• ३ आश्विन २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लीला शर्माको ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ लोकार्पण




दाङ । जनयुद्धका कमाण्डर एवं लेखक लीला शर्मा ‘अस्मिता’को कृति ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ लोकार्पण गरिएको छ।

नेपालयले प्रकाशन गरेको कृति घोराहीमा आयोजित कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा, वरिष्ठ साहित्यकार डा. अमर गिरी, साहित्यकार सुशील गौतम, नेपालयका सम्पादक विमल आचार्य र लेखक शर्माले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो।

सर्वोदय पुस्तकालय तथा वाचनालय र अध्ययन मञ्चले नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा साहित्य, पत्रकारिता, राजनीति तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले मानव समाजको इतिहास नै संघर्षको इतिहास भएको उल्लेख गर्दै मानव मुक्तिका लागि भएका संघर्षका गाथाहरू लेखिनुपर्ने बताउनुभयो। मार्क्सले यसलाई वर्गसंघर्ष भनेको उल्लेख गर्दै उहाँले सामाजिक रूपान्तरणका विभिन्न घटनामा पनि संघर्ष शाश्वत रहेको बताउनुभयो। कुनै पनि संघर्ष वा क्रान्तिले समाजको आमूल रूपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो। पछिल्लो समय विश्वमा बढ्दै गएको अमानवीय आणविक संघर्षप्रति मानव जाति नै सचेत हुनुपर्ने उल्लेख गर्दै साहित्यकार शर्माले विश्व शान्तिको नेतृत्व नेपालले गर्नुपर्ने बताउनुभयो।

समीक्षक एवं वरिष्ठ साहित्यकार डा. अमर गिरीले जनयुद्ध नेपाली राजनीति र सामाजिक रूपान्तरणको ऐतिहासिक घटना भएको उल्लेख गर्दै यसलाई हेर्ने सन्तुलित साहित्यिक दृष्टिकोण आवश्यक रहेको बताउनुभयो। नेपाली साहित्यमा अहिले जनयुद्धलाई विरोध, अन्धसमर्थन र आलोचनात्मक व्याख्याका तीन फरक दृष्टिकोणबाट हेर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले लेखक शर्माले कृतिमा जनयुद्धको आलोचनात्मक व्याख्या गरेकाले लेखकीय दृष्टिकोणबाट पनि यो थप पठनीय बनेको बताउनुभयो।

लेखक शर्माले भावपूर्ण मन्तव्य राख्नुभएको थियो । उहाँले आफूले कुनै कृति रचना गर्छु भनेर यो पुस्तक नलेखेको उल्लेख गर्दै जनयुद्धकालीन डायरी र क्यान्सर रोगबाट ग्रसित हुँदाका भोगाई नै पुस्तक बन्न पुगेको बताउनुभयो । उहाँले यस कृतिमार्फत आफ्नो कुरा भन्दा पनि एउटा युगको आवाज बोलेको र जनयुद्धका पात्रहरुलाई न्याय गर्ने प्रयास गरेको बताउनुभयो । कार्यक्रमको भव्य उपस्थितिले लेखन र सामाजिक रुपान्तरणको यात्रामा थप दायित्वबोध गराएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष एवं सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमले नेपाली समाज परिवर्तनको ऐतिहासिक परिघटना जनयुद्धलाई केन्द्रमा राखेर कृति आउनु महत्वपूर्ण रहेको बताउनुभयो। कृति महिमामण्डन वा गालीगलौजबाट माथि उठेर आलोचनात्मक चिन्तनका साथ आउनु थप महत्वपूर्ण रहेको उहाँको भनाइ थियो। नेपाली समाजमा अहिले तथ्यका आधारमा भन्दा पनि आफ्नो आबद्धताका आधारमा दृष्टिकोण बनाउने प्रवृत्तिले आलोचनात्मक चेत कमजोर बन्दै गएको उल्लेख गर्दै गौतमले एक्लै हुनुपरे पनि तथ्यभन्दा बाहिर जान नहुने धारणाको विकास गर्न जरुरी रहेको बताउनुभयो।

कृतिका सम्पादकसमेत रहेका नेपालयका सम्पादक विमल आचार्यले आफ्नो प्रकाशनले सीमित संख्यामा पुस्तक प्रकाशन गर्ने गरेको उल्लेख गर्दै स्तरीय र पठनीय सामग्रीलाई मात्र प्राथमिकता दिने भएकाले शर्माको कृति प्रकाशनका लागि छनोट गरिएको बताउनुभयो। लेखक स्वयं पात्र वा कथा बनेर बोल्ने कृति उत्कृष्ट हुने उल्लेख गर्दै आचार्यले शर्माले कृतिमा जनयुद्ध र क्यान्सरसँगको जीवनभोगाइलाई गहिरोसँग उतार्नुभएको बताउनुभयो।

कार्यक्रमको सञ्चालन अध्ययन मञ्चका संयोजक सूर्य बीसीले गर्नुभएको थियो।

Facebook Comments