. भवानीप्रसाद शर्मा: सहयात्रीका रूपमा ऐतिहासिक साक्ष्य

भवानीप्रसाद शर्मा कामी बुढाका सहयात्री हुनुहुन्थ्यो। उहाँहरूबीच पश्चिम नेपालको कम्युनिष्ट आन्दोलन विस्तार, किसान सङ्गठन निर्माण, जनसभा र सामन्तविरोधी अभियानमा सहकार्य भएको विवरण पाइन्छ।

कामी बुढासँगै पक्राउ परेका शर्मालाई पछि छाडिएको थियो। उहाँको भनाइअनुसार कामी बुढाको हत्या २०१० साल असोज २९ गते फूलपातीका दिन जुम्लाको चौभान जेलमा भएको थियो।

सहयात्रीका रूपमा शर्माबाट प्राप्त विवरण कामी बुढाको राजनीतिक संघर्ष र सहादतको इतिहास बुझ्न महत्त्वपूर्ण छन्। प्रत्यक्ष अनुभवमा आधारित यस्ता विवरणलाई अन्य अभिलेख तथा प्रमाणसँग तुलना गर्दै संरक्षण गर्नु आवश्यक छ।

पार्टीगत मान्यता र स्मृति अभियान

६. खड्कबहादुर बुढा ‘भेरी’: पार्टीगत सहिद घोषणाको प्रस्ताव

तत्कालीन नेकपा एकताकेन्द्र रुकुमका जिल्ला सेक्रेटरी खड्कबहादुर बुढा ‘भेरी’ले कामी बुढालाई पार्टीका तर्फबाट सहिद घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। उपलब्ध विवरणअनुसार २०४७ सालको पार्टी सम्मेलनले उहाँलाई सहिद घोषणा गरेको थियो।

यस निर्णयले कामी बुढाको योगदानलाई पार्टीगत मान्यता दिलाउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्यो। लामो समयसम्म सीमित स्मृतिमा रहेको उहाँको राजनीतिक पहिचानलाई सङ्गठनात्मक रूपमा स्थापित गर्ने प्रयासका रूपमा यसलाई लिन सकिन्छ।

७. तत्कालीन नेकपा एकताकेन्द्र रुकुम: संस्थागत स्मृति अभियान

कामी बुढाको जीवनी खोज्ने र उहाँको योगदानलाई पार्टीगत रूपमा स्थापित गर्ने संस्थागत पहलमा तत्कालीन नेकपा एकताकेन्द्र रुकुमको महत्त्वपूर्ण भूमिका रहेको थियो।

पार्टीगत सहिद घोषणापछि उहाँको स्मृति अभियान विस्तार हुँदै गयो। माओवादी जनयुद्धको तयारीका क्रममा रुकुमको सिस्ने हिमाल र रोल्पाको जलजला पहाडको नामबाट ‘सिज मितेरी अभियान’ सञ्चालन गरिएको थियो। यस अभियानमा कामी बुढाका करिब दुई हजार तस्बिर अभियन्ताहरूबीच आदानप्रदान गरिएको विवरण छ।

यसले कामी बुढाको स्मृतिलाई लिखित सामग्रीमा मात्र सीमित नराखी सङ्गठनात्मक सम्बन्ध र जनस्तरको अभियानसँग जोड्न मद्दत गर्‍यो।

८. सहिद कविराम केसी ‘विवेक क्षेत्री’: तस्बिरमार्फत स्मृति विस्तार

जनयुद्धको तयारीका क्रममा सहिद कविराम केसी ‘विवेक क्षेत्री’ले नेपालगञ्जस्थित रेम्बो कलर ल्याबबाट कामी बुढाका करिब दुई हजार तस्बिरका फ्रेम तयार पार्नुभएको थियो। ती तस्बिर ‘सिज मितेरी अभियान’मा मायाको चिनोका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको थियो।

कामी बुढाको तस्बिर र पहिचानलाई अभियन्ताहरूमाझ पुर्‍याउने यस कार्यले उहाँको स्मृतिलाई दृश्य सामग्रीमार्फत विस्तार गर्न योगदान गर्‍यो। ऐतिहासिक व्यक्तित्वको तस्बिर संरक्षण र वितरण पनि इतिहासलाई जनस्तरसम्म पुर्‍याउने एउटा माध्यम हो भन्ने यस प्रयासले देखाउँछ।

