लमही । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सञ्चारमाध्यम समाजको ऐना भएकाले पत्रकारिता क्षेत्र सत्य, तथ्य र जिम्मेवारीमा आधारित हुनुपर्ने बताउनुभएको छ। उहाँले समाजमा भएका सकारात्मक तथा नकारात्मक गतिविधिलाई सही ढंगले उजागर गर्दै नागरिकलाई सत्य सूचना प्रदान गर्नु पत्रकारिताको महत्वपूर्ण दायित्व भएको धारणा व्यक्त गर्नुभयो। गुरुकुल एकेडेमी लमहीमा आयोजित ‘पत्रकारसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम’मा प्रमुख अतिथिका रूपमा बोल्दै पोख्रेलले विद्यार्थी जीवनदेखि नै समाचार, सूचना र सञ्चारका विषयमा चासो राख्न आग्रह गर्नुभयो। उहाँले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सूचना प्राप्त गर्ने माध्यमहरू विस्तार भए पनि हरेक सूचना सत्य नहुने भएकाले सूचनाको सत्यता परीक्षण गर्ने बानीको विकास गर्न विद्यार्थीलाई सुझाव दिनुभयो।
पोख्रेलले पत्रकारिता केवल समाचार लेख्ने वा प्रसारण गर्ने काम मात्र नभई समाजलाई सही दिशा प्रदान गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले पत्रकारले कुनै पनि विषयमा समाचार तयार गर्दा तथ्य संकलन, स्रोतको विश्वसनीयता, सन्तुलन र जिम्मेवारीलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई ‘देखेको, सुनेको र सामाजिक सञ्जालमा आएको सबै कुरा सत्य हुँदैन’ भन्ने विषयलाई आत्मसात् गर्दै कुनै पनि सूचना अरूसमक्ष पुर्याउनुअघि त्यसको स्रोत र तथ्य जाँच गर्नुपर्नेमा जोड दिनुभयो। पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना तीव्र गतिमा फैलिने भएकाले विद्यार्थी तथा युवापुस्ताले सञ्चार साक्षरता विकास गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा विद्यार्थीहरूले पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने तरिका, पत्रकारको दैनिक कार्यशैली, समाचार कसरी तयार हुन्छ, पत्रकारितामा चुनौती तथा अवसर, सामाजिक सञ्जाल र पत्रकारिताबीचको सम्बन्धलगायत विभिन्न विषयमा प्रमुख अतिथि पोख्रेलसँग जिज्ञासा राखेका थिए। विद्यार्थीका जिज्ञासामाथि पोख्रेलले आफ्नो लामो पत्रकारिता अनुभवका आधारमा सरल र व्यवहारिक ढंगले जवाफ दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक विवेक देवकोटाले गर्नुभएको थियो। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकमा सीमित शिक्षा पर्याप्त नहुने बताउँदै उनीहरूलाई समाज, सञ्चार र व्यावहारिक जीवनसँग जोड्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको प्रधनाध्यापक देबकोटाले बताउनुभयो।
उहाँले गुरुकुल एकेडेमीले ‘शिक्षा, संस्कार र संस्कृतिको त्रिवेणी’लाई आत्मसात् गर्दै विद्यार्थीलाई ज्ञानसँगै संस्कार, सिर्जनशीलता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले विभिन्न अतिरिक्त तथा व्यवहारिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। प्रधानाध्यापक देवकोटाले विद्यार्थीले प्रश्न गर्ने, आफ्ना विचार राख्ने र समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबाट प्रत्यक्ष रूपमा अनुभव तथा ज्ञान हासिल गर्ने वातावरण सिर्जना गर्नु विद्यालयको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। अन्तरक्रियामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकारिता तथा सञ्चार क्षेत्रका विविध पक्षबारे प्रत्यक्ष संवाद भएपछि विद्यार्थीहरू थप उत्साहित भएका थिए।
कार्यक्रमले विद्यार्थीलाई पत्रकारिता क्षेत्रबारे बुझ्ने मात्र नभई सत्य सूचना पहिचान गर्ने, प्रश्न गर्ने र आफ्ना विचार अभिव्यक्त गर्ने क्षमता विकास गर्न समेत महत्वपूर्ण योगदान पुर्याएको विद्यालयको भनाइ छ। कार्यक्रमको सञ्चालन शिक्षक सुदांश जिसीले गर्नुभएको थियो। कार्यक्रमका क्रममा विद्यार्थी र सञ्चार क्षेत्रका अनुभवी व्यक्तित्वबीच भएको प्रत्यक्ष संवादले गुरुकुल एकेडेमी लमहीको शैक्षिक गतिविधिमा थप नयाँ आयाम थपेको सहभागीहरूले बताएका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
