दाङ । नयाँ ठाउँ, नयाँ परिवेश र नयाँ सम्भावना खोज्दै प्युठानको भिङ्ग्रीबाट दाङ झर्दा नरेशकुमार श्रेष्ठसँग ठूलो व्यवसायिक योजना थिएन । थियो त केवल केही गर्ने हुटहुटी, मेहनत गर्ने आत्मविश्वास र आफ्नै खुट्टामा उभिने दृढ इच्छा । त्यही इच्छाशक्तिले उहाँलाई आज दाङको व्यवसायिक क्षेत्रमा परिचित बनाएको छ ।
वि.सं. २०७१ सालमा घोराहीमा कोसेली बेकरी सञ्चालन गरेर श्रेष्ठले दाङको व्यवसायिक यात्रा सुरु गर्नुभएको थियो ।
सामान्य लगानीबाट सुरु भएको व्यवसायलाई निरन्तर मेहनत र नयाँ सोचका साथ विस्तार गर्दै उहाँले अहिले जिल्ला घोराही, तुलसीपुर र लमही लगायतका सहरमा आधा दर्जन शाखा पुर्याउनुभएको छ । व्यवसाय विस्तारसँगै थुप्रैलाई रोजगारीसँग जोड्न सफल हुनुभएको छ ।
बेकरी व्यवसायमा मात्रै सीमित नरही श्रेष्ठले होटललगायतका क्षेत्रमा समेत लगानी विस्तार गर्नुभएको छ । परम्परागत शैलीमा सञ्चालन हुँदै आएका बेकरी व्यवसायलाई आधुनिक बनाउँदै बदलिँदो बजार र उपभोक्ताको मागअनुसार व्यवसाय अघि बढाउन उहाँले जोड दिँदै आउनुभएको छ । तर श्रेष्ठको व्यवसायिक यात्रा केवल आफ्नो व्यवसाय बढाउने यात्रामा मात्र सीमित रहेन ।
व्यवसाय गर्दै जाँदा व्यवसायीका साझा समस्या र चुनौतीलाई नजिकबाट देख्नुभयो । बैंकको ब्याजदर, व्यवसाय सञ्चालनको कठिनाइ, लगानीको वातावरण र युवा व्यवसायी पलायनजस्ता विषयले उहाँलाई व्यवसायिक नेतृत्वतर्फ तान्यो ।
त्यसपछि उहाँ दाङ जिल्ला उद्योग वाणिज्य संघमा सक्रिय हुनुभयो । संघको सचिव हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा श्रेष्ठले व्यवसायीका समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने काममा आफूलाई सक्रिय बनाउँदै आउनुभयो ।
विशेषगरी बैंकको ब्याजदर वृद्धिको विषयमा व्यवसायीको पक्षमा आवाज उठाउँदै आउनुभएका श्रेष्ठले युवा व्यवसायीलाई व्यवसायबाट विस्थापित हुन नदिन स्थानीय स्तरमै लगानीको वातावरण बनाउनुपर्ने विषयलाई प्राथमिकता दिँदै आउनुभएको छ । त्यही कारण आज नेतृत्वका लागि मैदानमा तयार हुनुभएको छ ।
‘व्यवसायीका समस्या नजिकबाट देखेको छु । व्यवसाय सञ्चालन गर्न कति चुनौती छन् भन्ने आफैँले भोगेको पनि छु,’ श्रेष्ठ भन्नुहुन्छ, ‘त्यसैले व्यवसायीको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने नेतृत्व आवश्यक रहेकाले उम्मेद्वार बनेको छु।’ प्युठानमा सार्वजनिक जिम्मेवारीबाट सुरु भएको श्रेष्ठको यात्रा दाङ आएपछि व्यवसाय र व्यवसायिक नेतृत्वसँग जोडियो ।
वि.सं. २०५४ सालमा तत्कालीन प्युठानको भिङ्ग्री गाविस–२ को वडा अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले सामाजिक क्षेत्रमा काम गर्ने अवसर त्यही समयदेखि पाउनुभएको थियो ।
सार्वजनिक जिम्मेवारी, व्यवसायिक अनुभव र संघमा काम गरेको अनुभवलाई अहिले उहाँले व्यवसायीको साझा हितसँग जोड्न खोज्नुभएको छ ।
दाङमा औद्योगिक तथा व्यावसायिक गतिविधि विस्तार गर्नुपर्ने, युवा व्यवसायीलाई जिल्लामै टिकाउनुपर्ने र लगानीको वातावरण निर्माण गर्नुपर्ने उहाँको जोड छ ।
सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रको कामलाई गति दिनुपर्ने, घोराहीका व्यवसायीलाई विस्थापित हुनबाट रोक्दै स्थानीय स्तरमै व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने र व्यवसायीका अधुरा मुद्दालाई निष्कर्षमा पुर्याउनका लागि पहल गर्दै आउनु भएको छ ।
व्यवसायसँगै पर्यटन प्रवद्र्धन र खेलकुद क्षेत्रको विकासमा समेत सहयोग गर्दै आउनुभएका श्रेष्ठले निजी क्षेत्रलाई जिल्लाको आर्थिक विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउनुपर्ने बताउनुहुन्छ ।
व्यवसाय विस्तारसँगै उहाँको परिचय पनि बदलिँदै गएको छ—व्यवसायीबाट व्यवसायिक नेतृत्वतर्फ ।
यही अनुभव र यात्रालाई आधार बनाएर श्रेष्ठले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
संघको सचिव र वरिष्ठ उपाध्यक्षका रूपमा काम गर्दा व्यवसायीका लागि गर्न बाँकी रहेका कामलाई अध्यक्षको जिम्मेवारीमा पुगेर अघि बढाउने उहाँको योजना छ । ‘संघमा रहेर काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएँ ।
व्यवसायीका लागि गर्नुपर्ने अझै धेरै काम बाँकी छन्,’ उहाँ भन्नुहुन्छ, ‘त्यसलाई निरन्तरता दिँदै व्यवसायीको हितमा काम गर्ने मेरो उद्देश्य हो ।’ त्यसका लागि सहयोग गरिदिन समेत सबै उद्योग तथा व्यवसायीलाई अनुरोध गर्नुभएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