९. हेमन्तप्रकाश ओली: रुकुमको कम्युनिष्ट आन्दोलनको इतिहास लेखन

हेमन्तप्रकाश ओलीले प्रचण्डपथः एक्काइसौँ शताब्दीको विचारधारात्मक छलाङ पुस्तकमा कामी बुढाको सङ्गठन निर्माण, पार्टी सदस्यता विस्तार र ग्रामीण वर्गसंघर्षबारे लेख्नुभएको छ।

उहाँको लेखनले कामी बुढाको योगदानलाई रुकुमको प्रारम्भिक कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमिसँग जोडेको छ। ग्रामीण समाजमा राजनीतिक चेतना विस्तार गर्न र किसानलाई सङ्गठित गर्न भएका प्रयासको अध्ययनका लागि यस्ता लेखन महत्त्वपूर्ण सामग्री हुन्।

१०. शंकर पोख्रेल: प्रारम्भिक कम्युनिष्ट सशस्त्र संघर्षको व्याख्या

शंकर पोख्रेलले माओवादी उग्रवामपन्थ र प्रजातान्त्रिक निकास पुस्तकमा कामी बुढाको नेतृत्वमा २००९ सालमा भएको संघर्षलाई नेपालको इतिहासकै पहिलो कम्युनिष्ट विचारबाट प्रेरित सशस्त्र संघर्षका रूपमा व्याख्या गर्नुभएको छ।

यस व्याख्याले कामी बुढाको संघर्षलाई नेपालको प्रारम्भिक कम्युनिष्ट प्रतिरोधको ऐतिहासिक सन्दर्भमा राखेर हेर्न आधार प्रदान गर्छ। यस्तो दाबीलाई स्थापित गर्न सम्बन्धित दस्तावेज, समकालीन अभिलेख र अन्य अनुसन्धानसँग तुलना गर्नु पनि आवश्यक हुन्छ।

११. लोकेन्द्र विष्ट मगर ‘अभ्यास’: प्रथम कम्युनिष्ट सहिदका रूपमा अभिलेखन

लोकेन्द्र विष्ट मगर ‘अभ्यास’ले नेपाली राजनीतिका समस्या र समाधान पुस्तकमा कामी बुढालाई प्रथम कम्युनिष्ट सहिदका रूपमा उल्लेख गर्नुभएको छ।

रुकुमेली कम्युनिष्ट आन्दोलन र वर्गसंघर्षसम्बन्धी उहाँको लेखनले कामी बुढाको राजनीतिक पहिचान स्थापित गर्न योगदान पुर्‍याएको छ। यस्ता प्रकाशित सामग्रीले उहाँको इतिहासबारे थप अध्ययन र बहसका लागि आधार तयार पार्छन्।

१२. जनार्दन शर्मा: किसान आन्दोलन र राजनीतिक चेतनाको चर्चा

जनार्दन शर्माले मिलीजुली मासिकमा प्रकाशित लेखमा कामी बुढाको सामन्तविरोधी अभियान, गाउँगाउँमा जनतालाई सङ्गठित गर्ने प्रयास र राजनीतिक प्रशिक्षणबारे उल्लेख गर्नुभएको छ।

उहाँको लेखनले कामी बुढाको योगदानलाई कर्णाली तथा पश्चिम नेपालको किसान आन्दोलन र राजनीतिक चेतनाको विकाससँग जोडेको छ। जनार्दन शर्माले २०७४ सालमा सरकारमा रहँदा कामी बुढालाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रियामा पनि योगदान गर्नुभएको विवरण छ।

यसरी लेखन र राजनीतिक पहल दुवै माध्यमबाट कामी बुढाको इतिहासलाई सार्वजनिक विमर्शमा ल्याउने प्रयास भएको देखिन्छ।

राष्ट्रिय सहिद घोषणाको प्रक्रिया

१३. पुष्पकमल दाहाल ‘प्रचण्ड’: राष्ट्रिय सहिद घोषणाको राजनीतिक प्रक्रिया

उपलब्ध विवरणअनुसार २०६९ सालको एकीकृत नेकपा माओवादीको हेटौँडा महाधिवेशनबाट कामी बुढालाई भीमदत्त पन्तसँगै सहिद घोषणा गरिएको थियो। त्यसपछि उहाँलाई राष्ट्रिय सहिद घोषणा गर्ने माग र पहलले थप गति लिएको थियो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ जेठ ९ गते मन्त्रिपरिषद्बाट कामी बुढालाई राष्ट्रिय सहिद घोषणा गरेको थियो। यसले लामो समयदेखि चल्दै आएको खोजी, माग, अनुसन्धान र राजनीतिक पहललाई सरकारी मान्यता दिलाउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्यो।

