दाङ । नेपालीहरूको महान् पर्व बडादसैं तथा तिहारको अवसरमा अस्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा लोकप्रिय गायिका भूमिका गिरीले विशेष प्रस्तुति दिने भएकी छन्।
नेपाली कला, संस्कृति र मौलिक परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले क्यानबेरा र ब्रिसबेनमा आयोजना हुन लागेका विभिन्न सांस्कृतिक कार्यक्रममा गायिका गिरीको प्रस्तुति रहने भएको हो। अस्ट्रेलियामा गिरीको यो दोस्रो सांगीतिक यात्रा समेत हो।
क्यानबेरामा असोज २४ गते अर्थात् अक्टोबर १०, २०२६ मा ‘दसैं तथा तिहार मेला २०२६ सांस्कृतिक महोत्सव’ आयोजना हुँदैछ। उक्त कार्यक्रममा गायिका गिरीले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शक–श्रोतामाझ सांगीतिक प्रस्तुति दिनेछिन्।
त्यसैगरी, अक्टोबर ११, २०२६ मा क्यानबेराकै वेस्टन क्रिक नेबरहुड हल, ग्रिटेन स्ट्रिट, वेस्टनमा साँझ ५ बजेदेखि ‘दसैं रात्री’ कार्यक्रम आयोजना हुँदैछ। उक्त कार्यक्रममा पनि गिरीको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
यस्तै, अक्टोबर १६, २०२६ मा ब्रिसबेनमा आयोजना हुने ‘दसैं शुभकामना साँझ’मा पनि भूमिका गिरीसहित विभिन्न कलाकारको प्रस्तुति रहनेछ। कार्यक्रममा गायक अर्जुन सापकोटालगायत कलाकारको समेत प्रस्तुति रहने बताइएको छ।
नेपाली लोक तथा सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल गायिका गिरीका चर्चित गीतले अस्ट्रेलियामा रहेका नेपाली दर्शकलाई दसैं–तिहारको माहोलमा थप मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।
विदेशमा रहेर पनि नेपाली चाडपर्व, कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले आयोजना हुन लागेका यी कार्यक्रमले अस्ट्रेलियामा रहेका नेपालीलाई एकै ठाउँमा भेला गराउँदै आपसी सद्भाव र एकता थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
