दाङ । पूर्वक्रिकेट खेलाडीहरूको योगदानको सम्मान गर्दै आपसी मित्रता, एकता, सद्भाव र मेलमिलापलाई प्रगाढ बनाउने उद्देश्यले दाङको घोराहीमा ‘भेट्रान कप–२०८३’ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ।
घोराही–१५ स्थित भ्याली जुनियर क्रिकेट एकेडेमीको आयोजनामा तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
२०८३ असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३० वर्षमाथिका खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुसार सञ्चालन गरिनेछ।
भ्याली जुनियर क्रिकेट एकेडेमीका अध्यक्ष केशव अधिकारीका अनुसार पूर्वखेलाडीहरूले क्रिकेट क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्नुका साथै उनीहरूबीचको पुरानो मित्रता र आत्मीय सम्बन्धलाई पुनः ताजा बनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ।
त्यस्तै, प्रतियोगिताका खेल संयोजक सनम श्रेष्ठले पूर्वखेलाडीहरूलाई एउटै मैदानमा जोड्दै क्रिकेटप्रतिको पुरानो प्रेम र उत्साहलाई निरन्तरता दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएका छन्।
वर्षौँअघि क्रिकेट मैदानमा बिताएका अविस्मरणीय क्षणलाई पुनः स्मरण गर्दै पूर्वखेलाडीहरूबीच आपसी सम्बन्ध, भाइचारा र सद्भाव अभिवृद्धि गर्ने प्रतियोगिताले दाङको क्रिकेट गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
भेट्रान कप केवल खेलकुद प्रतियोगितामा मात्र सीमित नभई पूर्वखेलाडीहरूको सम्मान, पुराना साथीहरूको पुनर्मिलन र क्रिकेटप्रतिको समर्पणको उत्सवसमेत हुने आयोजकको विश्वास छ।
‘पुराना खेलाडीहरूको सम्मान, पुरानो मित्रताको पुनर्मिलन’ भन्ने भावनासहित आयोजना हुन लागेको प्रतियोगिताले नयाँ पुस्तालाई समेत क्रिकेटप्रति प्रेरित गर्ने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
