जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै प्रतिष्ठान देशका दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा आपसमा सहकार्य गरी पिछडिएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार गर्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अजयकुमार मिश्रको तर्फबाट रजिस्ट्रार प्रा. श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सूर्यमान मेयाङ्बोले आज सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौतामा दुवै प्रतिष्ठानले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपाय तथा हिमाली जडीबुटीको अध्ययन एवं देशभित्र उपलब्ध जडीबुटीबाट स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावनालगायत महत्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख छ। वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जडीबुटीसँग सम्बन्धित स्वास्थ्य अनुसन्धान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अत्यन्तै महत्वपूर्ण विषय बनेको छ।
दुवै संस्थाले दुर्गम क्षेत्रका स्वास्थ्यसम्बन्धी मुद्दामा संयुक्त अनुसन्धान सञ्चालन गरी स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार तथा जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने सम्झौतामा उल्लेख छ।
त्यसैगरी, दुवै संस्थाका प्राविधिक तथा प्रशासनिक जनशक्तिलाई एकअर्काको आवश्यकताअनुसार आदानप्रदान गरी सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलाप सञ्चालन गर्न सहज बनाउने प्रतिबद्धता समेत सम्झौतामा उल्लेख गरिएको छ।

सम्झौताले पिछडिएको क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सफल पार्न तथा समान उद्देश्यका लागि उपलब्ध साधन–स्रोतलाई एकीकृत गरी स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न सहज हुने विश्वास दुवै प्रतिष्ठानका पदाधिकारीहरूले व्यक्त गरेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