जनयुद्धको तयारी र थालनीसँग सम्बन्धित दस्तावेजमा समेत प्रचण्डले कामी बुढालाई मार्गदर्शक क्रान्तियोद्धाका रूपमा सम्मान गर्नुभएको विवरण छ। यसले उहाँको ऐतिहासिक योगदानलाई कम्युनिष्ट आन्दोलनको राजनीतिक स्मृतिसँग जोडेको देखिन्छ।

१४. राष्ट्रिय सहिद घोषणाका लागि अध्ययन कार्यदल: प्रमाण र दस्तावेजको आधार

कामी बुढालाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रियामा नरेन्द्रजङ्ग पिटरको संयोजकत्वमा गठित अध्ययन कार्यदलको महत्त्वपूर्ण भूमिका थियो। कार्यदलमा गणेशमान पुन, नरेन्द्र केसी र ब्रिञ्जा पुन सदस्य हुनुहुन्थ्यो।

यस कार्यदलले कामी बुढालाई राष्ट्रिय सहिद घोषणा गर्न सरकारलाई सुझाव दिँदै प्रतिवेदन पेस गरेको थियो। प्रतिवेदन तयार पार्ने क्रममा संयोजक पिटर र कामी बुढाकी नातिनीसमेत रहेकी सदस्य ब्रिञ्जा पुन जुम्लासम्म पुग्नुभएको थियो।

कामी बुढाको जीवन, राजनीतिक गतिविधि र सहादतसँग सम्बन्धित सामग्री खोज्ने तथा राष्ट्रिय सहिद घोषणाका लागि आवश्यक ऐतिहासिक आधार तयार पार्ने काममा कार्यदलको योगदान महत्त्वपूर्ण रह्यो। अन्ततः सरकारले २०७४ जेठ ९ गते उहाँलाई राष्ट्रिय सहिद घोषणा गरेको थियो।

राष्ट्रिय मान्यतासम्म पुग्ने यो यात्रा कुनै एक दिनको निर्णयको परिणाम मात्र थिएन। प्रारम्भिक लेखन, अनुसन्धान, सहयात्रीका विवरण, पार्टीगत मान्यता, जनस्तरको स्मृति अभियान र सरकारी प्रक्रियाबीचको लामो सम्बन्धले यसलाई सम्भव बनाएको थियो।

स्थानीय स्मृति र संस्थागत संरक्षण

१५. गोप्यश्वर केसी: स्मृतिलाई स्थानीय संस्थागत गतिविधिसँग जोड्ने पहल

मुसीकोट नगरपालिका–१० का तत्कालीन अध्यक्ष गोप्यश्वर केसीले कामी बुढाको स्मृतिमा पार्क निर्माण, नियमित खेलकुद गतिविधि सञ्चालन र युवा क्लब गठनजस्ता काममार्फत संस्थागत प्रयासको थालनी गर्नुभयो।

यसले सहिदको स्मृतिलाई स्मृति दिवसका कार्यक्रम र औपचारिक श्रद्धाञ्जलीमा मात्र सीमित नराखी दैनिक सामुदायिक जीवनसँग जोड्ने आधार तयार गर्‍यो। स्थानीय तहमा स्मृतिस्थल र सामाजिक गतिविधि निर्माण गर्नु ऐतिहासिक व्यक्तित्वलाई नयाँ पुस्तासँग जोड्ने प्रभावकारी माध्यम हुन सक्छ।

१६. धनबहादुर खड्का ‘बसन्त’: स्मारक निर्माण र ऐतिहासिक स्मृतिको विस्तार

मुसीकोट नगरपालिका–१० का वर्तमान अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले अघिल्लो पहललाई थप गुणात्मक रूपमा अघि बढाउनुभएको छ। उहाँको अगुवाइमा कामी बुढाको नेतृत्वमा घोषणा गरिएको पहिलो कम्युनिष्ट जनसरकारका सदस्यहरूको स्मारकसमेत निर्माण गरिएको छ।

उक्त स्मारकको नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै अवलोकन गर्नुभएको थियो। यसले कामी बुढाको स्मृतिसँगै उहाँसँग जोडिएको प्रारम्भिक कम्युनिष्ट शासन अभ्यासको इतिहासलाई समेत संरक्षण गर्ने प्रयासलाई अगाडि बढाएको छ।

