• १८ आश्विन २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नागरिकका गुनासा सुन्न रास्वपा बंगलाचुलीको अभियान, सभापति डाँगीले भने– नयाँ अभ्यास गर्दैछौँ




दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बंगलाचुली गाउँपालिकाले ‘हामी सुन्छौँ तपाईंको कुरा’ अभियान सञ्चालन गर्ने भएको छ। असोज २० गतेदेखि सुरु हुने अभियानमार्फत गाउँपालिकाका विभिन्न वडामा पुगेर स्थानीय नागरिकका गुनासा, समस्या र सुझाव संकलन गरिने भएको छ।

रास्वपा बंगलाचुली गाउँपालिका सभापति विक्रम डाँगीका अनुसार पार्टीले पहिलोपटक बंगलाचुलीमा यस प्रकारको अभियान सञ्चालन गर्न लागेको हो। उहाँले यसलाई पालिकाको इतिहासमै नयाँ र पहिलो अभ्यासका रूपमा लिनुभएको छ।

सभापति डाँगीले अभियानका क्रममा गाउँपालिकाभित्रका विभिन्न सरकारी कार्यालय, विद्यालय, अस्पताल तथा अन्य सार्वजनिक निकायसँग सम्बन्धित समस्या र नागरिकका गुनासा सुन्ने जानकारी दिनुभयो। स्थानीयका वास्तविक समस्या पहिचान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु अभियानको उद्देश्य रहेको उहाँको भनाइ छ।

असोज २० गते बिहान बंगलाचुली गाउँपालिकाका तल्लो क्षेत्रका वडा नम्बर ३, ४, ७ र ८ का विभिन्न स्थानमा पुगेर नागरिकसँग भेटघाट तथा छलफल गरिनेछ। त्यसपछि वडा नम्बर ५ र ६ हुँदै गाउँपालिका कार्यालयमा पुगेर भेटघाट कार्यक्रम गरिने सभापति डाँगीले जानकारी दिनुभयो।

रास्वपाको ‘हामी सुन्छौँ तपाईंको कुरा’ अभियानमा पार्टीका महामन्त्री तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य माननीय विपिनकुमार आचार्यसमेत सहभागी हुने कार्यक्रम रहेको छ।

स्थानीय नागरिकका आवाजलाई प्रत्यक्ष रूपमा सुन्ने र उनीहरूका समस्या तथा गुनासालाई प्राथमिकताका साथ उठाउने उद्देश्यले अभियान सुरु गर्न लागिएको रास्वपा बंगलाचुलीले जनाएको छ।

 

Facebook Comments