रुकुम पश्चिम। रुकुम पश्चिमका स्थानीय तहको पूर्ण स्वामित्व रहेको स्यार्पु हाइड्रो कम्पनीले ३.३ मेगावाट क्षमताको विद्युत् उत्पादन सुरु गरेको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
विद्युत् उत्पादन सुरु गरेकोमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कम्पनीका सीईओ प्रदीप ओलीलगायत सम्पूर्ण टोलीलाई बधाई तथा धन्यवाद दिनुभएको छ।
स्थानीय तहलाई आत्मनिर्भर बनाउने उद्देश्यले संघीय सरकारको मन्त्रिपरिषद्को निर्णयबाट स्थापना गरिएको कम्पनीमा संघीय अर्थ मन्त्रालयको समेत सेयर रहेको शर्माले बताउनुभएको छ। स्थानीय तहलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले स्थापना गरिएको स्यार्पु हाइड्रो स्थानीय सरकार सशक्तीकरणको एउटा नमुनाका रूपमा स्थापित भएको उहाँको भनाइ छ।
‘स्थानीय सरकारको निर्वाचनलगत्तै मैले यसको परिकल्पना गरेको थिएँ,’ शर्माले भन्नुभएको छ, ‘प्रक्रियागत झन्झटहरू पार गर्दै आयोजना निर्माण सम्पन्न गरी हिजोदेखि राष्ट्रिय ग्रिडमा जोडिएको छ।’

पालिकाहरूको ग्यारेन्टीका आधारमा राष्ट्रिय वाणिज्य बैंकले कम्पनीलाई ऋण उपलब्ध गराएको उहाँले बताउनुभएको छ। बैंकमा रहेको रकमको सदुपयोगसँगै स्थानीय सरकार र बैंकबीचको यो साझेदारी आफैँमा नयाँ अभ्यास भएको शर्माको भनाइ छ।

प्राकृतिक स्रोतको उपयोग गर्दै विभिन्न प्रकृतिका उत्पादनमूलक आयोजना सञ्चालन गर्न सके देशलाई आत्मनिर्भर बनाउन र राष्ट्र निर्माणमा योगदान पुग्ने उहाँले बताउनुभएको छ। स्यार्पु हाइड्रोबाट रुकुम पश्चिमको विकास र समृद्धिमा योगदान पुग्नुका साथै स्थानीय जनता लाभान्वित हुने विश्वाससमेत शर्माले व्यक्त गर्नुभएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
