• २० आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सञ्जीवनी शिक्षण अस्पतालले सुरु गर्‍यो एम्बुलेन्स सेवा, सुत्केरी र दुर्घटनाका बिरामीलाई निःशुल्क सेवा




घोराही  । घोराही उपमहानगरपालिका–३ भानपुर बर्गदुवामा सञ्चालित सञ्जीवनी शिक्षण अस्पतालले बिरामीलाई थप सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। अस्पताल परिसरमा आज आयोजित एक औपचारिक कार्यक्रमबीच एम्बुलेन्स सेवाको उद्घाटन गरिएको हो। एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै अस्पतालमा उपचारका लागि आउने तथा आकस्मिक अवस्थामा रहेका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।कार्यक्रम अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष रामप्रसाद चौधरीले अस्पतालले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउनु स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। बिरामीलाई अस्पतालसम्म ल्याउन तथा थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गर्नुपर्ने अवस्थामा एम्बुलेन्स सेवा अत्यावश्यक हुने भन्दै उहाँले स्वास्थ्य सेवासँगै आकस्मिक उद्धारलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।उहाँले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाले स्थानीय समुदायको आवश्यकता र समस्यालाई समेत ध्यानमा राखेर सेवा विस्तार गर्नुपर्ने बताउँदै सञ्जीवनी शिक्षण अस्पतालको एम्बुलेन्स सेवाले विशेषगरी विपन्न, सुत्केरी तथा दुर्घटनाका बिरामीलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई बिरामीलाई समयमै अस्पतालसम्म पुर्‍याउने व्यवस्थासँग पनि जोडिएको बताउनुभयो। दुर्घटना, प्रसूति तथा आकस्मिक स्वास्थ्य समस्यामा एक–एक मिनेट महत्वपूर्ण हुने भएकाले अस्पतालले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवाले आपत्कालीन अवस्थामा नागरिकको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँको भनाइ थियो।प्रियासनले अस्पतालले एम्बुलेन्स सेवा सञ्चालनसँगै बिरामीप्रतिको सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको देखिएको भन्दै सेवा प्रभावकारी, पारदर्शी र सबै नागरिकको पहुँचमा पुग्ने गरी सञ्चालन गर्न सुझाव दिनुभयो।

त्यस्तै, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले स्वास्थ्य संस्थाले उपचारसँगै सामाजिक सेवाको भावनालाई पनि अघि बढाउनुपर्ने बताउनुभयो। अस्पतालबाट प्रदान गरिने सेवाको प्रभावकारिता बिरामीले सहज रूपमा अनुभूति गर्न सक्ने गरी सेवा विस्तार गर्नुपर्ने उल्लेख गर्दै उहाँले एम्बुलेन्स सेवा सञ्चालनले अस्पतालप्रतिको नागरिकको भरोसा थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।एम्बुलेन्स सेवा अस्पतालमा भर्ना हुनुपर्ने अवस्थाका बिरामीलाई केन्द्रित गरी सञ्चालन गरिने अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार घोराही बजार क्षेत्रदेखि पूर्वतर्फ कुइरेपानीसम्म सुत्केरी अवस्थामा रहेका बिरामी, दुर्घटनामा परेका बिरामी तथा अन्य स्वास्थ्य संस्थाबाट रिफर भई सञ्जीवनी शिक्षण अस्पतालमा उपचारका लागि आउनुपर्ने बिरामीलाई अवस्था हेरेर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। रोका भन्नुहुन्छ, एम्बुलेन्स सेवा अस्पतालको व्यावसायिक विस्तारभन्दा पनि बिरामीलाई समयमै उपचारको पहुँचमा पुर्‍याउने सामाजिक उत्तरदायित्वसँग जोडिएको पहल हो। विशेषगरी सुत्केरी महिला, दुर्घटनाका घाइते तथा तत्काल अस्पतालसम्म ल्याउनुपर्ने बिरामीका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने अस्पतालको विश्वास छ।

स्वास्थ्य सेवामा आकस्मिक अवस्थाको समयमै व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुने भएकाले अस्पतालले एम्बुलेन्स सेवालाई उपचार प्रणालीकै महत्वपूर्ण अंगका रूपमा अघि बढाउने जनाएको छ। दुर्घटना, प्रसूति तथा आकस्मिक स्वास्थ्य समस्याका बिरामीलाई समयमा अस्पताल पुर्‍याउन सके उपचारको प्रभावकारिता बढ्ने र जोखिमसमेत कम गर्न सकिने अस्पतालको भनाइ छ।घोराहीको भानपुर बर्गदुवामा रहेको सञ्जीवनी शिक्षण अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आएको छ। अस्पतालले विशेषज्ञ चिकित्सकीय सेवा, आकस्मिक सेवा तथा विभिन्न स्वास्थ्य उपचारका क्षेत्रमा सेवा विस्तार गरिरहेको अवस्थामा एम्बुलेन्स सेवा थपिएपछि बिरामीको अस्पतालसम्मको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।

अस्पतालले एम्बुलेन्स सेवालाई विशेषगरी आर्थिक तथा भौगोलिक कारणले उपचारमा ढिलाइ हुने अवस्थाका बिरामीका लागि उपयोगी बनाउने लक्ष्य लिएको छ। एम्बुलेन्स सेवा सञ्चालनसँगै “समयमै अस्पताल, समयमै उपचार” भन्ने अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुग्ने विश्वास अस्पतालले व्यक्त गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बाचस्पति सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन प्रमुख सुशील रिजालले गर्नुभएको थियो

Facebook Comments