दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. २ बाट ३५ वर्षमुनिको युवा पुरुषतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि बङ्गलाचुलीका युवा नेता गणेश विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका विश्वकर्माले आफ्नो उम्मेदवारीलाई नयाँ पुस्ताको सहभागिता, संगठन निर्माण र युवाको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउने प्रयासका रूपमा अघि सारेका छन्।
वि.सं. २०६९ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा सक्रिय रहेका उनी नेपाल दलित विद्यार्थी संघ तथा नेपाल विद्यार्थी संघ (CTEVT) को केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। विद्यार्थी हकहितका विभिन्न गतिविधि तथा आन्दोलनमा सक्रिय रहँदै उनले संगठनात्मक अनुभव हासिल गरेका छन्।
हाल बङ्गलाचुली गाउँपालिकाको गाउँ कार्यपालिका सदस्यका रूपमा कार्यरत विश्वकर्मा सामाजिक विकास समिति संयोजक तथा न्यायिक समितिका सदस्यसमेत हुन्। स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सामाजिक समावेशिता र विकासका विषयमा काम गर्दै आएका उनले स्थानीय शासनको अनुभवलाई पार्टी संगठन र नीतिगत बहससँग जोड्ने लक्ष्य लिएको बताएका छन्।
अध्ययनतर्फ पनि विश्वकर्माको राजनीतिशास्त्र, समाजशास्त्र र इन्जिनियरिङमा रुचि तथा अनुभव रहेको छ। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातक तथा इन्जिनियरिङमा डिप्लोमा तहको अध्ययन पूरा गरेका छन्।
दलित समुदायबाट राजनीतिक यात्रामा अघि बढेका विश्वकर्माले सामाजिक न्याय, समान अवसर र समावेशिताका विषयलाई आफ्नो राजनीतिक प्राथमिकतामा राख्दै आएका छन्। युवाको सहभागिता बढाउने, संगठनलाई थप सुदृढ बनाउने र स्थानीय तहका सवाललाई पार्टीको नीतिगत तहसम्म पुर्याउने विषयलाई उनले आफ्नो उम्मेदवारीसँग जोडेका छन्।
राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय विश्वकर्मा नेपाल रेडक्रस सोसाइटी, सर्वोदय पुस्तकालय दाङ र लायन्स क्लब लगायतका संस्थासँग आबद्ध छन्। उनले विभिन्न सञ्चारमाध्यममा समसामयिक राजनीति, समाज तथा युवासम्बन्धी विषयमा लेखसमेत प्रकाशित गर्दै आएका छन्।
आफ्नो उम्मेदवारी घोषणा गर्दै विश्वकर्माले युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीभित्र वैचारिक बहस, संगठन सुदृढीकरण र समावेशी लोकतान्त्रिक अभ्यासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका रहेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
