दाङ । सल्यानमा मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिएर लतारिँदा दाङकी एक महिलाको मृत्यु भएको छ।
दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोलाबाट तीज मनाउन माइतीघर जाँदै गरेकी ३५ वर्षीया जीता केसीको शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका–३ टाट्केमा भएको दुर्घटनामा मृत्यु भएको हो।
सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार केसी रा ४ प २४३ नम्बरको मोटरसाइकलमा पछाडि सवार थिइन्। उनले लगाएको सलवार सुटको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएपछि चक्काले तानेर उनलाई सडकमा खसालेको थियो। त्यसपछि तीव्र गतिमा रहेको मोटरसाइकलले उनलाई केहीबेर सडकमा लतारेको प्रहरीले जनाएको छ।
घटना शनिबार दिउँसो पौने १ बजेतिर त्रिवेणी गाउँपालिका–३ टाट्केस्थित भित्री कच्ची सडकखण्डमा भएको हो। सडक केही ओरालो रहेको र मोटरसाइकल तीव्र गतिमा गुडिरहेका बेला दुपट्टा चक्कामा बेरिएको चालकले तत्काल थाहा नपाएको प्रहरीले जनाएको छ।
दुपट्टा चक्कामा अल्झिएपछि त्यसको गतिको भारले केसीलाई मोटरसाइकलबाट तानेर सडकमा खसालेको र केहीबेरसम्म लतारेपछि मोटरसाइकल रोकिएको थियो। उनको घाँटीमा कसिएको दुपट्टा तत्काल काटिए पनि घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लुहामका प्रहरी नायव निरीक्षक मानबहादुर घर्तीका अनुसार मोटरसाइकल मृतककी भदै कृष्ण केसीले चलाएका थिए। कृष्णले दाङस्थित घरबाट फुपू जीता केसीलाई तीजका लागि माइतीघर लैजाँदै गर्दा दुर्घटना भएको हो।
‘घटनास्थलको अवस्था हेर्दा दुपट्टा चक्कामा अल्झिएपछि त्यसको गतिको भारले महिला मोटरसाइकलबाट पल्टिएको देखिन्छ। महिला पल्टिँदासम्म चालकले थाहा नपाएको देखियो,’ प्रहरी नायव निरीक्षक घर्तीले बताए।
प्रहरीका अनुसार आवश्यक सावधानी अपनाउन नसक्दा कपडा मोटरसाइकलको चक्कामा बेरिएपछि घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
