• २५ आश्विन २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा निःशुल्क स्वास्थ्य शिविर, तीनसय जनाले लिए स्वास्थ्य सेवा




घोराही । बंगलाचुली गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिब ३०० जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन्। बंगलाचुली गाउँपालिकाको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा गाउँपालिकाको हाँसीपुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका स्थानीय नागरिकले स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक उपचार साथै जनरल फिजिसियन , हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग , रेडियोलोजी (भिडियो एक्स–रे) र प्रयोगशाला तथा औषधि वितरण  लगायतका सेवा लिएका थिए।  कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनमगरले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँचलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भौगोलिक विकटताका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउन यस्ता शिविर महत्वपूर्ण हुने बताउनुभयो।

अध्यक्ष पुनमगरले भन्नुभयो, “बंगलाचुली भौगोलिक रूपमा विकट क्षेत्र हो। यहाँका धेरै नागरिक सामान्य स्वास्थ्य समस्याका लागि पनि टाढा जानुपर्ने बाध्यता छ। त्यसैले स्थानीयस्तरमै स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ।”उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि स्थानीय सरकार एक्लैले मात्र सबै आवश्यकता पूरा गर्न नसक्ने भन्दै सरकारी निकाय, स्वास्थ्य संस्था तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। सञ्जीवनी टिचिङ हस्पिटलसँगको सहकार्यले गाउँपालिकाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण भएको उहाँको भनाइ थियो। त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि सञ्जीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले अस्पतालले उपचारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको बताउनुभयो। अस्पतालले ग्रामीण तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो। सीईओ रोकाले भन्नुभयो, “स्वास्थ्य सेवा केवल अस्पतालभित्र सीमित हुनुहुँदैन। अस्पतालले सेवा आवश्यक पर्ने नागरिकसम्म पुग्नुपर्छ। विशेषगरी ग्रामीण क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्श उपलब्ध गराउन सके धेरै रोगको प्रारम्भिक चरणमै पहिचान र उपचार सम्भव हुन्छ।”

उहाँले बंगलाचुलीका नागरिकलाई स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकासँग सहकार्य गरिएको बताउँदै आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्न सञ्जीवनी टिचिङ हस्पिटल तयार रहेको बताउनुभयो। “सञ्जीवनी टिचिङ हस्पिटल स्वास्थ्य उपचार गर्ने संस्था मात्र नभई समाजप्रतिको आफ्नो दायित्व पूरा गर्ने संस्था पनि हो। स्वास्थ्य सेवाको पहुँचबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारसँग सहकार्य गर्दै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउँदै जाने हाम्रो प्रतिबद्धता छ,” रोकाले भन्नुभयो।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष झपिन्द्र गाहा मगरले ग्रामीण क्षेत्रमा आयोजना गरिने यस्ता स्वास्थ्य शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने बताउनुभयो। उहाँले नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका तथा स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेपबहादुर केसीले स्वास्थ्य शिविरले स्थानीय नागरिकलाई स्वास्थ्यसम्बन्धी सचेतना र उपचार सेवा दुवै प्रदान गरेको बताउनुभयो। उहाँले गाउँपालिकाका नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउन शिविर उपयोगी भएको उल्लेख गर्नुभयो।हाँसीपुर स्वास्थ्य चौकीकी प्रमुख देवीकला बुढामगरले स्थानीयस्तरमा आयोजना हुने स्वास्थ्य शिविरबाट स्वास्थ्य संस्थाको नियमित सेवामा समेत सहयोग पुग्ने बताउनुभयो।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेपबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सञ्जीवनी टिचिङ हस्पिटलका प्रशासकीय अधिकृत सुशील रिजालले गर्नुभएको थियो। शिविरमा करिब ३०० जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए। स्थानीय नागरिकले आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा पाएपछि सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त भएको प्रतिक्रिया दिएका थिए।

गाउँपालिका र सञ्जीवनी टिचिङ हस्पिटलबीचको सहकार्यमा सम्पन्न शिविरले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै “स्वास्थ्य सेवा नागरिकको घरदैलोमै” भन्ने अवधारणालाई थप बल दिएको छ। अस्पतालले विशिष्टिकृत सेवाहरुपनि संचालन गर्दै आएको छ ।
Facebook Comments