• ५ आश्विन २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिदमार्गलाई दुइ लेनको बनाउन डिपीआर तयारः मुख्यमन्त्री




मुख्यमन्त्री शंकर पोखरेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गर्नु भएको छ ।

वडाहरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उहाँले बताउनुभयो ।


रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उहाँले बजेट छर्ने भन्दा नतिजा देखिने गरी खर्च गर्न आग्रह गर्नुभयो । “कार्यपालिकाले योजना अनुसार बजेट विनियोजन गर्न ध्यान दिनुपर्छ, वडालाई सेवा केन्द्रको विकास गर्नुपर्छ”–उहाँले भन्नुभयो ।


रोल्पा जिल्लाको महत्वपूर्ण सडक शहिद मार्गको अवस्था अवलोकन गर्न आएको बताउँदै उहाँले शहिद मार्गको कामलाई तीब्र ढंगले अघि बढाउन पहल गर्ने बताउनुभयो । शहिदमार्गलाई दुई लेनको बनाउन डिपिआर तयार भएको बताउँदै उहाँले दुई लेनको सडक क्षेत्राधिकार छुट्टयाएर घर बनाउन दिने निर्णय तत्काल पालिकाहरुले गर्नुभयो ।


त्यसैगरी उहाँले रोल्पा र रुकुमको खाम संस्कृति पर्यटन प्रवद्र्धनको प्रचुर संभावना भएको बताउनुभएको छ । उहाँले खाम संस्कृतिलाई पर्यटनसंग जोडेर अघि बढ्दा स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन सकिने बताउनुभयो ।


खाम मगर संस्कृतिका वस्तीलाई होमस्टेको रुपमा विकास गर्ने गरी योजना बनाउन गाउँपालिका नेतृत्वलाई आग्रह गर्नुभयो । पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्नेछ–उहाँले भन्नुभयो ।


उहाँले मौलिक र नयाँ ढंगले काम गर्दा नागरिकले परिवर्तनको अनुभूति गर्ने र समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धन सहित स्थानीय उत्पादनलाई व्यवसायिक ढंगले गर्न आग्रह गर्दै स्थानीय उत्पादनको बजारीकरण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले गाउँपालिकाको ध्यान उत्पादनमुखी बन्नुपर्ने बताउनुभयो ।


उहाँले अब रुकुम र रोल्पा विकट नहुने सडक पूर्वाधारको बलियो जग तयार भएको बताउनुभयो । मध्यपहाडी लोकमार्ग र शहिद मार्गले यी दुई जिल्लालाई यातायात सञ्जाल राम्रो बनाउदै लगेको र अरु आवश्यक सडक प्रदेश सरकारले बनाउँदै जाने बताउनु भयो । सडक सञ्जाल विस्तारसगैं गाउँका उत्पादन शहर पठाउने योजना अनुसार काम गर्न उहाँले आग्रह गर्नुभयो ।


रुकुमको चुनवाङबाट रुकुमकोट र सुलीचौर बाट थवाङ जोड्ने सडकका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो ।


उहाँले समाज बदल्ने अभियानमा विरोधका स्वरहरु आउनु स्वाभाविक भएको बताउँदै त्यस्ता आवाजबाट नआत्तिन र निर्धक्क भएर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।


मंसिर ४ गते रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाबाट शुरु भएको मुख्यमन्त्रीको रुकुम रोल्पा यात्रा शनिवार रोल्पाको रुण्टीगढी पुगेर टुंगिएको छ । यो बीचमा उहाँले रुकुमका तीन बटै गाउँपालिका पुथाउत्तरगंगा, सिस्ने र भुमेका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।

रोल्पाको थवाङ, परिवर्तन,त्रिवेणी, माडी र रुण्टीगढी गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । उहाँले ती पालिकामा संघीय सरकार र प्रदेश सरकारले अघि बढाएका विभिन्न विकास आयोजनाको अनुगमन गरी जानकारी लिनुभएको थियो ।

Facebook Comments