स्मारक निर्माणले इतिहासलाई भौतिक रूपमा सुरक्षित राख्ने र स्थानीय बासिन्दा तथा नयाँ पुस्तालाई विगतसँग परिचित गराउने अवसर सिर्जना गर्छ। यस्ता संरचनाको संरक्षण, तिनमा समेटिएका तथ्यको अभिलेखीकरण र नियमित शैक्षिक गतिविधि सञ्चालन गर्नु आगामी दिनको महत्त्वपूर्ण जिम्मेवारी हो।

१७. श्रीकुमार कठायत र स्थानीय समुदाय: गाउँबाट सुरु भएको स्मृति अभियान

कामी बुढालाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै २०७१ सालमा गाउँमै पहिलोपटक स्मृति दिवस मनाउने र उहाँको योगदानलाई संस्थागत रूपमा स्थापित गर्ने अभियानमा युवा नेता श्रीकुमार कठायतसहित स्थानीय समुदायले महत्त्वपूर्ण भूमिका खेले।

स्थानीय तहबाट सुरु भएको यस प्रयासले कामी बुढाको स्मृतिलाई जनस्तरसम्म विस्तार गर्न र राष्ट्रिय मान्यताको मागलाई निरन्तरता दिन सहयोग पुर्‍यायो। इतिहासप्रतिको चासो स्थानीय समुदायबाट उठेर अनुसन्धान, राजनीतिक पहल र सरकारी निर्णयसम्म पुग्न सक्छ भन्ने उदाहरणका रूपमा यस अभियानलाई लिन सकिन्छ।

इतिहास संरक्षणका चार महत्त्वपूर्ण चरण

कामी बुढाको इतिहास जीवन्त बनाउने प्रयासलाई मुख्यतः चार चरणमा बुझ्न सकिन्छ।

पहिलो, साहित्य र प्रारम्भिक लेखन। नेत्रलाल पौडेल ‘अभागी’ले काव्य र लेखनमार्फत उहाँको विद्रोहको स्मृति जोगाउनुभयो। प्रारम्भिक लेखनले पछि अनुसन्धान गर्नेहरूलाई विषय पहिचान गर्न र ऐतिहासिक सामग्री खोज्न आधार प्रदान गर्‍यो।

दोस्रो, खोज, अनुसन्धान र अभिलेखीकरण। नरेन्द्रजङ्ग पिटरले इतिहास खोजी अभियान अघि बढाउनुभयो। तेजेन्द्र खाम मगरलगायतले उहाँको जीवनलाई पुस्तकमा अभिलेखबद्ध गर्नुभयो। कमलराज रेग्मी र भवानीप्रसाद शर्माका विवरणले राजनीतिक गतिविधि तथा सहादतको इतिहास बुझ्न आधार प्रदान गरे।

तेस्रो, राजनीतिक तथा जनस्तरीय स्मृति अभियान। खड्कबहादुर बुढा ‘भेरी’, तत्कालीन नेकपा एकताकेन्द्र रुकुम, सहिद कविराम केसी ‘विवेक क्षेत्री’, श्रीकुमार कठायत र स्थानीय समुदायलगायतले उहाँको स्मृतिलाई सङ्गठनात्मक तथा जनस्तरमा विस्तार गर्न योगदान गरे। पुस्तक, तस्बिर, स्मृति दिवस र राजनीतिक अभियान यस चरणका महत्त्वपूर्ण पक्ष हुन्।

चौथो, राष्ट्रिय मान्यता र स्थानीय संस्थागत संरक्षण। नरेन्द्रजङ्ग पिटरको संयोजकत्वको अध्ययन कार्यदल, त्यसका सदस्यहरू, सरकारी प्रक्रिया तथा स्थानीय जनप्रतिनिधिहरूको प्रयासले राष्ट्रिय सहिद घोषणादेखि पार्क, स्मारक र नियमित स्मृति गतिविधिसम्मको यात्रा अघि बढाएको छ।

यी चार चरणले कामी बुढाको इतिहास एउटा व्यक्तिको प्रयासबाट मात्र स्थापित नभएको स्पष्ट पार्छन्। साहित्यकार, अनुसन्धानकर्ता, सहयात्री, राजनीतिक कार्यकर्ता, सहिद परिवार, स्थानीय समुदाय र जनप्रतिनिधिका फरकफरक प्रयास एकअर्कासँग जोडिँदै गएपछि उहाँको स्मृति व्यापक बनेको हो।

