दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनसम्बन्धी विवादमा उच्च अदालत तुलसीपुरमा रहेका दुवै मुद्दाको प्रक्रिया टुंगिएपछि मात्रै निर्वाचनसम्बन्धी आगामी प्रक्रिया अघि बढाइने संघका अध्यक्ष वसन्त जोशीले बताउनुभएको छ।
अध्यक्ष जोशीका अनुसार निर्वाचनका विषयमा अदालतमा दुईवटा छुट्टाछुट्टै मुद्दा विचाराधीन रहेकाले अदालतको प्रक्रियालाई सम्मान गर्दै त्यसको टुंगो लागेपछि मात्रै निर्वाचनको नयाँ मिति तथा आगामी कार्यतालिकाबारे निर्णय गरिनेछ।
उच्च अदालत तुलसीपुरको संयुक्त इजलास नं. १ ले असोज १४ गते यसअघि असोज ९ गते एकल इजलासबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेको छ। अदालतले निर्वाचन कार्यतालिकाअनुसार हुने भनिएको निर्वाचनसम्बन्धी कार्य स्थगित भइसकेको र त्यसपछि निर्वाचन समितिबाट अर्को सूचना प्रकाशित भएको नदेखिएको भन्दै उक्त अल्पकालीन आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको जनाएको छ। निवेदनमा उठाइएका विषयको सम्बोधन मुद्दाको अन्तिम आदेश हुँदा हुने भन्दै अदालतले कानूनबमोजिम गर्न आदेश दिएको छ।
यसैबीच, उच्च अदालत तुलसीपुरमा खिमबहादुर डाँगी निवेदक रहेको ०८३-WO-००२० उत्प्रेषण/परमादेश मुद्दामा पनि असोज १४ गते एकल इजलासबाट विपक्षीका नाममा लिखित जवाफ पेश गर्न आदेश भएको छ। अदालतले आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ। साथै, उक्त निवेदनसँग अन्तरसम्बन्धित ०८३-WO-००१६ निषेधाज्ञा निवेदन समेत साथै राखी नियमानुसार पेश गर्न आदेश दिएको छ।
अध्यक्ष जोशीले अदालतमा विचाराधीन विषयको सम्मान गर्दै कानुनी प्रक्रिया पूरा भएपछि मात्र संघको निर्वाचनलाई व्यवस्थित र सहमतिपूर्ण ढंगले अघि बढाउने बताउनुभएको छ।
उहाँले निर्वाचनका विषयमा उत्पन्न अन्योललाई समाधान गरी उद्योगी–व्यवसायीको सहभागितामा निर्वाचन प्रक्रिया अघि बढाउने उद्देश्य रहेको समेत बताउनुभएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