अबको दायित्व: इतिहासलाई पाठ्यक्रम र अभिलेखमा स्थापित गरौँ

कामी बुढाको इतिहासलाई जीवन्त बनाउनु भनेको उहाँलाई हरेक वर्ष स्मृति दिवसमा सम्झनु मात्र होइन। उहाँको जीवन, किसान आन्दोलन, सङ्गठन निर्माण, राजनीतिक संघर्ष र सहादतको एकीकृत तथा प्रमाणमा आधारित इतिहास तयार गर्नु आजको आवश्यकता हो।

उपलब्ध सामग्रीको ऐतिहासिक परीक्षण गर्दै कुन विवरण प्रत्यक्ष साक्ष्यमा आधारित छ, कुन कुरा पछिल्ला लेखकका व्याख्या हुन् र कुन विषयमा थप अनुसन्धान आवश्यक छ भन्ने स्पष्ट पारिनुपर्छ। यसो गर्दा कामी बुढाको ऐतिहासिक योगदान अझ विश्वसनीय रूपमा स्थापित हुनेछ। उहाँसँग सम्बन्धित पत्र, दस्तावेज, तस्बिर, मौखिक इतिहास, पुस्तक र सरकारी अभिलेखलाई व्यवस्थित रूपमा सङ्कलन तथा संरक्षण गर्न आवश्यक छ।

उहाँको योगदानलाई विद्यालयको पाठ्यक्रममा समेट्न सके नयाँ पुस्ताले पश्चिम नेपालको किसान आन्दोलन, प्रारम्भिक कम्युनिष्ट आन्दोलन र ग्रामीण समाजमा राजनीतिक चेतनाको विकासबारे स्थानीय इतिहासकै माध्यमबाट सिक्ने अवसर पाउनेछ। मुसीकोट नगरपालिका–१० मा निर्माण गरिएका स्मृतिस्थल र स्मारकलाई पनि अध्ययन, अनुसन्धान र शैक्षिक भ्रमणसँग जोड्न सकिन्छ।

मैले आफ्नै वडाका व्यक्तित्व नेपालको प्रथम कम्युनिष्ट सहिद कसरी बन्नुभयो भन्ने जिज्ञासाबाट प्रभावित भएर त्रिभुवन विश्वविद्यालयमा उहाँकै विषयमा स्नातकोत्तर तहको शोध गरेको हुँ। मेरो शोधले उपलब्ध सामग्रीका आधारमा उहाँलाई प्रथम कम्युनिष्ट सहिद भएको निष्कर्ष प्रस्तुत गरेको छ। नयाँ प्रमाण प्राप्त भए ऐतिहासिक निष्कर्षको पुनःपरीक्षण गर्न सकिन्छ। तर त्यसका लागि अनुसन्धानलाई निरन्तरता दिनु र उपलब्ध प्रमाणलाई निष्पक्ष रूपमा अध्ययन गर्नु आवश्यक छ।

कामी बुढाको इतिहास जीवन्त बनाउन योगदान गर्ने सबै अग्रज, लेखक, अनुसन्धानकर्ता, सहयात्री, राजनीतिक कार्यकर्ता, सहिद परिवार, स्थानीय समुदाय र जनप्रतिनिधिप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। उहाँको इतिहास खोज्ने क्रममा कुनै पनि योगदान छुट्नु हुँदैन र इतिहासमा नआवश्यक तथ्य थपिनु पनि हुँदैन।

यस विषयमा थप स्रोत, दस्तावेज, तस्बिर वा ऐतिहासिक विवरण उपलब्ध गराउन सक्ने सबैसँग सहयोगको अपेक्षा गर्दछु। नयाँ प्रमाण र सामग्री प्राप्त हुँदै जाँदा कामी बुढाको इतिहासलाई थप समृद्ध, तथ्यपरक र पूर्ण बनाउने प्रयास जारी राख्नेछु।

इतिहासलाई सम्झनु मात्र पर्याप्त छैन; त्यसलाई खोज्नु, प्रमाणित गर्नु, लेख्नु, संरक्षण गर्नु र नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि उत्तिकै आवश्यक छ।

नेपालका प्रथम कम्युनिष्ट सहिद कामी बुढाप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली!

Facebook Comments